पर्यटन प्रवद्र्धन गर्न ताल निर्माण गरिँदै

 

 

सुर्खेत: पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवद्र्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिकाको वडा नं. ६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ ।

ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता गरी काम अघि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । १६ करोड ६७ लाखमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र एप्लाइट इन्जिनियरिङ प्रा.लि. ललितपुरबीच ठेक्का सम्झौता गरिएको हो । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरिएको हो । सम्झौताअनुसार २०८३ असार मसान्तसम्म बाँध तथा नहर निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य अनुरूप ताल निर्माणको काम थालिएको निर्देशनालयले जनाएको छ । जुम्ल्याहा मूल ताललाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित ताल निर्माण सुरु गरिएको निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले बताए । उनका अनुसार बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चार हेक्टर क्षेत्रमा ताल निर्माण गरिने उनले जानकारी दिए । त्यसमध्ये ३५ रोपनी जग्गा स्थानीयको छ । अहिले ३५ रोपनी जग्गा उपलब्ध गराउनका लागि पहल भइरहेको भट्टराईले बताए ।

जग्गा प्राप्तिका लागि गाउँपालिकाले समेत पहल थालेको छ । स्थानीयको ३५ रोपनी जग्गा ताल निर्माणका क्रममा प्रभावित हुने भएकाले उचित मुआब्जा उपलब्ध गराएर ताल निर्माण गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ताल निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । ताल निर्माणका लागि गाउँपालिकाले समन्वयको काम गरिरहेको उनको भनाइ छ । तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने अध्यक्ष विकले जानकारी दिए ।

लामो समयदेखि निर्माणको पखाईमा रहेको तालको खासै महŒव थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने विकले जानकारी दिए । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । अहिले निर्माणको काम थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत् आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ । अध्यक्ष विकले भने, ‘प्रदेश सरकारले ताल निर्माणको काम थालेको छ, पालिकाले समन्वयको काम गरिरहेको छ, पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य रहेको छ । अहिले स्थानीयको ३५ रोपनी जग्गा प्राप्तिको लागि पहल थालेका र्छाैं ।’

 

लिफ्ट सिँचाइ आयोजना अन्तिम चरण

ताल निर्माण योजना अन्तर्गत नै लिफ्ट सिँचाइ आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म लिफ्ट सिँचाइ निर्माणको ९७ प्रतिशत काम सकिएको ऊर्जा विकास निर्देशनालयले जनाएको छ ।

२०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको थियो । २०८२ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । निर्माणअवधि अगावै निर्माणको काम सम्पन्न हुने निर्देशक भट्टराईले बताए । तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ पू¥याउने लक्ष्य अनुरूप लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको छ । लिफ्ट सिँचाइ आयोजना अन्तिम चरण पुगेपछि त्यहाँका किसान हर्षीत भएका छन् । आयोजना निर्माणपछि व्यवसायिक तरकारी खेती गर्न कृषकलाई सहज हुनेछ । ६० मिटर उचाइबाट पानी खसालीनेछ । तीनवटा रिर्जव ट्यांकी निर्माण गरिनेछ ।

 

जलाशयको निर्माणमा जोड

कर्णाली प्रदेश सरकारले जल संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयहरूको निर्माणमा जोड दिएको छ । सिँचाइ सुविधा पु¥याउने तथा जल संरक्षण गर्ने उद्देश्य राखेर बहुउपयोगी जलाशयहरूको निर्माणमा सरकारले जोड दिएको हो । चालु आर्थिक वर्षमा बहुउपयोगी जलाशयहरूको निर्माणका लागि १७ करोड बजेट विनियोजन गरिएको छ । यो वर्ष सम्भावित जलाशयहरूको सम्भाव्यता अध्ययन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा चार÷पाँच वटा सम्भावित जलाशयहरूको सम्भाव्यता अध्ययन गरिने मन्त्रालयका सचिव नविनचन्द्र अधिकारीले बताए । प्रदेश सरकारले सिँचाइको सुविधा पुर्‍याउने, भावर क्षेत्रमा जमिनमुनिको पानी रिचार्ज गर्ने तथा जलपर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मितिः   ८ कार्तिक २०८१, बिहीबार ०६:०५