सिकार
यो कथा पौराणिक काल जनाउने एकादेशको होइन हाम्रै देश नेपालको हो । चितवन पारी मकवानपुर जिल्लाको मनहरी भन्ने ठाउँको जंगलमा एउटा बुढो बाघ बस्थ्यो । बुढेसकालमा जवानीको हिम्मत जोश जाँगर उमंग सबै सेलाउँदै जाने कुरा प्रकृतिको अकाट्य नियम हो, यो जंगली र सामाजिक सबै जीवनमा लागू हुन्छ ।
बाघले खोलामा झरेर पानी खायो । पानीले तिर्खा मेटिन्छ भोक मेटिँदैन । पेटमा भोकको ज्वाला दन्केर हैरान पारेपछि फेरि ऊ जंगलतिरै फर्कियो । दायाँबायाँ टाउको घुमाइ हिँड्दाहिँड्दै उसको नजिकै झाडीबाट अकस्मात एउटा सफेद सानो खरायो आफ्नो ज्यान जोगाउन उफ्रदै दौडियो । आफ्नै नाक मुनिबाट सिकार उफ्रेको सुखद अवसर देखेपछि बाघ पनि तागत झिकेर झम्टन दौडियो । मृत्युबाट उम्कने र आहारा झम्टेर खाने बीच को दौड प्रतिस्पर्धा चलिरह्यो सिकार जसरी पनि छोप्नु थियो ।
दायाँबायाँ गर्दै नागबेली आकारमा दौडिरहेको खरायोको गति निरन्तर बढिरहेको थियो भने त्यसरी नै लखेटेको बाघको गति क्रमश घटिरहेको थियो । खरायो उम्केर भागेपछि बाघ बङ्लंग ढल्यो । धपेडीले सास बढेपछि उसको पेट सप्याक् सप्याक् भइरहेको थियो । मुख वरिपरि भन्किरहेका झिंगा माखा धपाउन कान फट्फटाइरहेको थियो । घरीघरी जिब्रो निकालेर मुखको दायाँबायाँ कोष र नाक चाटिरहेको थियो । जिवितै छुनी भन्ने संकेत होकि हिम्मत टुटेको छैन भन्ने भान पार्न हो उसले पुच्छर बराबर फन्नाइ रहेको थियो ।
बर्खा मासमा वनभरी हरियाली पलाएको थियो । घासको केही अनिकाल थिएन तर बाघले घाँस खाँदैन किनकि ऊ शाकाहारी होइन । मांसहारीले घाँस खान नपाइने प्रारब्धले मेलोमेसो बाँधे को छ र जीवन गतिका लागि खाना अनिवार्य सर्त बनाएको छ । त्यसैले बाँच्नका लागि जन्मदै किस्मतमा तोकिए बमोजिम प्राणीले खाना खानै पर्छ ।
जवानी कालमा त ठूला ठूला सिकार एक्लै पनि गरेको थियोे । कैयन लामा सिङ भएका अर्ना, तिखा सिङधारी जरायो, तिखै दारा भएका बँधेल ठाउँका ठाउँ भक्लक्क भक्लक्क लडाइ दिन्थ्यो । घेक्रो फुटाली मुखजोतेर आलो रगत तनतन पिउँथ्यो ।
घाँटीमा दाह्रा गाढेर ती जन्तुलाई एक्लै घिसाथ्र्यो, स्याल कुकुर हरिण मृगका त के कुरा कति मा¥यो कति खायो । जवानीमा सिकार खाएको सम्झनाले वर्तमानमा पेट भरिने अवस्था हुन्न ।
दौडधुपले थाकेर शीताङ्गे भएको बाघले थोरै आराम भएपछि टाउको उठायो, खुट्टा समेट्यो । वरिपरि नजर डुलायो । उफ्रेर नजिकै आएको एउटा फट्यांग्रोलाई पन्जाले हानेर समायो । मुखमा हुलेर दाह्राले पिस्यो । मानौं ठूलै सिकार भेटाएको हो ।
पल्लो झाडीबाट दुई तीन वटा बघिनी लस्कारै हिँड्दै गएको देख्यो । टाउको उचालेर एकछिन हेरिरह्यो । पहिला त्यस्ता बघिनीहरू गर्भधारण गर्न उसको नजिकै आउँथे खुब माया जताउँथे । आफ्ना समूहका धेरै बघिनीलाई उसले गर्भिणी बनाएको थियो । यी दिनमा बुढ्यौलीले शक्ति क्षीण भए पनि ती दिनमा गर्भधारणको सुख सम्झेर जिब्रोले मुख चाटिरह्यो । जंगलभरी उसका सन्तान होलान् तर जन्तुको सन्तान मान्छे को जस्तो बुढेसकालको सहारा बन्ने हुँदोरहेनछ । सन्तानले नजाने कतै सिकार ढालेर चोक्टा चोक्टा लुछिरहेका होलान वृद्ध बाबु फट्याङ्ग्रो चपाएर त्यसरी भोकसँग लड्नु परिरहेको विवशता थियो ।
अन्य सबल बाघले खाएर छोडेको कोट्टो सिकार पनि जंगलमा फेला पर्दैन कतै । बाघ बलपूर्वक उठेर उभियो, वरिपरि हे¥यो, पहरा पर्वत सबै थर्कने गरि धक फुकाएर कराउन मन लाग्यो उसलाई तर ज्यानमा दम नभएपछि कराउनुको पो के अर्थ ! कोट्टो सिकारको खोजीमा फेरि जंगलैजंगल भौंतारिनका लागि सकि नसकी पाइला चाल्यो । रात पर्दै गएपछि शीतल छाउँदै आयो तर भोकले खंगारेर बाघलाई शीतल पनि काम लागेन । खाली पेटले निकै औडाहा बनाइरहेको थियो ।
जंगलमा उपाय नपाएपछि र भोकले औधी सताएपछि बाघले बस्तीमा पस्ने निधो ग¥यो । अरु जन्तुले भन्दा बाघले रातिको अँध्यारोमा आँखा टाँठो देख्न सक्ने हुन्छ । टाढैबाट गोठमा एउटा भैंसी देख्यो । गोठ अलि उच्च र फराकिलो भएकोले भैंसीमाथि छलाङ मार्दा त्यति बाधा व्यवधान नपर्ने निश्चय पनि गर्यो ।
पाडो भर्खरै मरेर भैंसी विक्षिप्त भएको बाघलाई के थाहा ! बलिस्ठ भैंसीले घाँस कुँडो खान छोडेर आक्रोशित भएको, कसैलाई आफ्नो वरिपरि पर्न नदिएको पनि बाघलाई थाहा भएन । निर्धो बाघ एकोहोरो मन बनाएर नजिक आइरहेको थियो । जसरी पनि उफ्रेर पछाडिबाट घात लगाउने दाउमा । लामा सिङबाट जोगिएर घाँटीमा झुन्डिदै पन्जाले नाकमुख थुनिदिने र दाह्राले नलि फुटालेर तनतनी रगत पिउने मनमा दृढ़ संकल्प लिएर । सायद भैंसीले बाघको गन्ध पाइसकेको थियो, किनकि उसले आफ्ना कान मात्रै ठाडाठाडा पारिरहेको थिएन, लामो दाम्लो चुटाल्ने प्रयत्न पनि गरिरहेको थियो । भैंसीलाई अब वरिपरि काल घुमेको आभास भइरहेको थियो । बाघले मार्ने नै भएपछि जसरी पनि लड्ने पक्का गरेर भय र त्रासदीमा साहस भर्दै भैंसी तयार भइरहेको थियो ।
दबिँदैदबिँदै आइरहेको बाघले गर्धन जकड्न जब पछाडीबाट छलाङ मार्दै उफ्रियो तब तत्काल भैंसीले उसको च्यापुमा जोडदार प्रहार ग¥यो । त्यो चोट झेल्न नसक्दा रनाहामा परेर बाघ उत्तानो ढल्यो । जर्फराउँदै उठेर भाग्ने प्रयत्न गर्दागर्दै भैंसीले सिङ खेलायो । घाइते बाघ फेरि उठ्ने जमर्को ग¥यो भैंसीले फेरि उधिन्यो । फेरि फेरि कोशिस ग¥यो तर भैंसीले पटक्कै उछार दिएन हान्यो फेरि हान्यो । अन्तमा उठ्न नसकी चोट खेपिरहन विवश भयो । नाकको फोहरा फुलाउँदै भैंसीले लगातार हानिरह्यो । यसरी उधिन्दै हान्योकि मानौं त्यो धमिराको गोला हो जति फदुले पनि हुन्छ । भाग्ने मौका नपाएर चोट खाँदाखाँदा शिथिल भएको बाघ चल्न र चल्मलाउन छोड्यो, भैंसीले हान्न छोडेन । अन्त्यमा बाघ निष्प्राण भयो, तर पनि भैंसीले हान्न छोडेन ।
उज्यालो भयो मान्छे खेडिए । गोठमा एउटा अदभूत घटना घटेको दृश्य देखियो । भूइँमा मरेर पसारिएको बाघको नजिकै भैंसी उभिएको थियो । मानौं बाघको लास रातभर रक्ताम्य त्यो भैंसीले नै रुँगेको छ । भैंसीले बाघ मा¥यो भन्ने खबर एककान दुईकान मैदान फैलियो । यो कसैले सहज रूपमा विश्वास गर्न नसक्ने प्रकृति विपरीतको एउटा समाचार थियो । सिकार गर्न आएको बाघ सिकारकै प्रतिकारबाट मृत्युवरण गर्यो ।
भैंसीले बाघ मारेको खबर अखबारमा पढेर राजनीतिक दलको नेता चण्डालपतिले अवाक् हुँदै अखबारमा छापेको भैंसीलाई एकटक हेरिरहेको थियो ।
‘सर सबै रेडी भइसक्यो अब जानुपर्छ होला ।’ निजी सुरक्षा अधिकृत (पिएसओ)ले भन्यो ।
‘कहाँ जाने भाइ ?’
‘उद्घाटन गर्न कार्यक्रममा जाने तयारी भइरहेको छनी सर ।’
‘ए, हो तनि । मान्छे थुप्रै पो आउँछन् कि ?’
‘मान्छे त आउँछन् सर, उद्घाटन कार्यक्रम हो… ।’
‘नाइँ नजाने भाइ, उद्घाटन भर्सेलामा जाओस् ।’
‘ओहो ! त्यसो गर्दा पछिलाई अफ्ट्यारो पर्छ्की सर !’
‘ज्यानभन्दा ठूलो उद्घाटन त होइननी गाँठे । कामज्वरो पो आउलाजस्तो छ । म सुत्छु आज ।’ दौरा सुरुवाल कोट टोपी र छालाको जुत्तामा ठाँटिएर तम्तयार परेको चण्डालपति खास कुनै कारण नखुलाइ एक्कासी टेबुलबाट अखबार उठाएरभित्र पस्दा पिएसओ हैरान थियो ।
-उमालाल आचार्य
प्रकाशित मितिः ८ मंसिर २०८१, शनिबार ०६:०३
उमालाल आचार्य ।