स्वास्थ्य सेवामा सहुलियत
नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीहरूलाई सहुलियत दिने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले ‘विपन्न नागरिक उपचार निर्देशिका’ २०८१ जारी गरेर उपचारमा सहुलियत दिने योजना बनाएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर बिरामीहरूलाई उपचारमा सहुलियत योजना अघि सारिएको छ । मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई मेजर अप्रेसन गर्दा मात्र उपचार सहुलियत दिन लागिएको हो । गत आर्थिक वर्षमा दीर्घरोगीहरूलाई यातायात सहायता खर्च दिने गरिएको थियो । चालु आर्थिक वर्षमा वास्तबिक र मेजर अप्रेसन गर्नुपर्ने बिरामीलाई मात्र केन्द्रित गरेर उपचारमा सहुलियत दिन लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णालीमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । ६० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको र ४० प्रतिशत पुरुषमा समस्या देखिने गरेको छ, जसमा ६० वर्षभन्दा माथिकामा क्यान्सर रोग देखिने गरेको छ । जसलाई मध्यनजर गर्दै सरकारले सहुलियत योजना ल्याएको हो । गत वर्षहरूमा जिल्लागत रूपमा उपचार सहुलियत दिने गरिएको थियो । जिल्ला–जिल्ला अनुसार फरक–फरक रकम दिइएको हो । दैलेख, सुर्खेत र सल्यानका बिरामीले २० हजार, जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीले २५ हजार र मुगु, डोल्पा र हुम्लाका बिरामीलाई ३० हजारका दरले यातायात सहुलियत दिने गरिएको छ । यो वर्ष नयाँ उपचार सहुलियत निर्देशिका जारी गरेर उपचार सहुलियत वितरण प्रर्णालीलाई प्रभावकारी बनाउन लागिएको हो । पछिल्लो समय क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका हुन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै छ । यो वर्ष क्यान्सर रोगको उपचार सहुलियतका लागि निर्देशिका जारी गरेपछि मात्र सेवा सुचारु गरिनेछ । अहिले मन्त्रालयले निर्देशिकाको मस्यौदा तयार पारेको छ । सोही निर्देशिका बमोजिम निर्देशनालयले सहुलियत रकम वितरण गर्नेछ । कम्तीमा प्रतिव्यक्ति एक लाखका दरले मेजर अप्रेसन सहुलियत दिने तयारी गरिएको छ ।
चालु आर्थिक वर्षमा क्यान्सर रोगीका बिरामीलाई उपचारमा सहुलियतका लागि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेट निर्देशनालयले कार्यान्वयन गर्नेछ । अन्य मुटु, मृगौला प्रत्यारोपण, स्पाइनल इन्जुरी, (प्यारालाइसिस) का बिरामीहरूलाई उपचारमा सहुलियतका लागि पनि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त रोगका बिरामीले समेत मेजर अप्रेसन गर्नका लागि मात्र सहुलियत पाउनेछन् । गतवर्षहरूमा सामान्य यातायात खर्च मात्र व्यवस्थापन गर्ने गरेको प्रदेश सरकारले उपचारको प्रकृति अनुरूप बजेट बढाएर कार्यान्वयन गर्न लागेको छ ।
प्रकाशित मितिः २ पुष २०८१, मंगलवार ०६:०३
सम्पादकीय ।