आर्थिक सम्भाव्यता

कर्णाली प्रदेशमा आर्थिक सम्भावनाको विश्लेषण गरिएको छ । इन्टरनेश्नल (आइडिया नेपाल) ले कर्णालीका ६ जिल्लामा आर्थिक सम्भावनाको विश्लेषण गरेको हो । रूकुमपश्चिम, दैलेख, जुम्ला, मुगु, सुर्खेत र जाजरकोटमा विभिन्न क्षेत्रमा हुनसक्ने आर्थिक सम्भावनाहरूको विश्लेषण गरिएको हो । विशेष गरेर कृषि क्षेत्रमा हुनसक्ने आर्थिक सम्भावनाको पहिचान गरिएको छ । प्रदेशमा हुनसक्ने स्याउ, आलु र सुन्तलाको आर्थिक सम्भावनाको विश्लेषण गरिएको इन्टरनेश्नल आइडिया नेपालका कार्यक्रम संयोजक प्रमोद भगतले बताए । उनका अनुसार प्रदेशका ६ जिल्लामा हुनसक्ने आर्थिक सम्भावनाको विश्लेषण गरिएको छ ।

कृषि सर्वेक्षणका अनुसार प्रदेशमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । प्रदेशमा १६ प्रतिशत आलु उत्पादन हुन्छ । ११ प्रतिशत सुन्तला र ६ प्रतिशत स्याउ उत्पादन हुने गरेको छ । गरिएको अध्ययनले पर्यटन प्रवद्र्धनबाट पनि आर्थिक लाभ लिन सकिने जनाएको छ । जसमा रारा ताल, शे–फोक्सुण्डो र दिगो पर्यटनका लागि सामुदायिक सशक्तिकरण होमस्टे सञ्चालन गर्न सकिने जनाइएको छ । यसैगरी अन्तर सीमा पर्यटन तर्फ भारत–नेपाल–चिन–कैलाश मानसरोवरलाई देखाइएको छ । प्रदेश सरकारले पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । गोल्डेन् टेङ्गल (फोक्सुण्डो–रारा र सुर्खेत) गोल्डेन ब्रेसलेट (कैलासदेखि मानसरोवर) लाई राखिएको छ । प्रदेशका हिमाली जिल्लाहरूबाट धेरै आर्थिक सम्भावना रहेको अध्ययनले औंल्याइएको छ । उच्च मूल्यको औषधीय जडिबुटी र आवश्यक तेलहरू उत्पादन गर्न सकिने जनाइएको छ । चीनमा सोझो व्यापार गर्न सकिने बताइएको छ । जसमा ऐतिहासिक ट्रान्स हिमालयन व्यापार र मार्गहरू पुनरुत्थान गर्न सकिने अध्ययनमा उल्लेख गरिएको छ । बाँझो जमिनमा औषधीय जडिबुटी र आवश्यक तेलहरूको वैज्ञानिक खेतीलाई प्रोत्साहन गर्न सकिने जनाइएको छ । औषधीय जडिबुटी र आवश्यक तेल (राष्ट्रिय व्यापारको) ३५ प्रतिशत गर्न सकिने देखिन्छ । अहिले उच्च मूल्यको तेल चीन र मध्यम मूल्यको तेल भारतमा निकासी हुने गरेको छ । प्रदेशमा अहिले निर्वाहमा आधारित उत्पादन हुने गरेको छ । स्याउ र सुन्तलाको परम्परागतमा आधारित खेती गर्ने गरिएको छ । स्याउ र सुन्तला उत्पादनको यकिन अनुमान छैन । अध्ययनले कपास र ओखर खेतीको पनि सम्भावना देखाएको छ ।

अध्ययनले सडक सञ्जालमा पहुँचको विश्लेषण गरिएको छ । तीनै तहका सरकारको पहिलो प्राथमिकता सडक सञ्जाल विस्तार गरिएको पाइएको उल्लेख छ । अहिले कर्णाली राजमार्ग र मध्य पहाडी राजमार्ग निर्माणधीन अवस्थामा रहेको पाइएको छ । नवनिर्मित ट्रयाकहरू अझै पनि ट्रयाककै अवस्थामा रहेको र स्तरोन्नति नभएको अध्ययनमा उल्लेख छ । उक्त ट्रयाकहरू वर्षाको लागि जोखिममा रहेका र वर्षाको पानीको निकास र ग्राभेल नभएको पाइएको छ ।

प्रकाशित मितिः   ९ मंसिर २०८१, आईतवार ०६:०३