खानेपानी आयोजना

भेरी लिफ्टिङ आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई सहयोग गर्न लागेको हो । अघिल्ला दुई आर्थिक वर्षमा समेत प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको थियो । तर बजेट कार्यान्वयनमा जान सकेको थिएन । चालु आर्थिक वर्षमा आयोजनाको ठेक्का सम्झौता भइ काम अघि बढेकाले बजेट कार्यान्वयन हुनेछ । कर्णालीबासीको आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरी स्वच्छ, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने नीति बमोजिम प्रदेश सरकारले ठूला खानेपानी आयोजना निर्माणमा सहयोग गर्दै आएको छ । खानेपानीका बहूवर्षीय र क्रमागत आयोजनालाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ ।

भेरी लिफ्टिङ आयोजनाअन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङकी निर्माण र पाइपलाइन विस्तारको सर्वेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पाँचवटा ठूला ट्यांकी निर्माण गरिनेछ । भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच ठेक्का सम्झौता भएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले जानकारी दिए । उनका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   ५ पुष २०८१, शुक्रबार ११:००