गिरीघाटमा नफर्कीएको खुसी

सुर्खेत: दसैँ, खुशीहरूको उत्सव हो । जसले वर्षाैंदेखि टाढा रहेको प्रियजन र आफन्तहरूसँग भेटघाट गर्ने अवसर जुराउँछ । रोजगारी र काम विशेषले सहर पसेका र परदेश गएकालाई गाउँघर फर्काइदिन्छ । राम्रो लगाउने र मिठोमसिनो खाने बहाना बनाइदिन्छ । यही खुसीयाली साट्न लिपपोत गरेर घरआँगन चिरिच्याट्ट पारिन्छ । मान्यजनबाट आर्शीवाद थापेर हाँसोखुसीका साथ दसैँलाई धुमधामसँग मनाइन्छ । तर बराहताल गाउँपालिका–२ गिरीघाटमा बस्दै आएका बाढीपीडित बस्तीमा भने एक दशक गुमेका खुसीहरू फर्किएका छैनन् । उनीहरूका लागि खुसीभन्दा बढी पीडा बनेर आउँछ, दसैँ ।

पहिले गिट्टी–बालुवा त अहिले दाउरा बिक्री गरेर जीवन निर्वाह गर्दै आएका बाढीपीडितलाई हरेक वर्ष दसैँ कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ । ‘दुई छाक टार्नै धौ–धौ छ, जे सकिन्छ त्यही खाएर दसैँ मनाउनुपार्ला’ बाढीपीडित लीला सारुमगर भन्छिन्, ‘केटाकेटीलाई मन बुझाउन भएपनि एक÷दुई केजी बोइलरको मासु किन्न पर्ला, अरु मिठो–मसिनो त सकिँदैन ।’

आर्थिक आम्दानीको स्रोत नभएका कारण यसपालिको दसैँ पनि पोहोर–परारजस्तै खल्लो हुने उनी बताउँछिन् । दाउरा बिक्री गरेर घरखर्च टार्दै आएकी उनले एक दशकदेखि खुसी मनले दसैँ मनाउन नपाएको दुखेसो सुनाइन् । ‘हामी त जे जस्तो भएपनि चित्त बुझाइहाल्छौँ, केटाकेटीको मन बुझाउन नसकिँदो रहेछ’ उनले भनिन्, ‘२०७१ को बाढीले जग्गा–जमिन मात्र बगाएन, हाम्रो खुसी पनि लुटेर लग्यो ।’ बालबच्चाका लागि नयाँ लुगा (कपडा) फेरिदिन र पेटभरी माछामासु खुवान नसक्दा दसैँ खल्लो हुने उनको अनुभव छ ।

गिट्टी–बालुवा बिक्री हुन छोड्नु र बढ्दो महँगीका कारण दसैँ–तिहारजस्ता ठूला चाडपर्वहरू खुसीका साथ मनाउन नसकिएको अर्का बाढीपीडित डिलसरा विष्ट बताउँछिन् । ‘पोहोरसम्म १४÷१५ सयमा एक कट्टा चामल पाइन्थ्यो, अहिले त्यही चामल दुई हजार÷बाइस सय पुग्यो’ उनले भनिन्, ‘माछामासु र मरसला त किन्नै नसकिने भयो, कसरी खुसी भएर चाडपर्व मनाउनु ?’ नुनतेलदेखि मरमसलाको भाउ बढेका कारण चाहिएजति किन्न र पेटभरी माछामासु खान नपाए चाडपर्व मनाए जस्तो नहुने उनी बताउँछिन् । ‘दाल–भात त सधैँ खाइन्छ, पाहुनालाई पेटभरी माछामासु दिनसके पो चाडपर्व मनाएजस्तो हुन्छ’ उनी थप्छिन्, ‘मीठोमसिनो किन्न सकिएन भनेर आफ्नो मन बुझाउन सकिन्छ तर वर्षदिनमा एक पटक आउने पाहुनालाई दालभात खुवाउनु प¥र्याे भने साह्रै पीडा हुन्छ ।’

बाढी गएको वर्ष (२०७१) जमरा राख्ने अन्नसमेत नपाएका पीडितले त्यसयता बढ्दै गएको आधुनिक संस्कृतिका कारण दसैँ र तिहारजस्ता चाडपर्वमा खुसीभन्दा पीडा थपिने बताउँछन् । ‘पहिले ठूलाबडाबाट टीका–जमरा र आशीर्वाद थापे पुग्थ्यो, अहिले त दसैँमा दक्षिणा (पैसा) पनि चाहिने भयोे’ पूर्णा विक भन्छिन्, ‘केही नहुने हाम्रा लागि त पैसा दिने र सुकिलोमुकिलो देखिनुपर्ने चलनले थप पीडा हुन्छ ।’

अरुलाई देखेर दसैँमा नयाँ लगाउनु र मिठो खानुपर्छ भन्ने बुझाइका कारण आफ्नो बालबालिकालाई मन बुझाउन गाह्रो पनि बाढी पीडितहरू बताउँछन् । ‘हामीलाई पुरानो भएपनि चल्छ, अरुले लगाएको देखेर बालबालिकाले नयाँ लुगा खोज्छन्’ अर्का बाढीपीडित भन्छिन्, ‘खुसी बोकेर आउने चाडपर्वहरू हाम्रा लागि पीडा (दुःख) बनेर आउँछ ।’

बली चढाउन नसक्दा थप पीडा

प्रियजन र साथीभाइसँग भेटघाट गराउने पर्व दसैँमा देवता खुसी बनाउन बली दिने प्रचलन छ । तर २०७१ सालको बाढीले घरबारविहीन बनेका केही पीडितले भने लामो समयदेखि दसैँमा देवी–देवतालाई बली चढाउन पाएका छैनन् । ‘बाढीपीडित भएदेखि फलफूल र कुखुरा मात्रै दिएको छु’ धार्मिक परम्परामा बढी विश्वास गर्ने धनबहादुर विकले भने, ‘घरबारविहीन भएदेखि ठूलो बली दिएर देवता खुसी बनाउन पाएको छैन ।’ दुई वर्षदेखि प्रेसरको रोगबाट थलिएका उनी देवता नै खुसी नभएर रोग लागेको हो कि भन्ने चिन्ता गर्छन् । देवतालाई खुसी बनाउने गरी ठूलो बली चढाउन नपाएकोमा उनलाई पछुतो छ । तर आफूले भ्याएसम्म देवतालाई खुसी बनाउन कहिलै कमी नगरेको उनी बताउँछन् । ‘आफ्नो भाग नपाएपछि देवता पनि त रिसाउँछन् होला ?’ उनले भने, ‘मैले सकेको गरेकै छु ।’ हिन्दु धर्मअनुसार दसैँमा बली चढाउनु पनि परम्परा बनेको छ ।

‘तत्काल केही गर्न सकिँदैन’

यता कर्णाली प्रदेश सरकारले भने गिरीघाटका पीडितको समस्या समाधानका लागि तत्काल केही गर्न नसक्ने बताएको छ । ‘बाढीपीडितको पुर्नस्थापनको काम प्रदेश सरकारले यसअघि नै टुँग्याइसकेको हो, गिरीघाटका पीडितहरूको लागि छुट्टै तत्काल केही गर्न सक्ने अवस्था छैन’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विवद् महाशाखा प्रमुख भलाराम पंगालीले भने, ‘घर बनाउन सरकारले प्रतिपरिवार तीन लाख रूपैयाँ दिइसकेको छ, अन्य ठाउँका पीडितहरू पुरानै थातथलोमा फर्किए, उहाँहरूले गिरीघाट छोड्न सक्नु भएको छैन, अब सरकारले पनि थप केही गर्न सक्दैन ।’

दस वर्षअघि बाढीले बगाएको जग्गा जमिन पुरानै अवस्थामा फर्किसक्दा पनि पीडितहरूले गिरीघाट छोड्न नमान्दा थप समस्या सिर्जना भएको उनी बताउँछन् ।

‘नियमानुसार जंगल क्षेत्रमा बसोबास गर्न मिल्दैन, बाढीको समयमा बस्नु भयो, अब त्यो ठाउँ छोड्नुपर्ने हुन्छ’ उनी भन्छन्, ‘उहाँहरूले गिरीघाट छोडेर पुरानै ठाउँमा फर्किए सबै समस्याको समाधान हुन्छ ।’ गिरीघाटका बाढीपीडिले भोग्दै आएको समस्याप्रति सरकार जानकार भएपनि तत्काल केही गर्न नसक्ने उनी बताउँछन् । पुरानै थातथलोमा नफर्किएर गिरीघाटका पीडितहरूले आफैले समस्यामाथि समस्या सिर्जना गरेको सरकारको बुझाइ छ ।

२०७१ साउन २८, २९ र ३० गते आएको बाढीबाट विस्थापितपछि अस्थायी शिविरमा बसेकामध्ये ६० घरधुरीले गिरीघाट छोडेका छैनन् । सुर्खेतकै भेरीगंगाको मसिनामा बस्दै आएका पीडितले पनि शिविर छोडेका छैनन् । तर अन्य क्षेत्रका प्राय पीडितहरू भने पुरानै थातथलोमा फर्किसकेका छन् ।

 

 

प्रकाशित मितिः   २२ आश्विन २०८१, मंगलवार ०८:५७