कर्णाली च्याम्पियन
सुर्खेत: नेपालमा पहिलो पटक आयोजना गरिएको महिला भलिबल फ्रेन्चाइज लिगको उपाधि कर्णाली एस्विसले जितेको छ । लिग चरणदेखि नै अपराजित गरेको कर्णालीले शनिवार भएको फाइनलमा ललितपुर क्विन्सलाई पराजित गर्दै ऐतिहासिक उपाधि हात पारेको हो ।
ललितपुरविरुद्धको पहिलो सेट २५–१७ अंकको अन्तरले कर्णालीले जित्यो । त्यसपछिको दोस्रो सेटमा पनि कर्णालीले उस्तै उत्कृष्ट प्रदर्शन गर्दै ललितपुरलाई २५–२० ले निराश बनायो । तेस्रो सेटमा पुगेर भने ललितपुरले उपाधि होडमा आफूलाई पुनरागमन गरायो । यो सेट कर्णाली १२–२५ ले पराजित हुन पुग्यो । ललितपुरले चौथो सेट पनि आफ्नो पक्षमा पार्न सफल भयो । यो सेटमा ललितपुर २५–१८ ले विजयी भयो ।
पाँचौँ सेटमा पुगेको फाइनल निकै रोमाञ्चक रह्यो । प्रतिस्पर्धात्मक अन्तिम सेटमा भने कर्णालीले १५–१३ को नतिजासहित उपाधि च्याम्पियन बन्न सफल भएको हो ।
कर्णालीले लिगमा खेलेकामध्ये निकै थोरै सेटमात्रै गुमाएको थियो । लिगको पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडमाथि जित हासिल गर्दै विजयी सुरुवात गरेको थियो । मधेशमाथि ३–१ को सेटमा जित हात पारेको कर्णालीले आफ्नो विजयी यात्रालाई दोस्रो खेलमा पनि जारी राख्यो ।
दोस्रो खेलमा उसले गण्डकी थन्डर्सविरुद्ध ३–२ सेटको जित निकाल्यो भने तेस्रो खेलमा अर्को बलियो टोली ललितपुर क्विन्समाथि ३–० को एकतर्फी नतिजा निकाल्यो । यसैगरी चौथो खेलमा चितवन शक्तिलाई ३–२ ले हराउँदै कर्णाली लिगको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको थियो । लिग चरणको अन्तिम खेलमा पनि कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ ले पराजित गरेको थियो ।
यसरी हरेक खेल जित्दै कर्णाली एसविसले एसियामै पहिलो पटक आयोजना भएको महिला भलिबल फ्रेन्चाइज लिगकोे ऐतिहासिक उपाधि नै उचाल्न सफल भएको छ ।
प्रकाशित मितिः २० आश्विन २०८१, आईतवार ०५:०४
साझा बिसौनी ।