जनहितकारीको साधारणसभा
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी साधारणसभा गरिएको हो । सभाको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आर्थिक कारोबार अभिलेखबाट मात्र नभइ विश्वासबाट पनि परिचालित हुने बताए । जनताको सहभागिताबाट विश्वासका आधारमा खोलिएका सहकारीले देशको अर्थतन्त्रमा समेत सहयोग पुगेको जनाए ।
सहकारीका सञ्चालकको विश्वासले मात्र सहकारी सञ्चालन हुन नसक्ने बताउँदै मुख्यमन्त्री कँडेलले शेयर सदस्यहरूलाई समेत विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिए । ‘जनहितकारी संस्था आजसम्म जुन गति र विश्वासका साथ अगाडि बढेको छ, यही गति र विश्वासलाई सधै कायम राख्नुपर्छ अनि मात्र यसले सहकारीको मूल्यमान्यताअनुसार काम गर्न सक्छ’ कँडेलले भने ।
यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बनाउने क्रममा सहकारी पनि अर्थतन्त्रको बलियो खम्बा हो भनेर समेटिएको जनाए । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारी स्वनियममा हिँड्ने भएकाले सहकारी आफै नियमन हुनुपर्नेमा जोड दिए ।
साधारणसभामा संस्थाका अध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा २०८१/०८२ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण तथा २०८१/०८२ को प्रस्तावित वार्षिक बजेटसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष योगीले २६ वर्षअघि स्थापना भएको जनहितकारी सहकारीले करिब ९५ करोड ६४ लाख ६७ हजार २७ रूपैयाँ बराबर कूल पुँजी बनाउन सफल भएको जानकारी दिए ।
प्रकाशित मितिः २० आश्विन २०८१, आईतवार ०५:०२
साझा बिसौनी ।