चाडपर्वमा सुरक्षा

चाडपर्वको समयमा विभिन्न आपराधिक घटना तथा सडक दुर्घटनाहरू बढी हुने गर्दछन् । कर्णाली प्रदेशमा विगतमा हरेक वर्ष यस्ता घटना हुँदै आएका छन् । त्यसैले यसपटक दसैँ, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका दश वटै जिल्लामा लागू गर्नका लागि सुरक्षा योजना बनाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्वको बेला अन्य समयमा भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना तयार पारेको हो । सुरक्षा योजनाअन्तर्गत प्रदेशभर चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरिएको जनाइएको छ । त्यसका लागि सामान्य समयको भन्दा थप चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो ।

खासगरी दसैँ–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्नेगरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ । यस्तै यो समयमा भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ । यो अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनमा पनि जोड दिइएको हो । प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमा समेत रणनीति तयार पारेको छ । प्रदेशका दश वटै जिल्लामा गरेर चार हजार तीन सय ५१ प्रहरी जनशक्ति परिचालन गरिनेछ । उक्त जनशक्तिमध्ये चार हजार ९९ जना जनपद प्रहरीको जनशक्ति र दुई सय ५२ जना ट्राफिक जनशक्ति परिचालन गरिनेछ । यसैगरी यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउनका लागि ठाउँ–ठाउँमा चेकिङ्ग थप्ने, यात्रु सहायता कक्ष राख्ने, अनुगमनलाई कडाइ पारिने योजना रहेको प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रदेशका विभिन्न ठाउँमा चाडपर्व लक्षित २३ वटा यात्रु सहायता कक्ष राख्ने काम भइरहेको छ । ती कक्षहरूमा ६० जना ट्राफिक प्रहरी रहनेछन् । सात स्थानमा रि–फ्रेस सेण्टर राखिने छ । लामा दुरीका सवारी साधनहरू उक्त ठाउँमा रोकेर केही समय आराम गर्न पाउनेछन् ।

मादक पदार्थ सेवन, लागू औषध सेवनलगायतलाई निगरानी गर्न सम्भावित क्षेत्रहरूमा थप कडाइ गरिएको छ । यस्तै सडक दुर्घटना न्यूनीकरण गर्न सवारी साधनलाई टाइमकार्ड लागू गरिएको छ । यद्यपि, कर्णालीमा ट्राफिक जनशक्ति भने न्यून छ । जसका कारण रणनीतिअनुसार काम गर्न भने चुनौती हुने गरेको देखिन्छ । प्रदेशभर दुई सय ७४ जना मात्रै ट्राफिक प्रहरी छन् । कर्णालीमा एक सय ६८ जना ट्राफिकको मात्रै दरबन्दी रहेको छ । बाँकी काजमा खटाइएका हुन् । चाडपर्वलाई लक्षित गरेर अहिले २५ जनालाई काजमा थप गरिएको छ ।

प्रकाशित मितिः   १८ आश्विन २०८१, शुक्रबार ०५:०३