अस्पताल भवन उद्घाटन
सुर्खेत: जिल्ला अस्पताल कालीकोटले सुविधा सम्पन्न भवन पाएको छ । लामो समयदेखि स–साना टिनका टहराबाट सेवा प्रवाह गर्दै आएको अस्पतालको सोमवार नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गरिएको हो । योसँगै टिनको टहराबाट सेवा दिनुपर्ने बाध्यता पनि हटेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सदरमुकाम मान्माका रहेको उक्त भवनको उद्घाटन गरेका हुन् । प्रदेश सरकारबाट झण्डै २६ करोड लागतका ५० शैड्ढयाको उक्त भवन बनेको हो । २०४७ मा हेल्थ सेन्टरको रूपमा स्थापना भएको अस्पताल पछि जिल्ला अस्पतालमा परिणत हुँदै अहिले ३० शैड्ढयाको सेवा दिइरहेको छ । अहिले नयाँ बनेको भवनले ५० शैड्ढयाको सेवा दिन सकिने छ ।
कालीकोट, अछाम र बाजुराका केही स्थानीय तहका गरी दुई लाखभन्दा बढी जनसंख्यालाई सेवा दिँदै आएको कालीकोट जिल्ला अस्पतालमा अहिले सिटी स्क्यान मेसिन भने छैन । युएसजी मेसिन पुरानो भइसकेको छ । जसले थ्रिडी र फोरडी अल्ट्रा साउण्ड नहुँदा जटिल सुत्केरीको अवस्था पत्ता लगाउन समस्या भएको अस्पतालका कर्मचारी बताउँछन् । तीन विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि अहिले यहाँ विशेषज्ञ डाक्टर छैनन् । चार जना मेडिकल अधिकृतसहित ४८ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रमुख डाक्टर भीष्म पोखरेलले बताए ।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन बनेको बताउँदै भवनले समृद्धि देखाए पनि यसको स्याहारसुसार र निरन्तरताका लागि मेहनत गर्नुपर्ने बताए ।
प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ०६:०१
साझा बिसौनी ।