उद्योगमा ढिलाइ
पश्चिम सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग सञ्चालनका लागि इजाजत दिँदा सडक, विद्युतलगायतका सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । मुक्तिश्री इण्डष्ट्रिज प्रा.लि.ले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम सुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको डेढ दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् । खानी तथा भूगर्भ विभागले वि.सं. २०६६ मा चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्रीलाई इजाजत दिएको थियो । सिमेन्ट उद्योग बन्ने हल्ला चलेको डेढ दशक पुगेपनि काम नहुँदा नागरिकमा नैराश्यता उत्पन्न भएको छ । वर्षौं बितिसक्दा पनि कम्पनीले काम सुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ ।
कम्पनीले कार्यालय खोले पनि उसका प्रतिनिधि प्रायः बस्दैनन् । जसले गर्दा स्थानीयवासी आयोजनाले गति लिनेमा आशंका व्यक्त गर्दछन् । छनोट गरिसकेको जग्गा अधिग्रहण नगर्दा प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । खानी क्षेत्र चौकुने गाउँपालिका वडा नं. ६ अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कूल एक हजार एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार तीन सय ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । खानी विभागले उद्योग अनुमति पत्रको म्याद पटक–पटक थप्दै आएको छ । चौकुने गाउँपालिका वडा नं. ६ को वडा कार्यालयले समेत मुक्तिश्रीले चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । विभागले पहिलो पटक वि.सं. २०७४ मा लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि उच्च अदालत पाटनको आदेशमा पुनः नवीकरण गर्न विभाग बाध्य भएको थियो । कम्पनीले भने दसैँ–तिहार पछि जग्गा खरिदको काम सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ । अहिलेसम्म स्थानीयको एक सय रोपनी जग्गा खरिद गरिएको छ । विद्युत पुग्ने वित्तिकै काम सुरु गर्नेगरी तयारी भइरहेको दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार प्लान्ट सञ्चालन गर्न १४ मेगावाट विद्युत आवश्यक पर्दछ । खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखाना सञ्चालन गर्न करिब आठ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । कम्पनीले दैनिक एक हजार पाँच सयदेखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । तर इजाजत पाएको दशकौ पुगेको भएपनि कामको प्रगति भने शून्य छ । अहिले स्थानीय सरकार र नागरिक आक्रोशित बनेका छन् ।
प्रकाशित मितिः २० आश्विन २०८१, आईतवार ०५:०३
सम्पादकीय ।