पूर्वीय संस्कृतिमा स्वाभिमान र उत्तरदायित्व
-सुस्मी सापकोटा
व्यक्तिवाद वा स्वाभिमानको परिचय र सिद्धान्त
व्यक्तिवाद एक राजनीतिक तथा सामाजिक सिद्धान्त हो, जसले व्यक्तिगत स्वतन्त्रताको महŒवलाई प्राथमिकता दिन्छ । यसलाई स्वाभिमान भनेर पनि बुझ्न सकिन्छ । यस अवधारणाले नैतिक, स्वामित्व र पद्धतिगत व्यक्तिवाद जस्ता विभिन्न सिद्धान्तलाई समेट्छ– जसका आ–आफ्नै विशेषताहरू छन् । व्यक्तिवादी संस्कृति वा समाजमा कुनै पनि संगठित समूहभन्दा व्यक्तिलाई धेरै महŒव दिइन्छ जसकारण विशिष्टता, व्यक्तिगत महत्वाकांक्षा, स्वतन्त्रता, आत्मनिर्भरता र गोपनीयतालाई विशेष प्राथमिकता दिइएको पाइन्छ । अर्कोतर्फ, व्यक्तिगत स्वाभिमान र प्रतिष्ठा व्यक्तिवादको एउटा प्रमुख पक्ष हुनुका साथै आधारभूत नैतिक सिद्धान्त पनि हो ।
व्यक्तिवादका सिद्धान्तमा तीनवटा मूल तŒवहरू समावेश भएका छन् । पहिलो हो– आत्म–स्वायत्तता÷निर्भरता, दोस्रो– आत्म–जिम्मेवारी, र तेस्रो– विशिष्टता
यहाँ आत्म–स्वायत्तताको अर्थ आत्मनिर्भर भइ निर्णय गर्नु र निर्णय अनुसारको काम गर्न सक्नु हो। यस्तै आत्म–निर्भरताले आफैसँग भएका स्रोत, सीप र आफ्ना निर्णयमा निर्भर रहेर जीवनका चुनौतीहरूको सामना गर्ने क्षमतालाई जनाउँछ । यसले अप्ठ्यारो समयमा बाह्य सहयोगमा अत्याधिक निर्भर हुन नपर्ने गरी, आवश्यक आत्मविश्वास र कौशलको विकास गरे व्यक्तिले स्वतन्त्र रूपमा समस्याको समाधान गर्न सक्छ भन्ने विचार समावेश गर्छ । अर्कोतर्फ, आत्म–जिम्मेवारी आफ्ना कार्यहरूका लागि जवाफदेही हुनु र आफ्ना निर्णयका परिणामलाई स्वीकार गर्नुसँग सम्बन्धित छ । यसैगरी विशिष्टताले प्रत्येक व्यक्तिको आफ्नो पहिचान– व्यक्तिगत अनुभव, विश्वास र विशेषताहरूबाट निर्माण हुन्छ, जसले उनीहरूलाई कुनै समूहबाट फरक देखाउँछ भन्ने विचारलाई उजागर गर्छ ।
व्यक्तिवादी दर्शनशास्त्रले व्यक्तिलाई आफ्नो विशिष्टता अपनाउन प्रोत्साहन गर्नुका साथै समाजका मान्यता स्वीकार गर्नुपर्ने दबाबको प्रतिरोध गर्न सृजनशीलता, नवप्रवर्तन र व्यक्तित्व विकासलाई बढावा दिन्छ । यसले गर्दा व्यक्तिले आफ्ना भिन्नताहरूलाई अंगालेर नयाँ विचार र धारणाको अन्वेषण तथा आत्म–अभिव्यक्तिको विकास गर्न सक्छन् । अतः व्यक्तिवादले स्वतन्त्रता र आत्म–अभिव्यक्तिको आधार प्रदान गर्नुका साथै व्यक्तिगत अधिकार र समुदायको कल्याण बीच सही सन्तुलनका लागि निरन्तर छलफलको वातावरण तयार पार्छ ।
एशियाली समाजमा स्वाभिमान
एशियाली समाज सामूहिकतामा आधारित रहेता पनि प्राचीन संस्कृतिहरूमा व्यक्तिको प्रशंसा अस्तित्वमा रहेको पाइन्छ । पूर्वीय शास्त्रीय विद्धानहरूले समाजबाट अलग हुनुको निर्णयलाई महŒव दिँदै यसलाई व्यक्तिगत स्वतन्त्रता अभिव्यक्त गर्ने एक साधनको रूपमा व्याख्या गरेका छन् । जसलाई सन्यास (भ्चझष्तष्कm) भनेर चिनिने जीवनशैलीले प्रष्ट पार्छ ।
२१औँ शताब्दीसम्म आइपुग्दा युरोप र एशियाको साँस्कृतिक भिन्नता र अन्तरघुलनले दुवैखाले समाजमा व्यक्तिवादको अवधारणा भिन्नाभिन्नै तरिकाले विकसित भएको पाइन्छ । युरोपेली सँस्कृतिमा स्वतन्त्रता र आत्मनिर्भरता माथि जोड दिँदै व्यक्तिलाई स्वतन्त्र प्राणीको रूपमा हेर्ने गरिएको छ भने चिनियाँ सँस्कृतिमा व्यक्तिलाई पारिवारिक, सामाजिक, राजनीतिक, तथा ब्रह्माण्डीय सम्पूर्णताको अनिवार्य भाग मानिएको छ ।
हिन्दु साँस्कृतिक परम्परामा व्यक्तिवादलाई आत्म–साक्षात्कारको विस्तृत साधनाका रूपमा लिएको पाइन्छ । व्यक्तिगत स्वायत्तता र स्वतन्त्रतामा केन्द्रित पश्चिमी व्यक्तिवादी अवधारणा विपरित पूर्वीय हिन्दू दर्शनले व्यक्तिको आध्यात्मिक विकास र सामूहिक–सामाजिक सन्दर्भलाई प्राथमिकता दिन्छ । जहाँ व्यक्तिको अन्तिम लक्ष्य मोक्ष अर्थात् मुक्ति हो । जसले अहंकारको सीमाभन्दा परको गहिरो आत्म–चेतना र आत्म–पहिचानलाई बुझाउँछ । मुक्तिको अर्को अर्थ भनेको स्वतन्त्रता नै हो । अतः व्यक्तिवादको यस स्वरूपले आत्म–स्वतन्त्रता र ज्ञान प्राप्तिमा जोड दिएको छ । जुन निष्कृयतामा नभइ समाज र ब्रह्माण्डप्रति व्यक्तिको कर्तव्यसँगको सामन्जस्यमा हासिल गरिन्छ ।
हिन्दू धर्मशास्त्रहरूमा ब्रह्म र आत्माबीचको सम्बन्धलाई विशेष जोड दिइएको छ । ब्रह्म ईश्वरको आत्मा हो वा विश्वव्यापी शक्ति हो, जबकि आत्मा व्यक्ति हो, जुन ब्रह्मको अंश हो । मानव आत्मा वा व्यक्ति र ईश्वरीय आत्मा वा ब्रह्म बीचको यो सम्बन्धलाई हिन्दू ग्रन्थहरूमा विस्तारमा वर्णन गरिएको पाइन्छ । महŒवपूर्ण श्रुति ग्रन्थ उपनिषदमा परमेश्वर, परमात्मा–ब्रह्म तथा आत्मको स्वभाव र सम्बन्धका बारेमा दार्शनिक तथा ज्ञानवर्द्धक वर्णन दिइएको छ । यसलाई वेदको आध्यात्मिक पक्षको सहायक व्याख्याको रूपमा समेत मान्न सकिन्छ । उपनिषदहरूका अनुसार आत्मा एक व्यक्तिको वास्तविक सार हो जुन भौतिक शरीर र मनबाट अलग रहन्छ । आत्मा शाश्वत तथा अपरिवर्तनीय छ भने ब्रह्म परम वास्तविकता सँग समान छ ।
बृहदारण्यक उपनिषदमा आत्माको प्रकृति र ब्रह्माण्डसँग यसको सम्बन्धबारे चर्चा गरिएको छ। यसमा उल्लेख गरिएको, ‘अहम् ब्रह्मस्मि’ अर्थात् (म ब्रह्म हुँ) ले परम वास्तविकतासँग व्यक्तिगत आत्मको एकतालाई महत्व दिन्छ । यस्तै छान्दोग्य उपनिषदमा यसलाई ‘तत् त्वम् असि’ अर्थात् (त्यो तिमी हौ) भनिएको छ, जसले व्यक्तिगत आत्मा विश्वव्यापी सारबाट अलग छैन भन्ने कुरामा जोड दिन्छ । अतः हिन्दु धर्मग्रन्थमा उल्लेख भएको आत्मा र ब्रह्म बीचको सम्बन्धले आत्म–अनुभूतिको अवधारणाको माध्यमबाट व्यक्तिवादको सार झल्काउँछ। यही बुझाईले व्यक्तिहरूलाई उनीहरूको आन्तरिक मूल्य र व्यक्तित्व पहिचान गर्न सशक्त बनाउँछ । साथै उनीहरूलाई व्यक्तिगत सत्य खोज्न र बाह्य सामाजिक दवावविना नै आफ्नो अद्वितीय धर्म पूरा गर्न प्रोत्साहित गर्दछ।
यस्तै भगवद्गीताले पनि आत्म–अनुभूतिको अवधारणामार्फत् व्यक्तिवादका कुराहरू प्रतिविम्बित गरेको पाइन्छ । जसले व्यक्तिलाई आफ्नो कर्तव्य वा धर्म पूरा गर्न प्रोत्साहित गर्दछ र बाह्य उपलब्धि भन्दा भित्री आत्मामा ध्यान केन्द्रित गर्न आह्वान गर्छ । गीतामा कृष्णले अर्जुनलाई भौतिक शरीर र मनभन्दा परको आफ्नो वास्तविक व्यक्तित्वलाइ बुझ्न र आफ्नो धर्म अनुसार कार्य गर्न सल्लाह दिएको कुरालाई प्रधानताका साथ उल्लेख गरिएको छ ।
भगवद्गीताले आत्म–अनुभूति, व्यक्तिगत कर्तव्य (धर्म) र सत्य जीवनमा जोड दिएर व्यक्तिवादका सिद्धान्तहरूलाइ समेटेको छ। यसले व्यक्तिलाई उनीहरूको वास्तविक व्यक्तित्व (आत्मा) लाई बुझ्न प्रोत्साहित गर्दछ । अर्जुनलाई नतिजाहरूमा ध्यान नदिई आफ्नो धर्म अनुसार कार्य गर्न निर्देशन दिएर कृष्णले व्यक्तिगत जिम्मेवारी र नैतिक छनौटको महŒवलाई इङ्गित गरेका छन् । व्यक्तिले आफ्नो विशिष्टतालाई अँगाल्नुपर्छ र आफ्नो वास्तविक आत्मा प्रतिबिम्बित गर्ने छनौटहरू गर्नुपर्छ भन्ने कुरालाई गीताको सार मानिएको छ ।
यस्तै पतञ्जलीका योग सूत्रहरूले आत्म–अनुभूति र व्यक्तिगत आध्यात्मिक वृद्धिका व्यवहारिक रूपरेखा प्रदान गरेर व्यक्तिवादलाई समर्थन गर्छ । योग अभ्यासको प्राथमिक लक्ष्य मनलाई शान्त पार्नु हो, जसले व्यक्तिलाई मन र शरीरको उतार–चढावबाट अलग आफ्नो वास्तविक आत्म अनुभव गर्न अनुमति दिन्छ ।
यसले प्रत्येक व्यक्ति आफ्नै आध्यात्मिक यात्राको लागि जिम्मेवार छ भन्ने विचारलाई बढवा दिएको छ भन्न सकिन्छ । आत्म–अनुशासन, सजगता, र आत्म–निरीक्षणमा जोड दिएर, योग सूत्रहरूले व्यक्तिहरूलाई तिनीहरूको भित्री परिदृश्य पहिचान गर्न, उत्कृष्ट छनौटहरू गर्न र ज्ञानतर्फ आफ्नै मार्गहरू बनाउन प्रोत्साहित गर्छ ।
आधुनिक समाजमा व्यक्तिवाद वा स्वाभिमान
आधुनिक समाजको व्यक्तिवादले मानव स्वभावको दृष्टिकोण र राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक ढाँचाहरूमा आधारित व्यापक मूल्य प्रणालीलाई दर्शाउँछ । यसले सरकार वा अन्य सामूहिक संस्थाहरूबाट व्यक्तिहरूको जीवनमा न्यूनतम् हस्तक्षेप हुनुपर्छ भन्ने कुराको वकालत गर्दै, आत्मनिर्भरता, गोपनीयता, र आपसी सम्मानलाई प्राथमिकता दिन्छ ।
व्यक्तिवादी दृष्टिकोणले एउटा साधारण व्यक्तिलाई आफ्ना लक्ष्य निर्धारण गर्न र त्यसलाई हासिल गर्नका लागि अधिकतम स्वतन्त्रता र जिम्मेवारी दिनुपर्छ भन्ने कुराको तर्क गर्छ । व्यक्तिवाद अन्तर्गत सम्पत्ति प्रणालीले प्रत्येक व्यक्तिलाई आफ्नो इच्छाअनुसार सम्पत्ति हासिल गर्ने, व्यवस्थापन गर्ने र त्यसमाथि नियन्त्रण गर्ने सर्वोत्तम अवसर प्रदान गर्छ ।
यस दृष्टिकोणले विशेषगरी बजार पूँजीवादको उदयलाई प्रभाव पार्दै आर्थिक सिद्धान्तको निर्माणमा महŒवपूर्ण भूमिका खेल्छ। यसले स्वतन्त्र बजार प्रणालीको वकालत गर्छ, जहाँ व्यक्तिहरूलाई नवप्रवर्तन गर्ने, प्रतिस्पर्धा गर्ने र स्वायत्त प्रतिनिधिका रूपमा व्यवसायमा संलग्न हुने स्वतन्त्रता हुन्छ, जसले आर्थिक वृद्धि र समग्र समृद्धिलाई उत्प्रेरित गर्छ ।
नेपालको सन्दर्भमा व्यक्तिवादको अवधारणा नयाँ भएतापनि, यसका जरा भने परम्परागत सामूहिकतावादी मान्यताहरूसँग आपसमा गाँसिएका छन् । जहाँ मानिसहरूले प्रायः आफ्ना व्यक्तिगत इच्छाभन्दा परिवार वा समुदायका आवश्यकताहरूलाई प्राथमिकता दिएको पाइन्छ । यद्यपि, पछिल्ला वर्षहरूमा सामूहिकता भन्दा व्यक्तिवादिता प्रकट हुन थालेको छ । जसको मुख्य कारण भनेको विश्वव्यापी संस्कृतिहरूको अन्तरघुलन र आधुनिक शिक्षा प्रणाली मुख्य हुन् ।
अतः सामाजिक गतिशीलताहरू परिवर्तन हुँदै जाँदा, साँस्कृतिक मान्यताहरूको ध्यान व्यक्तिगत छनौट र व्यक्तिगत लक्ष्यहरूमा बढी केन्द्रित भइरहेका छन् । यस्तै परम्परागत मान्यतामाथि व्यक्तिवादको बढ्दो स्वीकृतिका कारण व्यक्तिगत आकाँक्षासँग मिलाएर निर्णय लिने मानिसहरूको संख्यासमेत बढ्दो छ ।
अन्त्यमा
नेपालमा बढ्दो व्यक्तिवाद विश्वव्यापीकरणले प्रेरित गरेको हो । जसले मुलुकमा पश्चिमी विचार र मान्यताहरूलाई प्रवेश गराएको छ । व्यक्तिवादको प्रभावले धेरैजसो नेपालीहरूलाई आफ्ना व्यक्तिगत लक्ष्य र आकाँक्षाहरूलाई प्राथमिकता दिन प्रेरित गरेको छ । यस परिवर्तनमा महŒवपूर्ण योगदान गर्ने थप तŒवहरू आर्थिक अवसर र शहरीकरण हुन् । वित्तीय स्वतन्त्रता खोज्दै र व्यक्तिगत सफलताको लागि प्रयास गर्दै गर्दा, मानिसहरू आफूलाई बढी नै प्राथमिकता दिन थालेका छन्, जसले व्यक्तिवादतर्फको व्यापक आन्दोलनलाई प्रतिबिम्बित गर्छ ।
(लेखक ऋति फाउन्डेसनमा अनुसन्धान अधिकृतको रूपमा कार्यरत छिन् ।)
प्रकाशित मितिः ८ कार्तिक २०८१, बिहीबार ०६:०४
सुस्मी सापकोटा ।