खेलकुद लक्षित सडक पूर्वाधारलाई प्राथमिकता
सुर्खेत: प्रदेश सरकारले दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित सडक पूर्वाधार निर्माणमा जोड दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो ।
प्रतियोगितलाई मध्यनजर गरी वीरेन्द्रनगरको प्रदेश रंगशाला आसपासका सडक कालोपत्रेको काम भइरहेको छ । अहिले सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । प्रतियोगिता स्थलसम्म पुग्न र आवातजावत गर्न सहज होस् भन्ने उद्देश्यले सडक कालोपत्रको काम थालिएको हो । चालु आर्थिक वर्षमा प्रतियोगिता लक्षित तीनवटा सडक कालोपत्रे गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जुन काम अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार रंगशाला आसपास क्षेत्रमा सडक कालोपत्रे गर्न लागिएको हो ।
सडक कालोपत्रेको ९५ प्रतिशत काम सकिएको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । रंगशाला पूर्वको धमलाचोकदेखि क्याम्पसचोकसम्म ६ सय मिटर सडक कालोपत्रे गरिएको छ । उक्त सडकको २०८१ भदौमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको थियो । उक्त खण्डमा ९७ प्रतिशत काम सकिएको शाहीले बताए । दैलेख रोडदेखि बसपार्कसम्म ६ सय मिटर सडक कालोपत्रे गरिनेछ । उक्त सडकको कामसमेत अन्तिम चरणमा पुगेको छ । २०८१ भदौमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको थियो ।
यस्तै, गणेशचोकदेखि जिरो ड्याम खेलकुद मैदानसम्म पुग्ने ६ सय मिटर सडक कालोपत्रेको काम थालिएको छ । अहिले ६० प्रतिशत सडक निर्माणको काम सकिएको छ । नौ करोडमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको हो । धमलाचोकदेखि क्याम्पसचोसम्म र दैलेख रोडदेखि बसपार्कसम्म ६÷६ सय मिटर गरेर आठ÷आठ करोडमा ठेक्का सम्झौता गरिएको निर्देशनालयले जनाएको छ । २०८१ भदौदेखि काम सुरु गरेर कार्तिकसम्म सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । अहिले डेढ महिना म्याद थप गरेर काम भइरहेको छ । पुष १७ गतेसम्मका लागि म्याद थपिएको हो ।
प्रदेश सरकारले दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधारमा जोड दिएको छ । यसैगरी विमानस्थलहुँदै रंगशाला पुग्ने सडक निर्माण योजना अघि बढाइएको छ । औद्योगिक क्षेत्रदेखि तिनकुनेचोकसम्मको सडक कालोपत्रेको काम अघि बढाइएको छ । अहिले उक्त सडकको कामसमेत धमाधम भइरहेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
ठाउँ–ठाउँमा सडक मर्मत
प्रतियोगिता लक्षित सडक निर्माणकै क्रममा ठाउँ–ठाउँमा सडक मर्मतको काम थालिएको छ । वीरेन्द्रनगर नगरपालिका जाने चोकदेखि दैलेख रोड जोड्ने सडक मर्मतको काम अघि बढाइएको कार्यालयले जनाएको छ । उक्त खण्डको तीन सय मिटर सडक मर्मतको काम गर्न लागिएको हो । वीरेन्दैनगर नगरपालिकाले नाला निर्माण थालेको छ । एउटै खण्डमा दुईओटा ठेक्कामार्फत् काम अघि बढाउन केही समस्या देखिएको कार्यालयका सूचना अघिकारी शाहीले बताए । नगरपालिकालाई पत्राचार गरेर काम अघि बढाउन खोजिएको उनको भनाइ छ । सडकको काम गर्दा ओभरल्याप भएको हो ।
दशाँै राष्ट्रिय प्रतियोगिता लक्षित खेलपूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । मंसिरमा हुने भनिएको खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद्–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको एक सय १८औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।
अहिले प्रदेश सरकारले सडक, खानेपानी र आवासका लागि मसिनो तरिकाले काम गरिरहेको छ । आन्तरिक तयारीका खेल खेलाउन र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेर प्रदेश सरकारले काम गरिरहेको छ । यसबीचमा प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाचार निर्माणलाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । केही दिनअघि रंगशाला आसपासका सडक अनुगमन गर्दै उनले यस्तो बताएका हुन् ।
साझा बिसौनी ।