चौकुने सिमेन्ट उद्योग: १५ वर्षसम्म प्रगति शून्य
सुर्खेत: पश्चिम सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग सञ्चालनका लागि इजाजत दिँदा सडक, विद्युतलगायतका सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । मुक्तिश्री इण्डष्ट्रिज प्रा.लि.ले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम सुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको डेढ दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् ।
खानी तथा भूगर्भ विभागले वि.सं. २०६६ मा चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्रीलाई इजाजत दिएको थियो । सिमेन्ट उद्योग बन्ने हल्ला चलेको डेढ दशक पुगेपनि काम नहुँदा नागरिकमा नैराश्यता उत्पन्न भएको छ । बर्सेनिरूपमा जग्गा खरिद गर्ने गरेको भएपनि काम सुरु हुन नसकेको चौकुने गाउँपालिका वडा नं. ६ का स्थानीय जीवन देवकोटाले बताए । उनको घरमा आयोजनाको होडिङबोर्ड राखेको नै डेढ दशक पुग्यो । स्थानीयले गाउँ–ठाउँमा रोजगारी पाउने आशा गरेपनि आशा निराशामा परिणत भएको देवकोटाले बताए । उनले भने, ‘खानी सञ्चालन गर्ने चर्चा चलेको वर्षौं बित्यो, कुनैपनि काम सुरु भएको छैन । खानी होल्ड गर्ने काम भएको छ, रोजगारी पाउने आशा निराशामा बदलिएको छ ।’
वर्षौं बितिसक्दा पनि कम्पनीले काम सुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताए । गाउँपालिका र प्रदेश सरकारले खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेको छ । उनका अनुसार पन्ध्र वर्षसम्म प्रगति शून्य रहेको र पटक–पटक म्याद थपिरहँदा खानी होल्ड गर्ने नियत देखिएको छ । अध्यक्ष विकले भने, ‘बर्सेनि रूपमा तीन÷चार रोपनी जग्गा खरिद गर्ने, लाइसेन्स नविकरण गर्ने बाहेक काम हुन सकेको छैन, गाउँपालिकाले अहिले काम अघि बढाउन दबाब दिइरहेको छ ।’
गएको भदौ ११ मा अध्यक्ष खड्क विकले मुक्तिश्री इण्डष्ट्रिज कम्पनीलाई अलपत्र रहेको उद्योग सञ्चालन गर्ने–नगर्ने सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्र पठाइसकेको जानकारी दिए । पत्रमार्फत् उनले प्रस्तावित चौकुने सिमेन्ट उद्योगले विगत लामो समयदेखि निर्माण ठेक्का पाएको मुक्तिश्री प्रालिले हालसम्म पनि उद्योग सञ्चालन गर्न नसकेको र उद्योगलाई सञ्चालन नगर्ने नियतले अन्यौलतामा पारेको उल्लेख गरेका छन् ।
पालिकाका अध्यक्षले दिएको पत्रमा भनिएको छ, ‘इजाजत अनुमति पत्र पाएको डेढ दशक बित्दा पनि चुनढुङ्गा उत्खनन् कार्य नगरी पटक–पटक म्याद मात्र थप्दै आएको र खानी क्षेत्र चौकुने गाउँपालिका वडा नम्बर ६ कुवा, खोप्री, थरालगाउँ काफलगैरा, ओटपोखरी लगायतका क्षेत्रफलमा फैलिएको छ । यति ठूलो आयोजना सञ्चालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकरात्मक असर परेको कुरा जानकारी गराउन चाहन्छु ।’
खानी क्षेत्रका बासिन्दाले जग्गा अधिग्रहणतर्फ कम्पनीले चासो नदिएको बताएका छन् । कम्पनीले कार्यालय खोले पनि उसका प्रतिनिधि प्रायः बस्दैनन् । जसले गर्दा स्थानीयवासी आयोजनाले गति लिनेमा आशंका व्यक्त गर्दछन् । छनोट गरिसकेको जग्गा अधिग्रहण नगर्दा प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । खानी क्षेत्र चौकुने गाउँपालिका वडा नं. ६ अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कूल एक हजार एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार तीन सय ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । खानी विभागले उद्योग अनुमति पत्रको म्याद पटक–पटक थप्दै आएको छ ।
चौकुने गाउँपालिका वडा नं. ६ को वडा कार्यालयले समेत मुक्तिश्रीले चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । खानी सञ्चालनका काम अघि बढाउन मुक्तिश्री इण्डष्ट्रिज प्रालिलाई गएको भदौ १५ गते पत्र पठाइएको वडा अध्यक्ष गोविन्द्र थापाले बताए । सस्तोमा नागरिकको जग्गा खरिद गर्ने र लाइसेन्स नविकरण गर्ने तथा खानी होल्ड गर्ने काम कम्पनीले गरेको थापाले बताए । उनले २०७९ देखि लाइसेन्स नविकरण नगरिएको समेत जानकारी दिए ।
विभागले पहिलो पटक वि.सं. २०७४ मा लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि उच्च अदालत पाटनको आदेशमा पुनः नवीकरण गर्न विभाग बाध्य भएको थियो । कम्पनीका प्रोजेक्टको–अर्डिनेटर लोकबहादुर अधिकारीले दसैँ–तिहार पछि जग्गा खरिदको काम सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । अहिलेसम्म स्थानीयको एक सय रोपनी जग्गा खरिद गरिएको छ । विद्युत पुग्ने वित्तिकै काम सुरु गर्नेगरी तयारी भइरहेको अधिकारीको भनाइ छ । उनले भने, ‘विभिन्न कारणले काममा ढिलाइ भइरहेको छ, यो वर्ष जग्गा खरिद गरेर काम गर्ने योजनामा छौँ, अब उद्योगको काम अघि बढ्छ ।’
कम्पनीका अनुसार प्लान्ट सञ्चालन गर्न १४ मेगावाट विद्युत आवश्यक पर्दछ । खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखाना सञ्चालन गर्न करिब आठ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । कम्पनीले दैनिक एक हजार पाँच सयदेखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । तर इजाजत पाएको दशकौ पुगेको भएपनि कामको प्रगति भने शून्य छ । अहिले स्थानीय सरकार र नागरिक आक्रोशित बनेका छन् ।
प्रकाशित मितिः १८ आश्विन २०८१, शुक्रबार ०५:०५
साझा बिसौनी ।