नगरपालिकाको सेवा अपाङ्गतामैत्री बनाउन सुझाव

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाको सेवा अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ । नगरपालिकाको योजना तर्जुमा, बजेट तथा कार्यक्रम निर्माण र कार्यान्वयनको प्रक्रियामा अपाङ्गता समावेशीताको अवस्थाका विषयमा गरिएको कार्यक्रमका सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।

नगरपालिकाले निर्माण गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गरिएको वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक प्रमुख निलकण्ठ खनालले बताए । नगरपालिको वार्षिक योजना तथा कार्यव्रmमहरू निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरूसँग छलफलसमेत गरिएको उनको भनाइ छ । अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि विभिन्न सिपमूलक कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरेको खनालले जानकारी दिए ।

नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरू सहज रूपमा प्रवाह गरिरहेको जनाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले सेवा प्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राख्ने गरिएको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सरला रेग्मीले पछिल्लो समय अपाङ्गताको सिफारिस लिनेको संख्या बढेको बताइन् । विभिन्न सेवा सुविधा प्रदान हुन थालेपछि पछिल्लो समय सिफारिस लिनेको संख्या बढेको उनको भनाइ छ ।

अहिले पनि अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सीमित पहुँच, विद्यालय पहुँचयुक्त नहुनु, शैक्षिक सामग्री नहुनु, रोजगारीबाट वञ्चित हुनु, पहुँचयुक्त संरचना नहुनु, दृष्टिविहीन प्रतिको गलत सामाजिक धारणा, गरिबी र आर्थिक चुनौतीहरू, अपर्याप्त कानुनजस्ता समस्याहरू रहेका कार्यक्रमका सहभागीहरूले बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई परोपकार र दयाको वस्तुको रूपमा नभइ सशक्तीकरण, लचिलोपन र उनीहरूको मानवअधिकारको रक्षाका लागि नगरपालिकाले सहज रूपमा सेवा दिनुपर्ने अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका झक्कप्रसाद पोखरेलले बताए । उनले भने, ‘नगरपालिकाले निर्माण गरेका कार्यक्रमबारे टोल–टोलमा सचेतना फैलाउन आवश्यक छ । सचेतनाको अभावका कारण अपाङ्गता भएका नागरिक सेवाबाट वञ्चित भइरहेको उनको भनाइ छन् ।’

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि सरकारले विभिन्न ऐन तथा कानुन बनाएको भएपनि उनीहरू यसबारे बेखर रहेको पाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अधिकार सुनिश्चितताका लागि नगरपालिकाले ल्याएका कानुन बारे बुझाउन आवश्यक रहेको सरोकारवालाको जोड छ ।

प्रकाशित मितिः   ८ कार्तिक २०८१, बिहीबार ०६:०२