गढीमा सार्वजनिक सुनुवाइ

सुर्खेत: वीरेन्द्रनगर–१४ गढीका स्थानीयले भोगिरहेको खानेपानी संकट र यसले निम्त्याएका बहुआयामिक असरहरूबारे सार्वजनिक सुनुवाइ गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) संसद् सहयोग परियोजनासँगको सहकार्यमा ऋति फाउण्डेसनले बुधवार गढीमा सार्वजनिक सुनुवाइ आयोजना गरेको हो ।

कार्यक्रममा वीरेन्द्रनगर–१४ का वडा अध्यक्ष देवबहादुर रोकायले निकै समय पहिलेदेखि गढी क्षेत्रमा पानीको चरम अभाव रहेको बताए । ‘यो क्षेत्र कुनै समय सुर्खेतको सदरमुकाम थियो तर अहिले यहाँका स्थानीय नागरिक पानी अभावको समस्याबाट आजित छन्’ उनले भने ।

गढीमा करिब ६ सय ४० घरधुरी छन्, तर अहिले दुई सय धाराहरूबाट पानी वितरण हुन्छ । ती धाराहरूमा पनि हप्तौंसम्म पानी नआउने समस्या छ । एक स्थानीयले भने, ‘हामीले १७ दिनसम्म लगातार पानीको आपूर्ति बन्द भएको समयसमेत भोगेका छौँ, जसले हाम्रो जनजीवनलाई निकै कठिन बनाएको छ । पानीको समस्या समाधानका लागि बजेटको कमी छ ।’

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सांसदहरूले स्थानीयस्तरमा पानीको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेलले स्थानीयहरूबाट आएका कुनै पनि मुद्दा प्रदेशसभामा उठाउन सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे । अर्का प्रदेशसभा सदस्य बिन्दमान विष्टले गढीको खानेपानीको समस्या समाधान गर्नुअघि अनुसन्धानको आवश्यकता रहेको बताए । उनले स्थानीय र वडा कार्यालयले नगरपालिकासँग समन्वय गरेर एक प्रतिनिधिमण्डल गठन गर्नुपर्ने सुझावसमेत दिए ।

वीरेन्द्रनगर–१४ गढीमा खानेपानीको अभावले होटल व्यवसाय र पशुपालनमा पारेको प्रभाव, बसाइँसराइ र स्थानीय अर्थतन्त्रमा परेको नकारात्मक असर नीति निर्माताहरूलाई जानकारी गराउने लक्ष्य सार्वजनिक सुनुवाइको थियो । पानीको व्यवस्थापन र समुचित उपयोगमा सुधार ल्याइ बसाइँसराइको समस्यालाई सम्बोधन गर्ने ठोस कदम चाल्नका लागि समुदाय, नीति निर्माताहरू र सरोकारवालाहरूबीच सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा ५० जना स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ८ कार्तिक २०८१, बिहीबार ०६:०१