बस्ती विकास योजना कार्यान्वयन गरिँदै

सुर्खेत: कर्णाली प्रदेश सरकारले बस्ती विकास योजनालाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई अघि बढाएको हो । छरिएर रहेको एवम् जोखिमयुक्त बस्तीलाई मध्यनजर गरेर एकीकृत बस्ती विकास गर्न लागिएको हो ।

आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । सोही लक्ष्यबमोजिम पूर्वाधार निर्माण गर्न लागिएको हो । संघ र प्रदेश सरकारको सह–लगानीमा पूर्वाधार निर्माण गरिनेछ । उक्त योजनाअन्तर्गत कैलाश प्रवेशद्वारको रूपमा हुम्लाको सदरमुकाम र डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको हो । गत आर्थिक वर्षबाट उक्त योजना अघि बढाइएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । उक्त वर्ष दुईवटै जिल्लामा प्रि–फिजिविलिटी अध्ययनको काम गरिएको थियो ।

गतवर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा पूर्वाधार निर्माणका काम नभएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनकाअनुसार संघ र प्रदेश सरकारको सह–लगानीमा पर्यटन प्रवद्र्धन गर्न बस्ती विकासका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो । गतवर्षबाट सुरु गरिएको उक्त कार्यक्रमको निरन्तरताका लागि यो वर्ष पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । कैलाश प्रवेशद्वारको रूपमा हुम्लाको सदरमुकाम र डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न ४६ करोड बजेट विनियोजन गरिएको हो । अहिले दुईवटै योजनाको फाइल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पेस गरिएको छ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल मन्त्रालयमा पेस भएको प्रवक्ता सुवेदीले बताए । प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयले सहमति दिएको खण्डमा पूर्वाधार निर्माणका लागि ठेक्का आह्वानको काम अघि बढ्नेछ ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकास गर्न लागिएको हो । गत आर्थिक वर्षबाट उक्त काम थालिएको छ । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर काम अघि बढाउन लागिएको पूर्वाधार विकास कार्यालय डोल्पाले जनाएको छ । शे–फोक्सुन्डो ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ गर्न लागिएको कार्यालय प्रमुख टेक हितानले बताए । उनका अनुसार बजेटको स्रोत सुनिश्चितता नहुँदा गतवर्ष पूर्वाधार निर्माणको काम सुरु हुन सकेको थिएन । यो वर्ष पनि भौतिक मन्त्रालयमा बजेटको स्रोत सुनिश्चितताको फाइल पेस गरिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारको पाँच करोड र संघीय सरकारको पाँच करोड गरेर दश करोड लगानीमा यो योजना अघि बढेको हो । तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो । शे–फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन् । तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । कार्यालय प्रमुख हितानका अनुसार ताल हेर्न आउने पर्यटक रिंग्मो बस्तीमा बस्छन् । अहिले उक्त बस्तीलाई आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन थालिएको हो । वरिपरि पहाड र बीचमा फोक्सुण्डो ताल रहेको छ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो ।

डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट तीन हजार ६ सय ११ मिटर उचाइमा रहेको तालको लम्बाइ चार दशमलव आठ किलोमिटर र चौडाइ एक दशमलव ६ किलोमिटर छ । गहिराइ ६ सय ५० मिटर छ ।

 

मानसरोवर प्रवेशद्वारमा पूर्वाधार निर्माण

हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम थालिएको छ । गतवर्षबाट पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो ।

गतवर्ष प्रि–फिजिविलिटी अध्ययनका काम अघि बढेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर पूर्वाधार निर्माणको काम अघि बढाउन लागिएको छ । गतवर्ष प्रदेश सरकारको नौ करोड र संघीय सरकारको नौ करोड बजेटमा पूर्वाधार निर्माणको काम अघि बढेको थियो । बजेटको स्रोत सुनिश्चितता नहुँदा ठेक्कामार्फत् पूर्वाधार निर्माणको अघि बढ्न सकेको थिएन । यो वर्ष बजेटको स्रोत सुनिश्चितताको फाइल भौतिक मन्त्रालयमा पेस गरिएको जनाइएको छ । सिमकोट गाउँपालिकाको वडा नं. ५ र ६ तथा खार्पूनाथ गाउँपालिकाको वडा नं. ५ मा पर्यटन पूर्वाधार निर्माणको काम गरिनेछ ।

प्रकाशित मितिः   २ पुष २०८१, मंगलवार ०६:०६