वेवास्तामा परेको सडक

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । चालु आर्थिक वर्षमा प्रदेबश सरकारले सडक निर्माणको काम अघि बढाउन आठ करोड बजेट विनियोजन गरेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी भूरीगाँउ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आर्थिक वर्ष २०७६/२०७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भएपनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो ।

पहिलो खण्डको रूपमा मुलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो । दश किलोमिटर सडक निर्माणका लागि कामको सम्झौता गरिएको हो । आर्थिक वर्ष २०७६/०७७ बाट उक्त काम सुरु गरिएको हो । २०७६ पुस ९ गतेदेखि २०७८ फागुन ८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । दश करोड २६ लाख ६१ हजारमा पूर्वाधार विकास निर्देशनालय सुर्खेत र श्याम एण्ड शंकर कन्स्ट्रक्सन सुर्खेतसँग सम्झौता भइ काम अघि बढेको थियो । पुनः मुलपानी फलाटे रानीघाट सडक निर्माणका लागि २०७९ माघ १९ गते कविर काक्रे कन्स्ट्रक्सनसँग दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरियो । २०८० मंसिर १३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी कामको सम्झौता भएको हो । हालसम्म सात सय मिटर सडक कालोपत्रेको काम सकिएको छ । यो वर्ष रानीघाटसम्म कालोपत्रको काम अघि बढाइने छ । बजेट अनुसार पहिलो खण्डको काम समिएको छ भने यो वर्षका लागि बाँकी कामको सम्झौता गरिनेछ । दोस्रो सडक खण्डको रूपमा रानीघाट, तेलपानी भुरीगाँउ सडक निर्माणलाई अघि बढाइएको छ ।

चिठ्ठीपत्र पुर्‍याउन २०२५ सालमा जिल्ला पञ्चायतले हुलाकी सडकको ट्याक खोलेको थियो । हुलाकीहरूले त्यही बाटो भएर चिठ्ठीपत्र ओसार–पसार गर्थे । कर्णालीका सर्वसाधारणले बर्दिया पुग्न यही बाटो प्रयोग गर्थे । वर्षाको सिजनबाहेक उक्त सडकमा सार्वजनिक साना सवारी साधनबाट यात्रु बोक्ने गरिएको छ । तर, सडक विस्तार र मर्मत हुन नसकेका कारण वर्षा सिजनमा सवारी साधन बन्द हुने गरेका थिए । बर्दियाका लागि मात्रै होइन, सिँगो सुदूरपश्चिम प्रदेशका सर्वसाधारणलाई पनि कर्णाली पुग्न सबैभन्दा छोटो दूरीको बाटो यही हो ।

प्रकाशित मितिः   ३० भाद्र २०८१, आईतवार ०५:०३