कर्णालीमा प्रचुर कृषि सम्भावना

 

 

सुर्खेत: कर्णाली प्रदेशमा आर्थिक सम्भावनाको विश्लेषण गरिएको छ । इन्टरनेश्नल (आइडिया नेपाल) ले कर्णालीका ६ जिल्लामा आर्थिक सम्भावनाको विश्लेषण गरेको हो । रूकुमपश्चिम, दैलेख, जुम्ला, मुगु, सुर्खेत र जाजरकोटमा विभिन्न क्षेत्रमा हुनसक्ने आर्थिक सम्भावनाहरूको विश्लेषण गरिएको हो ।

विशेष गरेर कृषि क्षेत्रमा हुनसक्ने आर्थिक सम्भावनाको पहिचान गरिएको छ । प्रदेशमा हुनसक्ने स्याउ, आलु र सुन्तलाको आर्थिक सम्भावनाको विश्लेषण गरिएको इन्टरनेश्नल आइडिया नेपालका कार्यक्रम संयोजक प्रमोद भगतले बताए । उनका अनुसार प्रदेशका ६ जिल्लामा हुनसक्ने आर्थिक सम्भावनाको विश्लेषण गरिएको छ ।

कृषि सर्वेक्षणका अनुसार प्रदेशमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । प्रदेशमा १६ प्रतिशत आलु उत्पादन हुन्छ । ११ प्रतिशत सुन्तला र ६ प्रतिशत स्याउ उत्पादन हुने गरेको छ । गरिएको अध्ययनले पर्यटन प्रवद्र्धनबाट पनि आर्थिक लाभ लिन सकिने जनाएको छ । जसमा रारा ताल, शे–फोक्सुण्डो र दिगो पर्यटनका लागि सामुदायिक सशक्तिकरण होमस्टे सञ्चालन गर्न सकिने जनाइएको छ । यसैगरी अन्तर सीमा पर्यटन तर्फ भारत–नेपाल–चिन–कैलाश मानसरोवरलाई देखाइएको छ । प्रदेश सरकारले पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । गोल्डेन् टेङ्गल (फोक्सुण्डो–रारा र सुर्खेत) गोल्डेन ब्रेसलेट (कैलासदेखि मानसरोवर) लाई राखिएको छ ।

प्रदेशका हिमाली जिल्लाहरूबाट धेरै आर्थिक सम्भावना रहेको अध्ययनले औंल्याइएको छ । उच्च मूल्यको औषधीय जडिबुटी र आवश्यक तेलहरू उत्पादन गर्न सकिने जनाइएको छ । चीनमा सोझो व्यापार गर्न सकिने बताइएको छ । जसमा ऐतिहासिक ट्रान्स हिमालयन व्यापार र मार्गहरू पुनरुत्थान गर्न सकिने अध्ययनमा उल्लेख गरिएको छ । बाँझो जमिनमा औषधीय जडिबुटी र आवश्यक तेलहरूको वैज्ञानिक खेतीलाई प्रोत्साहन गर्न सकिने जनाइएको छ । औषधीय जडिबुटी र आवश्यक तेल (राष्ट्रिय व्यापारको) ३५ प्रतिशत गर्न सकिने अध्ययन टोलीमा सहभागी भगतले बताए । अहिले उच्च मूल्यको तेल चीन र मध्यम मूल्यको तेल भारतमा निकासी हुने गरेको उनले जानकारी दिए । प्रदेशमा अहिले निर्वाहमा आधारित उत्पादन हुने गरेको छ । स्याउ र सुन्तलाको परम्परागतमा आधारित खेती गर्ने गरिएको छ । स्याउ र सुन्तला उत्पादनको यकिन अनुमान छैन । अध्ययनले कपास र ओखर खेतीको पनि सम्भावना देखाएको छ ।

अध्ययनले सडक सञ्जालमा पहुँचको विश्लेषण गरिएको छ । तीनै तहका सरकारको पहिलो प्राथमिकता सडक सञ्जाल विस्तार गरिएको पाइएको उल्लेख छ । अहिले कर्णाली राजमार्ग र मध्य पहाडी राजमार्ग निर्माणधीन अवस्थामा रहेको पाइएको छ । नवनिर्मित ट्रयाकहरू अझै पनि ट्रयाककै अवस्थामा रहेको र स्तरोन्नति नभएको अध्ययनमा उल्लेख छ । उक्त ट्रयाकहरू वर्षाको लागि जोखिममा रहेका र वर्षाको पानीको निकास र ग्राभेल नभएको पाइएको छ ।

 

आर्थिक सम्भावनाका विषयमा छलफल

यसैबीच प्रदेशमा हुनसक्ने आर्थिक सम्भावनाका विषयमा छलफल गरिएको छ । इन्टरनेश्नल आइडिया नेपालको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा महिला अधिकारकर्मीसँग छलफल गरिएको हो । छलफल कार्यक्रममा दलित अधिकारकर्मी मञ्जु सुनारले आर्थिक उपार्जनका कार्यक्रममा महिलालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएकी छन् । उनले आवश्यक नीति निर्माण गरेर महिलाहरूलाई अनुदानमा जोड्नुपर्ने बताइन् ।

नवजोती केन्द्र सुर्खेतकी जरमाया बाठाले कृषि क्षेत्रबाट धेरै आर्थिक लाभ लिन सकिने बताइन् । उनले सकेसम्म महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि नीति कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने सुनाइन् । इन्टरनेश्नल आइडीया नेपालका कर्णाली प्रदेश संयोजक खगेन्द्र राईले सरकारका कार्यक्रमलाई थप टेवा पुग्नेगरी अध्ययन गरिएको बताए । उनले अध्ययनले देखाएका विषयमा सरकारसँग बसेर छलफल गर्ने र निचोड निकालिने जानकारी दिएका छन् । इन्टरनेश्नल आइडीया नेपालले क्षमता अभिवृद्धि, निर्वाचन प्रक्रिया, संविधान निर्माण, राजनीतिक सहभागिता, जलवायु परिवर्तन, लैङ्गिक समानता र समावेशीकरण र राजनीतिमा अर्थ विषयमा नीतिगत सुझाव दिने गरेको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०८१, शनिबार ०६:०६