नेपालमा बेरुजु, फछ्र्यौट र सुधारका विषय

पृष्ठभूमिः
नेपाल एक सानो आकारको अर्थव्यवस्था भएको मुलुक हो, यस प्रकारको अर्थव्यवस्था भएको मुलुकका लागि वित्तीय नियन्त्रण प्रणाली महŒवपूर्ण रहेको हुन्छ । वर्तमान खुला, उदार, प्रतिस्पर्धी विश्व आर्थिक परिवेशमा सार्वजनिक निकायबाट गरिने आर्थिक क्रियाकलापहरूलाई मितव्ययी, पारदर्शी, आर्थिक कानुनको संरक्षण गरी विद्यमान देखा परेको अर्थ परिचालन साथै कार्यान्वयनमाथिको बेरुजु नियन्त्रण र सुधारमाथिको चासो टड्कारो विषय बनेको छ ।
विषय प्रवेशः
सामान्यतः कानुनबमोजिम गर्नुपर्ने आर्थिक क्रियाकलापसँग जोडिएको विषय कार्यान्वयनमा रीत नपुगेको भनी उल्लेख गरिएका कैफियत बेरुजु हो, जुन सैद्धान्तिक, सुधारात्मक साथै कारोबारको अंक जोडित हुन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठह¥याइएको कारोबार नै बेरुजु सम्झनुपर्दछ उल्लिखित छ ।
लेखापरीक्षण ऐन, २०७५ ले समेत बेरुजुलाई यसै व्यहोरा परिभाषित गरेको पाइन्छ । यसरी संक्षेपमा बैधानिक निकायबाट गरिने लेखापरीक्षणको प्रतिवेदनमा उल्लिखित कैफियत बेरुजु हो । नेपालको संविधानमा महालेखा परीक्षकबाट सार्वजनिक निकायको समग्र आर्थिक कारोबारको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता समेतका आधार तथा सिद्धान्तका आधारमा अन्तिम लेखापरीक्षण हुने साथै धारा २९४ (१) बमोजिम राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरिन्छ ।
विद्यमान अवस्था
नेपालमा केही वर्षयताको तथ्याङ्क हेर्दा पूंजिगत खर्चको न्यूनता, खर्च गर्ने क्षमताको कमी, आर्थिक वर्षको अन्त्यमा अधिकतम अस्वभाविक खर्च (Eleventh Hour Workout) र खर्च भएको रकममा पनि लेखापरीक्षण हुँदा बेरुजु अंकको वृद्धिजस्ता समस्याहरू देखिएका छन् । संविधानतः लेखापरीक्षणको कर्तव्य र अधिकार रहेको निकाय महालेखापरीक्षकको एकसठ्ठीऔँ वार्षिक प्रतिवेदन २०८१ मा आ.व. २०७९/०८० को लेखापरीक्षणबाट संघ, प्रदेश, स्थानीय तह तथा संगठीत संस्था गरी ५६०५ निकायको कूल ७८ खर्ब ८१ अर्ब ६० करोड लेखापरीक्षण गरेकोमा रू. एक खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ ।
लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन पश्चात सम्परीक्षण भएको रकम रू. ३२ अर्ब १४ करोड फछ्र्यौट गर्दा आ.व. २०७९/०८० सम्म फछ्र्यौट गर्न बाँकी अद्यावधिक बेरुजु रू. ६ खर्ब ६९ अर्ब ८६ करोड ३९ लाख रहेको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीयसमेतको लेखापरीक्षणबाट रू. ९५ अर्ब ६० करोड बेरुजु देखिएको छ । संघीय कार्यालयको लेखापरीक्षण अंकको १.८९%, प्रदेश कार्यालयको २.०३% र स्थानीय तहको २.७२% बेरुजु कायम भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की बेरुजु गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । ६१औँ प्रतिवेदनबाट कूल बेरजुमध्ये असुल गर्नुपर्ने बेरुजु २४.४७%, नियमित गर्नुपर्ने ६८.०३% र पेश्की बेरुजु ७.५०% कायम भएको देखिन्छ ।
संघीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थातर्फको बेरुजुका अतिरिक्त लेखापरीक्षण बक्यौता, राजश्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा जमानत बसी दिएको ऋणको भाखा नाघेको साँवाव्याज रकमका सम्बन्धमा समयमा नै कारबाही गरी टुँगो लगाउनुपर्ने रकम रू. पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । उक्त रकममा अद्यावधिक रकम रू. ६ खर्ब ६९ अर्ब ८६ करोड ३९ लाख थप गर्दा कारवाही गरी टुँगो लगाउनुपर्ने कूल अद्यावधिक रकम रू. ११ खर्ब ८३ अर्ब २६ करोड ८२ लाख पुग्नु आर्थिक अनुशासनमा विकृति थप मौलाउँदै गएको पुष्टि गर्न सकिन्छ ।
आ.व. २०६५/०६६ सम्मको बेरुजु÷बक्यौताको अंक करिव ९० अर्ब रहेकोमा ६१औँ प्रतिवेदनसम्म आइपुग्दा उक्त रकम रू. १,१८३ अर्ब फछ्र्यौट गर्न बाँकी देखिनुले वित्तीय व्यवस्थापनमा विकृति र विसंगतिहरू बढ्दै गएको पुष्टि हुने देखिन्छ । बेरुजु फछ्र्यौट गर्ने गराउने तर्फ जिम्मेवारीमा रहेका सम्बन्धित निकायहरूको शिथिलताले गर्दा आर्थिक अनुशासनहिनताको प्रवृत्ति देखापरेको सहजै अनुमान गर्न सकिन्छ । सार्वजनिक कोषमा संकलन हुनुपर्ने रकम प्रभावकारी रूपमा नभएको र यसको सदुपयोगमा समेत निरन्तर ह्रास आइ अनियमितता, दुरूपयोग, स्वेच्छाचारिता, गैर जिम्मेवारीपन र भ्रष्टाचार जस्ता क्रियाकलापहरू बढ्दै गइ वित्तीय नियन्त्रणको अवस्था खलवलिएको अवस्थाको चित्रण तथ्याङ्कले गर्दछ ।
अर्थ मन्त्रालयको विवरण अनुसार आ.व. २०७९/०८० मा रू. १४ खर्ब २१ अर्ब ३२ करोड ७० लाख खर्च भएकोमा आषाढ महिनामा मात्र रू. दुई खर्ब ४५ अर्ब ६६ करोड ९१ लाख (१७.२८%) खर्च र जसमध्ये पनि अन्तिम हप्तामा रू. ८८ अर्ब ६६ करोड ७७ लाख (कूल खर्चको ६.२४%) खर्च हुनुले कानुनको पालनाअनुसार गर्नुपर्ने कार्यक्रम तथा खर्च गर्ने कार्यतालिका बमोजिमको खर्च नभएकोले यसमा नियन्त्रण आवश्यक छ ।
फछ्र्यौटसम्बन्धी व्यवस्था
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले आफ्नो र मातहतको कार्यालयको आर्थिक प्रशासन सञ्चालनदेखि लेखापरीक्षण गराउने, बेरुजु नियमित गराउने, निर्धारित लक्ष्य अनुरूप प्रतिफल प्राप्त गर्न जिम्मेवारी रहेको सचिवलाई लेखा उत्तरदायी अधिकृतको रूपमा परिभाषित गरेको छ । यस लगायतका फछ्र्यौटका प्रावधानहरूः
  • महालेखापरीक्षकबाट लेखापरीक्षण भइ प्रारम्भिक प्रतिवेदनमा औंल्याइएका बेरुजुका सम्बन्धमा ३५ दिनभित्र वा म्याद थप भएको भए सो समयभित्र सम्बन्धित कार्यालयले तोकिए बमोजिम फछ्र्यौट गरी सम्परीक्षणका लागि महालेखापरीक्षक समक्ष पेस गर्नुपर्ने,
  • प्रारम्भिक प्रतिवेदमा उल्लिखित व्यहोरा फछ्र्यौट वा सम्परीक्षण नगराएमा महालेखापरीक्षकले लेखा उत्तरदायी अधिकृतलाई जानकारी गराउने र जानकारी प्राप्त भएपछि सो बमोजिमको कार्य सम्पादन गर्ने जिम्मेवारी सम्बन्धित लेखा उत्तरदायीको हुने,
  • बेरुजु फछ्र्यौट गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी प्रचलित कानुनबमोजिम फछ्र्यौट गर्न लगाउने दायित्व सम्बन्धित लेखा उत्तरदायीको रहने,
  • लेखा उत्तरदायी अधिकृतले तोकिएको जिम्मेवारी समयमा पूरा नगरेमा महालेखापरीक्षकले सो व्यहोराको जानकारी सम्बन्धित विभागीय मन्त्री वा राज्यमन्त्रीलाई गराई त्यसरी फछ्र्यौट वा सम्परीक्षण हुन नसकेको रकम विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्ने,
  • फछ्र्यौट भएको बेरुजुको लगत कट्टा गर्न सात दिनभित्र महालेखापरीक्षकको कार्यालयमा पठाउनुपर्ने र महालेखापरीक्षकको कार्यालयले सोको लगत कट्टा गरी सात दिनभित्र सम्बन्धित लेखाउत्तरदायीलाई जानकारी दिनुपर्ने,
  • बेरुजु रकम असुलउपर गर्न नसकिएमा लेखा उत्तरदायी अधिकृतले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कस्न पठाउनुपर्ने र केन्द्रीय तहसिल कार्यालयले सरकारी बाँकी सरह असूल उपर गर्ने,
  • महालेखा परीक्षकको प्रतिवेदनमाथि संसद्को सार्वजनिक लेखा समितिले र प्रदेशका सार्वजनिक लेखा समितिहरूम छलफल गरी आवश्यक निर्णय लिने,
  • प्रतिनिधि सभाबाट स्वीकृत सार्वजनिक लेखा समितिको प्रतिवेदनबमोजिम बेरुजुको लगतबाट हटाउनुपर्ने भएमा सम्बन्धित लेखा उत्तरदायी अधिकृतले आफ्नो मन्त्रालय वा निकायअन्तर्गतको बेरुजु लगतबाट हटाउन महालेखापरीक्षक समक्ष अनुरोध गर्नुपर्ने,
  • यसरी अनुरोध भइ आएमा महालेखापरीक्षकले ३० दिनभित्र लगत कट्टा गरी सोको जानकारी सार्वजनिक लेखा समिति र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्ने,
  • बेरुजु फछ्र्यौट समितिमा सिफारिस भइ आएको बेरुजुका सम्बन्धमा छलफल भइसकेपछि बेरुजु फछ्र्यौट समितिले उचित ठानेमा त्यस्तो बेरुजु नियमित गरिदिन सक्ने र त्यसरी बेरुजु नियमित गरेको जानकारी सो समितिले सम्बन्धित मन्त्रालय र महालेखापरीक्षकको कार्यालयलाई दिनुपर्ने,
  • जानकारी प्राप्त भएपछि महालेखापरीक्षकले त्यस्तो बेरुजुको लगत कट्टा गरी त्यसको जानकारी बेरुजु फछ्र्यौट समिति र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्ने,
  • कार्यालयले गरेको बेरुजु फछ्र्यौटको अनुगमन गरी बेरुजु फछ्र्यौटसम्बन्धी कामकारबाहीमा प्रभावकारिता ल्याउन मुख्य सचिव, नेपाल सरकार अध्यक्ष रहेको बेरुजु फछ्र्यौट अनुगमन समितिले मन्त्रालय, केन्द्रीय निकाय, विभाग वा कार्यालयले गरेको बेरुजु फछ्र्यौटसम्बन्धी कामकारबाहीको लेखाजोखा तथा मूल्यांकन गर्ने, कायम भएको बेरुजु फछ्र्यौट नगर्ने मन्त्रालय, विभाग प्रमुखलाई समितिमा उपस्थित गराइ छलफल गर्ने र बेरुजु फछ्र्यौटको लागि भूमिका निर्वाह गर्ने,
  • स्थानीय तहको लेखापरीक्षण प्रतिवेदनबाट कायम भएको बेरुजुको सम्बन्धमा सम्बन्धित स्थानीय तहबाट फछ्र्यौट र फरफारक भएको तथा बाँकी बेरुजुको अद्यावधिक विवरण महालेखापरीक्षकको कार्यालयमा पठाउनुपर्ने ।
सुधारको विषहरूः
  • सेवा प्रवाहलाई प्रभावकारी बनाउन विद्युतीय माध्यमको प्रयोग, गुनासो सुनुवाइ, सार्वजनिक सुनुवाई, प्रभावकारी अनुगमन गरी पदाधिकारी र जनशक्तिलाई सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्ने,
  • नवप्रवेशी जनशक्ति साथै सेवाप्रवाहमा संलग्न हुने पदाधिकारीहरूलाई आर्थिक कानुन लगायतका सम्बन्धित कानुनहरूको सम्बन्धमा पर्याप्त व्यवहारिक पद्धतिबाट तालिम साथै जानकारीको व्यवस्था गर्नुपर्ने,
  • आर्थिक अनुशासन पालना साथै बेरुजु फछ्र्यौटलाई कार्यसम्पादन र वृत्तिविकासका पक्षसँग आबद्धता गरी जनशक्तिलाई थप जिम्मेवारी र अनुशासित बनाइनुपर्ने,
  • सं‍घीय निजामती सेवा ऐन र प्रदेश र स्थानीय तहमा जनशक्ति परिचालनसम्बन्धी कानुन तत्काल तर्जुमा गरी कार्यान्वयनमा ल्याइनुपर्दछ । मौजुदा कानुनमा समयानुकूल संशोधन र परिमार्जन गरिनुपर्ने,
  • विभिन्न किसिमका अनुदान वितरणको राष्ट्रिय नीति एवम् व्यवस्थापन सूचना प्रणाली तयार गरी अनुदान वितरणलाई थप व्यवस्थित बनाइनुपर्ने, नतिजमा आधारित अनुदान प्रणाली कार्यान्वयन गरिनुपर्ने, अनुदानलाई बीउपुँजीको रूपमा दिने र निश्चित समयपश्चात फिर्ता लिने नीति अवलम्बन गर्नुपर्ने
  • बेरुजु सम्परीक्षणका सम्बन्धमा महालेखापरीक्षकको कार्यालय र सार्वजनिक लेखा समिति बीच भएको द्विविधाको टुँगो लगाउनुपर्ने साथै लेखापरीक्षण ऐन, २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बीचमा समाञ्जस्यता ल्याउनुपर्ने,
  • आर्थिक कानुनहरूमा भएको व्यवस्था अनुसारको रकमान्तरको कार्य गर्नुपर्ने साथै वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्यमा नियन्त्रण गरिनुपर्ने,
  • सार्वजनिक निकायमा जनशक्तिको उपयुक्त व्यवस्थापन नगरी कार्यसम्पादनमा परामर्शदाता माथिको निर्भरता अत्याधिक देखिएको हुँदा संगठनको जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्थामा, अत्यावश्यक कार्यमा मात्र परामर्श सेवा लिइ नियमित कार्यको लागि परामर्शदातामाथिको निर्भरता घटाउनुपर्ने,
  • वन पैदावारबाट प्राप्त हुने आम्दानी गुमिरहेको र काठजन्य सामाग्री अधिकतम् आयात भएको देखिँदा ढलापडा, सुक्खा खडा रुखहरूको व्यवस्थापन गरी काठलगायतका बन पैदावारको उचित व्यवस्थापन तथा उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदानको व्यवस्था मिलाउने,
  • EIA प्रतिवेदन स्वीकृति नगरी ठेक्का व्यवस्थापन गर्ने एवम् विविध कारणले स्वीकृतिमा समेत ढिलाइ हुँदा परामर्शसेवा र निर्माण कार्यको समय र लागत बढ्ने गरेको छ । केन्द्रीय निकायले सरोकारवालाहरूसँग समन्वय गरी EIA स्वीकृतिमा देखिएको समस्या निराकरणमा सुधार गर्नुपर्ने,
  • नैतिक पूर्वाधार निर्माण गर्न विद्यालयस्तरकै पाठ्यक्रममा नैतिक शिक्षा विषय अनिवार्य गरिनुपर्ने,
  • उपभोक्ता समितिहरूले निर्माण व्यवसायीबाट काम गराउने र जटिल प्रकृतिको कार्य र खरिदसमेत उपभोक्ता समितिबाट सोझै खरिद गर्ने परिपाटिमा नियन्त्रण गर्नुपर्ने,
  • स्थानीय तहको सभामा प्रतिपक्षको अभ्यास नदेखिने हुँदा लेखा समिति प्रभावकारी नहुने र खर्चमा प्रभाव पार्ने निर्णयहरूमा कार्यकारिको प्रभाव देखिने हुँदा बेरुजु फछ्र्यौट सम्बन्धमा स्वार्थ बाँझिन सक्ने देखिन्छ । वित्तीय पारदर्शिता र जवाफदेहिताका लागि सम्बन्धित ऐनहरूमा आवश्यक पुनरावलोकन गरी स्थानीय तहको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल एवम् अनुगमन गर्ने स्वतन्त्र र प्रभावकारी संयन्त्रको व्यवस्था गर्नुपर्दछ ।
 निष्कर्ष
राज्यको स्रोत, साधन, अधिकार र अवसरको प्रयोगमाथिको दुरूपयोग नै बेरुजु हो । उपलब्ध स्रोत साधनको प्रभावकारी सदुपयोग र प्रयोगको कमजोरीको उपस्थितिमा प्रत्येक वर्ष बेरुजुको अवस्था बढ्दै जानुले वित्तीय व्यवस्थापनमा विकृति र विसंगतिहरू बढ्दै गएको पुष्टि हुने गर्दछ । वित्तीय परिचालनका सम्बन्धमा रहेका मौजुदा कानुनको अक्षरशः पालना साथै विद्यमान अवस्थामा रहेको बेरुजु फछ्र्यौट सम्बन्धको व्यवस्थालाई जिम्मेवार पदाधिकारीले अनुसरण गरेको अवस्थामा साथै सुधारका विषयवस्तु अवलम्बन गरिएको अवस्थामा बेरुजु नियन्त्रण, सार्वजनिक निकायको कार्यप्रणालीमाथि पारदर्शिता, विश्वासनियता र राज्यको वित्तीय लक्ष्य पुरा हुने निश्चित रहन्छ ।
-इन्द्रप्रसाद अधिकारी
प्रकाशित मितिः   ९ मंसिर २०८१, आईतवार ०६:०४