मानव संशाधन नीति
कर्णाली प्रदेश सरकारले कर्मचारीको क्षमता विकास गर्न मानव संशाधन नीति बनाउन लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर मानव संशाधन नीति बनाउन लागिएको हो । कर्मचारीमा ज्ञान, सीप, क्षमता र दक्षतामा अभिवृद्धि गरी धारणात्मक एवम् व्यावहारिक परिवर्तन ल्याउने सरकारको उद्देश्य छ । कर्मचारीमा विद्यमान कमीकमजोरीमा सुधार ल्याउँदै तालिमका अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई सुधार ल्याउनमा ठोस योगदान पु¥याउने उद्देश्यले नीति निर्माण गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । कर्मचारीको क्षमता विकास कमजोर हुँदा कर्मचारी भुत्ते बन्न गइ संगठनको समग्र उत्पादकत्वमा प्रतिकुल असर पर्दैगइरहेको अवस्थामा सरकारले कर्मचारीको क्षमता विकासका लागि नीति बनाउन लागेको हो ।
निजामती संगठन, सार्वजनिक संस्थान र अन्य सार्वजनिक निकायमा कार्यरत जनशक्तिका लागि तालिमका अवसर अत्यन्त न्यून रहेका छन् । तालिममा अत्यन्त न्यून बजेट विनियोजन हुने र उक्त बजेटलाई पनि खर्चका रूपमा मात्र लिने गरिँदा कर्मचारीको क्षमता विकास हुन सकेको छैन । उक्त विनियोजित बजेटलाई जनशक्ति विकासमा गरेको लगानीका रूपमा परिचालन गर्नका लागि नीति निर्माण गर्न लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले नयाँ अभ्यासको रूपमा मानव संशाधन नीति निर्माण गर्न लागेको हो । अहिले मानव संशाधन नीतिको खाका तयार गर्ने काम भइरहेको छ । कर्मचारीको ज्ञान, सीप, दक्षता र सोचाइमा सकारात्मक प्रभाव पारी समग्र संगठनको कार्यसम्पादनमा सुधार ल्याउन नीति निर्माण गर्न लागिएको हो । कर्मचारीलाई काम प्रति उत्प्रेरित गराउने उद्देश्य सरकारको छ । परिवर्तित समयअनुसारका ज्ञान, सीप, क्षमता कर्मचारीमा विकास गर्न आवश्यक रहेको भन्दै पौडेलले तालिमको अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई नयाँ नीति निर्माण गरेर सुधार गरिनेछ । उक्त नीतिमा कर्मचारीको क्षमता विकास गर्ने र जनप्रतिनिधिहरूलाई समेत केही मापदण्ड तोकिनेछ । सरकारले कर्मचारीमा क्षमताका विकासका कार्यक्रमलाई बढवा दिने लक्ष्य समेत राखेको छ ।
गत आर्थिक वर्षदेखि नै कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गर्न सुरु गरिसकेको छ । यो कार्यले सरुवा–बढुवा, पेन्सनलगायत कार्यमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ । पछिल्लो समय प्रदेश सरकारले कर्मचारीको वृत्ति विकास र क्षमता विकासका कार्यक्रममा समेत जोड दिएको छ । त्यसैका लागि मानव संशाधन नीति बनाउन लागिएको हो । कर्मचारीको अभाव झेल्दै आएको कर्णालीमा दक्ष जनशक्ति तयार गर्नु पनि उत्तिकै जरुरी छ । मानव संशाधन नीति र त्यसको कार्यान्वयनले कर्णालीमा दक्ष निजामति कर्मचारी तयार पारेर सरकारी सेवालाई प्रभावकारी बनाउन सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ ।
प्रकाशित मितिः ८ कार्तिक २०८१, बिहीबार ०६:०३
सम्पादकीय ।