नयाँ सहर आयोजना

भेरीगंगा नयाँ सहर आयोजना निर्माणका लागि ठाउँ–ठाउँमा पूर्वाधार निर्माण भइरहेका छन् । अहिले गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजनाअनुसार भेरीगंगा उपत्यकालाई नयाँ सहरको रूपमा अगाडि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारीरूपमा अगाडि बढ्न भने सकेको थिएन । आर्थिक वर्ष २०८०/०८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भएपनि काम भने ढिला मात्र सुरु भएको हो ।

आयोजनाका अनुसार अहिले धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । भेरीगंगा नगरपालिका वडा नं. १२ छिञ्चुमा हाटबजार निर्माण गरिएको छ । २०८० चैतमा ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । हाटबजार निर्माणका लागि एक करोडमा ठेक्का सम्झौता भएको थियो । छिञ्चुमा नै निर्माणाधीन कभर्ड हल निर्माणको पहिलो चरणको काम सकिएको छ । यसैगरी गुर्भाकोट नगरपालिका वडा नं. ८ खटाङ्गमा मन्दिर निर्माणको काम ८५ प्रतिशत सकिएको छ । भेरीगंगा नगरपालिका वडा नं. ६ मा कसेरा टोल र बसेरा टोल जोड्ने सडक निर्माणको काम पनि सकिएको छ । यसैगरी भेरीगंगा नगरपालिका वडा नं. १० बराहडाँडा मन्दिर पूर्वाधार निर्माणको काम सकिएको छ । बहुवर्षीय ठेक्कामार्फत् पूर्वाधार निर्माणको काम थालिएको हो । अहिले ठेक्का सम्झौता भइ काम अघि बढेको उनले जानकारी दिए । भेरीगंगा नयाँ सहर आयोजना र आरम्भ सुरज जेभी बर्दियासँग ठेक्का सम्झौता गरिएको हो । २०८१ साउन ४ गते देखि २०८२ पुषसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । दुई करोडमा भवन निर्माणका लागि सम्झौता गरिएको हो । अहिले भवन निर्माणको काम भइरहेको आयोजनाले जनाइएको छ ।

चालु आर्थिक वर्षमा तीन वटा ठूला योजना सञ्चालन हुने भएका छन् । जसमध्ये भवन निर्माणको ठेक्का सम्झौता भइ काम अघि बढेको छ भने दुई आयोजनाको निर्माण सम्झौताका लागि ठेक्का आह्वान गरिएको छ । कार्तिक १४ गते दुई वटा आयोजनाको ठेक्का आह्वान गरिएको हो । भेरीगंगा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । अबको दुई महिनामा ठेक्का सम्झौता गरेर काम अघि बढाइने आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः   ३० कार्तिक २०८१, शुक्रबार ०६:०३