दलीय परीक्षण

कर्णाली प्रदेशका ६ जिल्लामा विभिन्न स्थानीय तहका आठ पद रिक्त छन् । रिक्त रहेका पदम यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आइतवार उम्मेदवारी मनोनयन दर्तासमेत भइसकेको छ । प्रदेशका आठ पदमा ४४ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलका ४१ र तीन जना स्वतन्त्र गरी ४४ जनाले आइतवार मनोनयन दर्ता गराएका हुन् । मंगलवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुने कार्यतालिका छ । मंसिर १६ गते विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । यो निर्वाचनबाट २०८४ मा हुने अर्को चुनावअघिको बाँकी कार्यकालका लागि जनप्रतिनिधि चयन हुनेछन् ।

उपनिर्वाचनबाट दलहरूले आफ्नो शक्ति परीक्षण गर्दैछन् । कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी दल हुन् । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि यिनै तीन दलबीच नै त्रिपक्षी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसबाहेक कर्णालीमा नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलगायतको उपस्थिति छ । यद्यपि, अघिल्लो स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने मुख्य तीन दलबाहेक अन्य दलको उपस्थिति निकै कमजोर छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक स्थानीय तहमा चुनावमा भाग लिँदैछ । दलहरूले दैलेखका महावु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि हुने निर्वाचनलाई मुख्य प्राथमिकता दिएका छन् । महाबुमा अध्यक्ष पदका लागि सात वटा दलले मनोनयन दर्ता गराएका छन् । यसैगरी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा ६ दलले मनोनयन दर्ता गराएका छन् भने उपनिर्वाचन हुने हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यसबाहेक दैलेखको दुल्लू नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि ६ दलले मनोनयत दर्ता गराएका छन् । कालीकोटको तिलागुफा–४ राचुलीको वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी रूकुमपश्चिममा सानीभेरी गाउँपालिका–५ मा वडा अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एकजना स्वतन्त्रले उम्मेदवारी दिएका हुन् । जाजरकोटको कुसे गाउँपालिका–७ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि चार÷चारले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मितिः   ४ मंसिर २०८१, मंगलवार ०६:०३