वातावरणीय प्रभाव मूल्यांकन तयार: विदेशी लगानी जुटाउन पहल
सुर्खेत: हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजनामा विदेशी लगानी जुटाउन पहल भइरहेको छ । लगानी जुटाउनुअघि वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको छ । जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृतिका लागि विद्युत विकास विभागमा पेस गरिएको छ । एक महिना अघि विभागमा वातावरणीय प्रभाव मूल्यांकनको फाइल पेस गरिएको रुरु जलविद्युत कम्पनीका अध्यक्ष आशीष सुवेदीले बताए । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुने वित्तिकै उत्पादन अनुमति पत्र लाइसेन्सको प्रक्रिया थालिने छ ।
आयोजना निर्माणको प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको र अब आयोजना निर्माणको चरणमा लैजाने तयारी भइरहेको सुवेदीले जानकारी दिए । उनले भने, ‘एक महिना अघि फाइल विभागमा पेस गरेका छौँ, विभिन्न चरणमा कागजपत्र मागिरहनु भएको छ, विभागवाट स्वीकृतिको अन्तिम प्रक्रिया भइरहेको छ । त्यसपछि उत्पादन अनुमति पत्र लिन्छौँ ।’ अब विभागबाट फाइल उर्जा तथा वातवरण मन्त्रालयमा फाइल पेस हुनेछ ।
जुट्दै लगानी
रुरु जलविद्युत परियोजनाले लगानी जुटाउन पहल थालेको छ । अहिले लगानी जुटाउनका लागि विभिन्न क्षेत्रसँग छलफल भइरहेको परियोजनाले जनाएको छ । दुई वटा जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन पहल थालिएको हो । लगानी सुनिश्चितता गरेर विद्युत विकास विभागबाट उत्पादन अनुमति लिने तयारी आयोजनाको छ । दुई वटा आयोजना एकै पटक सञ्चालन हुने भएकाले लगानीकर्ताको खोजी भइरहेको जनाइएको छ । हुम्ला कर्णाली–१ जलविद्युत आयोजना र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना रुरु जलविद्युत परियोजनाले सञ्चालन गरिरहेको छ ।
दुई वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न करिब एक खर्बभन्दा बढीको लागत अनुमान गरिएको रुरु जलविद्युत कम्पनीका अध्यक्ष आशीष सुवेदीले जानकारी दिए । जलविद्युत परियोजनाले एकैसाथ दुई वटा जलविद्युत आयोजना निर्माण गर्न लागेकाले धेरै लगानी एकैपटक जुटाउनु पर्ने भएको छ । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब लागत लाग्ने अनुमान गरिएको सुवेदीले जानकारी दिए ।
हुम्ला कर्णाली–१ र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माणका लागि लगानी सुनिश्चत गर्न अमेरिकन कम्पनी र जापानी कम्पनीहरूसँग छलफल भइरहेको छ । अन्तिम चरणको छलफल भइरहेको जनाइएको छ । दुई वटै जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । लगानी सुनिश्चतताका लागि अमेरिकन कम्पनी र जापानी कम्पनीहरूसँग छलफल जारी रहेको कम्पनीका अध्यक्ष सुवेदीले जनाए । ठूलो लगानी लाग्ने भएकाले विदेशी कम्पनीसँग लगानी जुटाउन पहल भइरहेको उनको भनाइ छ । सुवेदीले भने, ‘अमेरिकी कम्पनीहरूसँग दुई चरणमा छलफल भइसकेको छ । जापानी कम्पनीहरू पनि लगानी गर्न उत्साहित बनेका छन् ।’ लगानी सुनिश्चतताका लागि अन्तिम टँुगो भने लागिसकेको छैन । विभिन्न चरणमा भिन्न–भिन्न देशका कम्पनीहरूसँग छलफल भइरहेको बताइएको छ । आयोजना निर्माण सम्पन्न गर्न लगानी जुटाउने कार्य जारी छ । रुरु जलविद्युत परियोजनाले विदेशी कम्पनीसँग सहकार्य गरी दुई वटा आयोजनाका लागि लगानी सुनिश्चितता गर्ने भएको हो ।
चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजना नेपाली निर्माण कम्पनी रुरु परियोजनाले अघि बढाएको छ । सिचुवान वाङपिङ इनर्जीले करिब पाँच वर्ष पहिले विद्युत विकास विभागबाट एकै पटक दुई वटै आयोजनाको सर्वे अनुमति लिएको थियो । एकैचरणमा दुवै योजनाको सर्वे सुरु गरेको चिनियाँ कम्पनीले अध्ययनका काम सकिनै लाग्दा आयोजनाबाट हात झिकेको हो । कम्पनीले पूर्वअध्ययनका काम पूरा गरिसकेको थियो । अन्तिममा आयोजनामा लगानी गर्न नसकिने भन्दै कम्पनी पछि हटेको हो । लगानी धेरै लाग्ने र लाभ कम हुने देखेपछि चिनियाँ कम्पनीले हात झिकेको बताइएको छ ।
सिचुवान पछि हटेपछि अलपत्र परेका योजना निर्माणको काम अब रुरु जलविद्युत परियोजनाले गर्ने भएको छ । २०७९ चैत पहिलो सातादेखि सिचुवानबाट रुरु जलविद्युत परियोजनाले हुम्ला कर्णाली आयोजना ‘टेक ओभर’ गरेको हो । चिनियाँ कम्पनीसँगको आपसी सहकार्यमा आयोजना आफूले लिएको रुरु जलविद्युत परियोजना लिमिटेडले जनाएको छ । चिनियाँ कम्पनीले गरेको अध्ययनलाई नै आधार मानेर लिमिटेडले काम अघि बढाएको हो ।
चार स्थानीय तह प्रभावित
दुई वटै जलविद्युत आयोजना हुम्ला जिल्लामा निर्माण हुनेछन् । आयोजनाबाट चार पालिका प्रभावित हुनेछन् । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ लाई तल्लो परियोजनाको रूपमा नामाकरण गरिएको छ । उक्त आयोजनाबाट हुम्लाको सर्केगाड गाउँपालिका र मुगुको सोरु गाउँपालिकाका केही वडा प्रभावित हुने जनाइएको छ । यस्तै तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनालाई माथिल्लो परियोजनाको रूपमा नामाकरण गरिएको छ । उक्त आयोजनाबाट हुम्लाका दुई वटा गाउँपालिका प्रभावित हुनेछन् । सर्केगाड र खार्पुनाथ गाउँपालिकाका केही वडा आयोजनाबाट प्रभावित हुने परियोजनाले जनाएको छ ।
प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ०६:०६
साझा बिसौनी ।