भुलभुलैयामा देश

 

चुनावी परिणाममा कसैको पनि स्पष्ट बहुमत नआएको हुँदा जनमतबमोजिम कांग्रेस एमालेको संयुक्त सरकार बन्नुपर्नेमा सदाशयता राखेका थिए जनताले । पार्टीका स्वार्थगत चातुर्यले स्वीकार गर्ने कुरा थिएन, त्यसैले तेस्रो पार्टी हावी भएर सरकार निर्माण भयो । यहाँ पटकपटक समीकरण बदल्ने बानी परेको सरकारले जनअपेक्षित काम त के स्थिरता नै दिन सकिरहेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीबाट एमाले हैरान थियो भने नक्कली भुटानी शरणार्थी काण्डका नाइके बेचन झाको गोप्य गिरफ्तारीले कांग्रेसमा आतंक पसेको थियो । यही हैरानी र आतंकको समागत थियो असार १५ गते बालकोटको दहीचिउरा । यहाँ कतै पनि जनता जोडिदैनन् । राजनीतिको नेतृत्व बदल्न दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेका बीर्ष नेता शेरवहादुर देउवा र केपी शर्मा ओलीले प्रारम्भिक छलफलपछि १७ गते लिखित सहमति सम्पन्न गर्दा ठूलो खैलाबैला चलेको थियो । कसैले कल्पनासम्म गर्न नसकेको यो सहमतिपछि बालकोटको दही–चिउराले बाटो बदल्ने पक्का थियो । तब राजनीतिले कतै फलिफाप र कतै बिलाप गराउने पनि निश्चित थियो ।

परिवार र नातागोताको भरणपोषणमा राजनीति भजाइरहेका प्रचण्डलाई उनका समर्थक र बुद्धिविलासहरूले सबैभन्दा चतुर नेता भनेर रिझाउन काँधमा हालिरहेका थिए । वास्तवमा के हो त चातुर्यको प्रमाणीक मापदण्ड ? त्यसोभए के गिरिजाप्रसाद कोइरालालाई खलखल पसिना छुटाइदिने र देशको शासन व्यवस्था नै राजाको पाउमा चढाउने शेरवहादुर देउवा त्यस्तो बुद्धिविहीन हुन् ? विरोधीलाई बढार्ने र दुईपटकसम्म संसद विघटन गर्न पनि पटक्कै पछि नपर्ने केपी शर्मा ओली के अनजान हुन् ? कदाचित होइनन्, आफ्नो स्वार्थका लागि जे गर्न पनि कहिल्यै पछि नपर्ने चतुर चण्डाल छन् सबै । राजनीतिमा समय परिस्थिति अनुकूल हुने बित्तिकै काग भन्दा बाठो कोइली बन्छन् सबै । आफ्नो स्वार्थसिद्ध गर्नका लागि बठ्याइँ र चातुर्यले परिणाम दिन सकेन भने अनेकन स्टन्ट गरेर पनि समाज भ्रमित पार्ने दुस्साहस गरिरहन्छ राजनीति ।

‘काग भन्दा कोइली बाठो’ भन्ने उखान किन प्रचलित छ भन्ने बारेमा तथ्यगत चर्चा गरौं । कोइली चराले गुँड बनाउदैन, फुल पार्छ तर चल्ला कोरल्दैन भन्ने विषयमा सबै सबैलाई पूरापूर जानकारी नहुन पनि सक्छ । त्यसो भए कसरी चलिरहेको होला कोइलीको सृष्टिचक्र ! मनमा जिज्ञासा उठ्नु स्वाभाविकै हो । काग र कोइली आपसमा जन्मजातकै शत्रुवत पंक्षी हुन् । कागको गुँड भएको रुख वरिपरि कोइलीले निरन्तर अवलोकन गरिरहन्छ । गुँडमा फुल पारेको पक्का एकिन भएपछि नजिकै झ्वाम्म परेको रुखमा लुकेर कोइली कराउँछ कुहु कुहु कुहु । खतराको आभास भएपछि कागले त्यसलाई नास पार्न वरिपरि उडेर खोजी गर्छ । कोइली फेरि भुरुरु उडेर अर्को रुखमा लुक्छ । फुल ढाकेर गुँडमा बसेको पोथी काग पनि रिसले तिल्मिलाउँदै कोइलीलाई आक्रमण गर्न उड्छ । बथान कागले होहल्ला गर्दै कोइलीको खोजीमा जुट्छन् । कोइली अर्को रुखबाट फेरि अर्को रुखमा भाग्दैभाग्दै कागलाई धेरै टाढा लैजान्छ । यही मौका छोपेर पोथी कोइलीले कागको फुल खाइदिन्छ र आफ्नो फुल पारेर छोड्छ । त्यसरी अनिष्ट भैसकेको कागले चाल पाउनै सक्दैन । किनकि गुँडमा फुल जतिको त्यति नै छ । कोइलीको फुल कोरल्नु बचेरालाई चारो खुवाउनु र हुर्काउनु कागकै जिम्मेवारीमा आउँछ । हुर्केको कोइली जब आफ्नो ढंगले कराउन थाल्छ तब कागले चाल पाउँछ, तर त्यतिन्जेल वयस्क कोइली उडेर धेरै टाढा भागिसकेको हुन्छ । निचोड के भने काग बाठो त हो तर कोइली जति होइन । हिजो देउवालाई काग बनाएर प्रचण्डले कोइली बनि प्रधानमन्त्रीको पद फुत्काए, ओलीलाई काग बनाएर देउवाले पनि राष्ट्रपति पद आफ्नो घरमा ल्याए । भुलभुलैया गणतन्त्रमा पटकपटक काग र कोइली बन्ने चक्र चलिरहेको छ ।

गत असार १५ गते पछाडि नेपाली राजनीतिमा पनि काग र कोइलीको दृष्टान्तसँग करिब मिल्दोजुल्दो घटना घटित भएको देखिन्छ । कांग्रेसका सभापति शेरवहादुर देउवा पत्नीसहित त्यसदिन बालकोट पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दही–चिउरा खाँदै प्रचण्ड सरकारलाई भित्तामा पु¥याउने विषयमा लामो सरसल्लाह गरिरहे । देखल रूपमा धान दिवस मनाउन र अन्तर्यमा केही तुजुक देखाउन मात्र चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यस्तो अशुभ खबर सुनेर पसिना छुट्यो । यहाँ तुजुक भनेर किन टिप्पणी गरिएको हो भने विगतमा प्रचण्डले यस्तै ढंगको हर्कत निसंकोच रूपमा गरिरहेका दृष्टान्त छन् । २०८० साल पौष १० गते कार्यकाल वर्षदिन पुगेको सन्दर्भमा आफ्नो बखानका लागि जनतालाई सम्बोधन गर्दा आइन्दा उद्घाटन र शिलान्यासजस्ता सानातिना कुनै कार्यक्रममा पनि सरिक नहुने प्रतिबद्धता जाहेर गरे, तर त्यसकै भोलिपल्ट गोरखामा कुनै गाउँपालिका कि वडा तहको कार्यक्रमको निहुँ पारेर सम्धी भेटका लागि सेनाको हेलिकप्टर दुरूपयोग गर्दै कतै बारीको पाटामा अवतरण गराई हेलिकप्टरलाई पृष्ठमा राखी पारिवारिक फोटो खिचाएको घटना त्यति पुरानो भैसकेको छैन । हिजोको आफ्नै प्रतिबद्धतालाई आजै खण्डित गरेर प्रचण्डलाई यस्ता तुजुक गर्न र रमिता देखाउन कसैले भेट्दैन । धानदिवस मनाउन सरकारको प्रतिनिधित्व गर्नैपर्ने भए पनि कृषिमन्त्री जाँदा हुन्थ्यो । पद ओगटेका फुर्सदिला उपप्रधानमन्त्रीहरू पनि थिए तर प्रचण्डलाई नै नगइ नहुने थियो । बजेटमा नै प्रधानमन्त्री छोरी कार्यक्रम ल्याएका प्रचण्डले दायाँबायाँ आफ्ना छोरीहरूलाई लगाएर धान दिवस कार्यक्रममा सरकार र हर्ताकर्ता हामी नै हौँ भन्ने सन्देश दिनु मात्र होइन त्यहाँ परिवारको विरासत पनि देखाउनु थियो । लाचार कांग्रेस र एमालेलाई पालैपालो जोत्ने सामथ्र्य आफूसँग मात्र छ भन्ने भान पनि पार्नु थियो ।

कांग्रेस र एमाले मिल्न पनि सक्छन् भन्ने कुरा उनको सपना कल्पनामा थोपो छिटो कतै केही थिएन, तब त उनी पालैपालो कांग्रेस र एमालेको काँधमा मग्न उछलकुद गरिरहेका थिए । तपाईंबाट धोका पाएकाहरू यदि एकजुट भए भने के होला तपाईंको हालत ? त्यसो भनी कांग्रेसका कोही एकजना नेताले संसदमा उठाएको पुरानो प्रश्नले प्रचण्डलाई यतिखेर साँच्चै हायलकायल पा¥यो । आजसँगै दहीचिउरा खाएका देउवा र ओली भोलि सत्ता समीकरणका लागि सहमति गर्न अग्रसर भए भने आफ्नो हैसियत चकनाचुर हुने मात्र होइन सत्ताबाट पछारिने अवस्था पनि आउन सक्छ । आफ्नो सत्तामा घून पुत्ला केही नलाग्ने देखेर ढुक्क भइ चितवन पुगेका प्रचण्ड मनभरी तनाव बोकेर राजधानी फर्किएका थिए । जसरी पनि सत्ता थाम्नका लागि भोक तिर्खा नभनेर आफ्ना संयन्त्र र सुत्रहरू सक्रिय पारे । सम्भावित ठूलो संकटलाई रोक्न छेक्न बलबुद्धि लगाए, निकै खटे, दौडिए । विश्वस्त कुटनैतिज्ञलाई पनि प्रभावमा पारेर मद्दत मागे । भनसुन गरि छिमेकीको आशिर्वाद माग्न पनि कसैलाई रातारात दूत बनाइ सेवा पठाए । ओली र देउवालाई छुट्टाछुट्टै लोभ लालाच देखाए, फकाए । ओलीले पनि प्रचण्डलाई आश्वासन दिंदै थाङ्नामा सुताइदिए । आखिर १७ गते राति कांग्रेस एमाले बीचमा सात बुँदे सहमति भैसकेपछि छिट्टै प्रचण्ड सरकार ढल्ने निश्चित थियो, ढल्यो ।

प्रचण्ड सरकारले सत्ता लम्ब्याउने बाहेक सुधारका काम केही गर्न सकेन अब हामीले गजब गर्छौं भनी सात बुँदे सहमतिबाट आएको कांग्रेस र एमालेको गठबन्धन सरकारले पो के ग¥यो त भन्ने प्रश्न खडा भैरहेका छन् । सरकारको मूल्यांकन गर्ने समय पूरा भएको छैन भन्ने ढंगले पक्षपोषण गर्न त सकिएला तर यही समय कालमा सरकारले सत्ताको तुजुकमा हर्कत गर्न खोजेको देखिन्छ । जस्तै विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङमाथि कारबाही गर्न तम्सिए पनि वारपार टुंगो लाग्न सकेन । भ्रष्टाचार सम्बन्धि मुद्दामा पाँच वर्षे हदम्याद कायम गर्न खोज्दा जनता नै आन्दोलनमा उत्रनु प¥यो । देशले सह्राना गरेको काठमाडौका मेयर विरुद्ध वाकयुद्ध चल्यो, उच्च नेता उपस्थित जनमन्चमा राज्यको अराजकताबाट आजित युवाले नारा लगाउँदा खोजी खोजी कारबाही गरियो । आलोचना कतै सहन नसक्ने यो दुईतिहाइ सत्ताले प्राथमिकतामा जनतालाई केन्द्रित गर्न नसक्नु ठूलो विडम्बना नै हो ।

यतिखेर कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगी काण्डमा जोडिएका छन् भने आफ्नो लेटरप्याड नै प्रयोग गरेर केही मान्छेलाई अमेरिका लैजान उपसभामुख इन्दिरा रानाले अमेरिकी राजदूतावासलाई पत्र लेखेको भनी राजीनामा मागिएको छ । यो चर्चाले रास्वपाका सभापति रवि लामिछानेको विवादलाई समेत उछिनेको छ । रानाको सवालमा ‘पोहोर गइन् सासू, अहिले आए आँसु’ भन्ने उखान चरितार्थ हुन्छ । किनकि अप्रासंगिक समयमा यो मुद्दा फेरि ब्युँताउनु भनेको कारबाहीका लागि भन्दा पनि उपसभामुख पद दुईतिहाइको सरकारले खोस्न खोजेको कुरा प्रष्ट बुझ्न गाह्रो छैन । सहकारी ठगीमा गुरुङमाथि छानबिन भए पनि नभए पनि, उनी दोषी करार भए पनि नभए पनि मिडियामा बदनाम भए पनि नभए पनि जनताले छि छि र दूरदूर गरे पनि उनीमाथि कारबाही हुने सम्भावना देखिँदैन किनकि उनी ठूलो पार्टीका बलिया नेता हुन । ठूलाठूला काण्डमा जोडिए पनि भाग्यशाली नेताजीहरू फुक्काफाल भएर महŒवपूर्ण पद सम्हालेका घटना गणतन्त्रमा कति छन् कति ।

नेपालको राजनीतिलाई देउवा–ओली र प्रचण्डले एक दसकदेखि पालैपालो वरिपरि घुमाएर यहाँ राज्यशक्तिको निर्णायक भएका छन् । स्वार्थ मिल्दा सहकार्यमा चाटाचाट गर्न र स्वार्थ बाँझिदा एकार्कालाई नङ्याउँदै काटाकाट गर्न पटक्कै संकोच मान्दैनन् । स्वार्थबाट गनाउँदै निस्केको कुशासन र भ्रष्टाचार एकले अर्कोलाई बोकाइ आफू पानीमाथिको ओभानो देखिन खोज्छन् । सत्ता प्राप्तिका लागि मात्रै सीमा तोडेर राजनीति गरिरहेका छन् । यिनकै भुलभुलैयामा चलिरहेको छ देश । यसले दिनानुदिन जनतामा निराशा बढाइरहेको छ भने आक्रोश पनि चुलिदै गएको छ । चित्त सफा हुने हो भने दुईतिहाइको सरकारलाई जनपक्षीय काम कारबाही गर्न कतै बाधा अड्चन देखिँदैन । सत्ताधारीले वाक्क र दिक्क लाग्ने भाषणबाजीमा समय खर्च गर्नु र विवादित गतिविधिमा तुजुक देखाउनु भन्दा जनमुखी काममा मात्रै ध्यान दिएर सत्ताशक्तिको सदुपयोग गरे देशमा व्याप्त निराशा चिरिदै जाने देखिन्छ ।

 

-उमालाल आचार्य

प्रकाशित मितिः   ३० भाद्र २०८१, आईतवार ०५:०४