अस्पताल स्तरोन्नतिमा बजेट अभाव

सुर्खेत: पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैड्ढया थपेर सेवा विस्तार गर्ने योजना अघि सारेको थियो । तर बजेट विनियोजन नगर्दा अस्पताल स्तरोन्नति योजना अन्योलमा परेको हो । चालु आर्थिक वर्षमा सरकारले बजेट नै विनियोजन गरेको छैन ।

अहिले संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताल निर्माण भइरहेको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शैय्याकोे अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शैय्या हुँदै ५० शैय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना अलपत्र परेको हो । चालु आर्थिक वर्षमा बजेट कटौती भएसँगै अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा बजेट काटिएपछि अस्पताल स्तरोन्नतिको काम अन्योलमा परेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकारले आफ्नो मातहतमा राख्नेगरी अस्पताल स्तरोन्नतिको योजना अघि सारेको थियो । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा बजेट नै कटौती गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेर अस्पताल स्तरोन्नतिको कार्य अघि बढाइएको थियो । उक्त आर्थिक वर्ष अस्पताल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन भएन । बजेटको स्रोत सुनिश्चित नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन ।

पञ्चपुरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत तयार पारिसकेको छ । अघिल्ला आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन हुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षका लागि बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारीले बताए । उनका अनुसार अघिल्ला दुई आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन र स्रोत सुनिश्तिता नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । यो वर्ष बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको भण्डारीले बताए । उनले भने, ‘नगरपालिकाले डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको छ । दुई आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुन सकेको थिएन, चालु वर्ष बजेट नै कटौती भयो ।’

 

५४ करोडको लागत अनुमान

नगरपालिकाले निर्माण गरेको डीपीआर अनुसार ५४ करोडको लागत अनुमान रहेको छ । प्रदेश सरकारले न्यून बजेट विनियोजन गर्ने र बजेट नै कटौती गरेसँगै अस्पताल स्तरोन्नतिको योजना असफल बनेको हो । न्यून बजेट विनियोजन गर्दै आइरहेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट नै कटौती गरेपछि योजना अघि बढाउन समस्या भएको नगरपालिकाले जनाएको छ ।

 

 

बजेट अपुग

निर्माणाधीन १५ शैय्याको अस्पताल स्तरोन्नतिका लागि समेत बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले बजेट विनियोजन नगर्दा काम अघि बढाउन समस्या भएको हो । अस्तपाल निर्माण कार्य अन्तिम चरणको काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख भण्डारीका अनुसार अस्पताल निर्माणको करिब ९० प्रतिशत काम सकिएको छ । अब फिनिसिङ्गको काम बाँकी छ । भण्डारीले भने, ‘नगरपालिकाले काम अघि बढाउन ५० लाख विनियोजन गरेको छ, संघीय सरकारले बजेट नै विनियोजन गरेन ।’ अझै तीन करोड बजेट लाग्ने उनले बताए । अहिले अर्थ मन्त्रालयसँग बजेट माग गरिएको उनको भनाइ छ । स्रोत सुनिश्चितता नगरेर टेण्डर गरेकाले बर्सेनिमा रूपमा सरकारसँग बजेट माग गर्नुपरिरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   ९ मंसिर २०८१, आईतवार ०६:०६