सास्तीपूर्ण यात्रा

लगातारको वर्षात्सँगै अघिल्लो हप्ताको बाढी र पहिरोबाट देशभर ठूलो धनजनको क्षति भयो । धेरैले ज्यान गुमाए । देशभरका साना तथा ठूला सडकहरू क्षतिग्रत भए । अहिलेसम्म पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । दसैँको मुखमै परेको वर्षाका कारण देशका अधिकांश सडकहरू अवरुद्ध छन् । मुख्य राजमार्गहरू मर्मत सुधार गरेर सञ्चालनमा ल्याइए पनि ग्रामीण सडक अझै अवरुद्ध छन् । पूर्वाधार र जनशक्ति अभावका कारण स्थानीय तहले ग्रामीण सडकहरू मर्मत सुधार गर्न सकेका छैनन् । संघीय सरकारको ध्यान संघीय राजधानी काठमाडौं वरपरकै सडक मर्मतमा छ । प्रदेश सरकारले पनि दसैँ अघि नै सडक मर्मत सुधारका लागि प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । जसका कारण दसैँमा घर फर्कनका लागि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

एकातिर बाढी र पहिरोले क्षति पु¥याएका सकसपूर्ण सडक, र तिनै सडकमाथिको त्रासपूर्ण यात्राले यसपालि दसैँमा घर फर्कने सबैजसो यात्रुको यात्रा कष्टपूर्ण भइरहेको छ । कर्णाली प्रदेशमा विपदले ठूलो धनजनको क्षति नभएपनि सडकहरू भने भत्किएका छन् । स्थलगत यात्राका लागि कर्णाली करिडोरलाई समेत जोड्ने कर्णाली राजमार्ग मुगु, हुम्ला, जुम्ला र कालीकोटवासीको निर्विकल्प राजमार्ग हो । यही राजमार्ग हुँदै सुदूरपश्चिमको अछाम र बाजुरावासी पनि आवतजावत गर्दछन् । तर सात जिल्लालाई जोड्ने कर्णाली राजमार्ग यसपालिको दसैँतिहारमा समेत मर्मत सुधार भएको छैन । भदौको अन्तिम साता आएको बाढी र पहिरोले कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र कर्णाली करिडोरको खुलाल क्षेत्रमा पहिरोले नराम्रोसँग बिग्रिएको छ । दहीखोलामा पक्की पुल नै बगेपछि त्यहाँ झन् जोखिम छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रादेशिक कार्यालय सुर्खेतका अनुसार मुश्किलले आवात–जावत भएपनि यी तीन वटै क्षेत्रमा यात्रा सहज छैन । कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि बाजुराको पिलिचौरसम्म पनि सडक मर्मत सुधार भएको छैन । कतै पहिरो पन्छाउँदै त कतै एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याएको यो क्षेत्रमा पुल नहुँदा पिलिचौर खोला पार गर्न सकिने अवस्था छैन ।

कर्णाली करिडोरअन्र्तगत सल्लीसल्लादेखि खार्पुनाथसम्मको सडक ठाउँठाउँमा बाढी र पहिरोले क्षति पु¥याएको छ । कर्णालीको अर्काे मुख्य राजमार्ग भेरी करिडोर समेत मर्मत सुधार भएको छैन । डोल्पाको तल्लुबगरदेखि दुनैसम्मको खण्डमा कतै पहिरो त कतै खोलामा पुल नहुँदा सवारी सञ्चालनमा सहज छैन । मुख्य राजमार्गसुधार हुन नसक्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । यद्यपि, यात्रुको सहजताका लागि ठाउँठाउँमा सहायता कक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने प्रयास भने गरिएको छ ।

प्रकाशित मितिः   २२ आश्विन २०८१, मंगलवार ०८:५८