नयाँ सहर आयोजना

पूर्वाधार निर्माण हुँदै

सुर्खेत: भेरीगंगा नयाँ सहर आयोजना निर्माणका लागि ठाउँ–ठाउँमा पूर्वाधार निर्माण भइरहेका छन् । अहिले गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो ।

सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजनाअनुसार भेरीगंगा उपत्यकालाई नयाँ सहरको रूपमा अगाडि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारीरूपमा अगाडि बढ्न भने सकेको थिएन । आर्थिक वर्ष २०८०/०८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भएपनि काम भने ढिला मात्र सुरु भएको हो ।

गुर्भाकोट नगरपालिका वडा नं. ८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरेर पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । आयोजनाका अनुसार अहिले धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । भेरीगंगा नगरपालिका वडा नं. १२ छिञ्चुमा हाटबजार निर्माण गरिएको छ । २०८० चैतमा ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । हाटबजार निर्माणका लागि एक करोडमा ठेक्का सम्झौता भएको थियो । छिञ्चुमा नै निर्माणाधीन कभर्ड हल निर्माणको पहिलो चरणको काम सकिएको छ । यसैगरी गुर्भाकोट नगरपालिका वडा नं. ८ खटाङ्गमा मन्दिर निर्माणको काम ८५ प्रतिशत सकिएको छ । भेरीगंगा नगरपालिका वडा नं. ६ मा कसेरा टोल र बसेरा टोल जोड्ने सडक निर्माणको काम पनि सकिएको छ ।

यसैगरी भेरीगंगा नगरपालिका वडा नं. १० बराहडाँडा मन्दिर पूर्वाधार निर्माणको काम सकिएको छ । बहुवर्षीय ठेक्कामार्फत् पूर्वाधार निर्माणको काम थालिएको हो । आयोजना प्रमुख काफ्लेले बसपार्क निर्माण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सहरी सडक निर्माणलगायतका कार्य भइरहेको जानकारी दिए ।

 

भवन निर्माणका लागि ठेक्का सम्झौता

भेरीगंगा नयाँ सहर आयोजनाको भवन निर्माणको काम सुरु भएको छ । ठेक्का सम्झौता गरेर भवन निर्माणको काम सुरु गरिएको हो । गुर्भाकोट नगरपालिका वडा नं. १२ मा आयोजनाको भवन निर्माण गर्न लागिएको छ ।

चालु आर्थिक वर्षबाट भवन निर्माणको काम सुरु गरिएको भेरीगंगा नयाँ सहर आयोजना प्रमुख हेमन्त काफ्लेले बताए । अहिले ठेक्का सम्झौता भइ काम अघि बढेको उनले जानकारी दिए । भेरीगंगा नयाँ सहर आयोजना र आरम्भ सुरज जेभी बर्दियासँग ठेक्का सम्झौता गरिएको हो । २०८१ साउन ४ गते देखि २०८२ पुषसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । दुई करोडमा भवन निर्माणका लागि सम्झौता गरिएको हो ।

अहिले भवन निर्माणको काम भइरहेको आयोजनाले जनाइएको छ । चालु आर्थिक वर्षमा तीन वटा ठूला योजना सञ्चालन हुने भएका छन् । जसमध्ये भवन निर्माणको ठेक्का सम्झौता भइ काम अघि बढेको छ भने दुई आयोजनाको निर्माण सम्झौताका लागि ठेक्का आह्वान गरिएको छ । कार्तिक १४ गते दुई वटा आयोजनाको ठेक्का आह्वान गरिएको हो । भेरीगंगा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरिएको आयोजना प्रमुख काफ्लेले बताए । उक्त योजना निर्माणका लागि चालु आर्थिक वर्षमा तीन/तीन करोड बजेट विनियोजन भएको उनले जानकारी दिए । अबको दुई महिनामा ठेक्का सम्झौता गरेर काम अघि बढाइने आयोजनाले जनाएको छ ।

 

गुरुयोजना निर्माणमा ढिलाइ

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना कार्यान्वयनमा ढिलाइ भएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा काम सुरु हुन सकेको थिएन भने यो वर्ष पनि बजेटको स्रोत सुनिश्चित हुन सकेको छैन । जसले गर्दा गुरुयोजना निर्माणको काम हुनसकेको छैन । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई जोड्नेगरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको यो वर्षदेखि काम सुरु गरिने आयोजनाका सूचना अधिकारी विना चाकतुले बताइन् ।

नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रहरूलाई समेटेर गुरुयोजनाको काम गर्नेछ । आर्थिक वर्ष २०८०/०८१ मा बजेटको स्रोत सुनिश्चितता हुनसकेको थिएन । चालु आर्थिक वर्ष २०८१÷०८२ मा गुरुयोजना निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । तर, तीन करोड ५० लाख बजेट स्रोत सुनिश्तिताको लागि पठाइएको सूचना अधिकारी चाकतुले बताइन् । उनले भनिन्, ‘गतवर्ष बजेटको स्रोत सुनिश्तिता नहुँदा काम हुन सकेन, यो वर्ष सुरुमै फाइल पठाएका छौँ ।’ आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार हुनेछ । त्यसपछि भने गुरुयोजनाअनुसार काम थालिने जनाइएको छ । यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसंख्या आदिको आधारमा सहरको गुरुयोजना एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको हो ।

प्रकाशित मितिः   २९ कार्तिक २०८१, बिहीबार ०६:०६