कर्णाली प्लेअफमा

सुर्खेत: लिग चरणको अन्तिम खेलमा पराजित भएपनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । नेट रनरेटमा कर्णालीभन्दा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ ।

लिग चरणको अन्तिम खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग पराजित भएको हो । आज भएको खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएपनि नेट रनरेटका आधारमा कर्णाली प्लेअफमा पुग्न सफल भएको हो । कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेटेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो । तर १२.२ ओभरमा सुदूरपश्चिमले लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो ।

कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रनको योगदान दिए । ओपनर सेफ जैब ११ र विनोद भण्डारी चार रनमा एलबीडब्लु धरापमा परे । ईशान पाण्डे ३८ र आरिफ शेख चार रनमा नटआउट रहे ।

कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली २० ओभरमा एक सय एक रन बनाउँदा अलआउट भयो । जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो । ३५ बलमा चार चौका प्रहार गरेका मक्सुद दीपेन्द्र सिंह ऐरीको बलमा ब्रान्डन म्याकमुलेनको हातबाट क्याच आउट भए ।

विलियम बसिस्टोले १६ रन थपे । बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के । कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे । सुदूरपश्चिमका लागि हरमित सिंहले तीन विकेट झारे । कप्तान ऐरी र स्कट कुगेलिनले समान दुई विकेट लिए । सेफ जैवले एक विकेट झारे ।

योसँगै एनपीएलको प्लेअफ खेल्ने चार टोलीको टुँगो लागेको छ । कर्णाली प्लेअफ पुग्नेसँगै काठमाडौं गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधवार हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । अर्थात् सुदूरपश्चिम र जनकपुर बीच हुने पहिलो क्वालिफायरमा विजेता टिम सिधै फाइनल पुग्नेछ र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा पराजित हुने टिमले भने फाइनल प्रवेशका लागि अर्को एक मौका पाउनेछ । जुन दोस्रो क्लिफायर हो ।

कर्णाली र चितवनले अब एलिमिनेटर खेल्नेछन् । जसमा विजयी हुने टिम दोस्रो क्वालिफायरमा खेल्ने छ । जहाँ पहिलो क्वालिफायरमा पराजित टिमसँग प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा कर्णाली र चितवनमध्ये जुन टिम पराजित हुन्छ, उक्त टिम लिगबाट बाहिरिनेछ । दोस्रो क्वालिफायरमा विजेता टोलीले पहिलो क्वालिफायरको विजेतासँग फाइनलमा उपाधि भिडन्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । एनपीएलमा सहभागि आठ टिममध्ये काठमाण्डू, लुम्बिनी, पोखरा र विराटनगर भने लगि चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मितिः   २ पुष २०८१, मंगलवार ०६:०२