चट्याङको क्षति
कर्णाली प्रदेशभर विगत चार वर्षमा चट्याङ लागेर २२ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको चार वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष चट्याङका घटना बढिरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ६ जनाको मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा तीन जनाको मृत्यु भयो भने आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको मृत्यु भयो । चालु आर्थिक वर्षको हालसम्ममा चट्याङ परेर एक जनाको ज्यान गएको छ । प्रदेशमा मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।
कर्णालीका अन्य जिल्लाभन्दा दैलेखमा चट्याङका घटना धेरै हुने गरेका छन् । जसबाट मानवीय र धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्रै दैलेखको महावु गाउँपालिकामा चट्याङ परेर दुई जनाले ज्यान गुमाए भने ५० जनाभन्दा बढी घाइते भएका थिए । २०८० भदौ २८ मा महावु–१ खरिगैरामा चट्याङ पर्दा एक जनाको मृत्यु भयो । ४२ वर्षीय भुमिसरा खत्रीको मृत्यु भएको हो । त्यसैगरी २०८० असोज १ गते चट्याङ लागेर महावु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको मृत्यु भएको थियो । यो पालिकामा मात्र गत वर्षमा दुई जनाले चट्याङबाट ज्यान गुमाउनुप¥यो । बर्सेनि चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि महावु गाउँपालिकाका बासिन्दा त्रसित हुने गरेका छन् । हरेक वर्ष चट्याङका कारण मानिसहरूले ज्यान गुमाउनु परिरहेको छ । चट्याङबाट बच्ने कुनै उपाय नभएपछि गाउँलेहरू मेघगर्जन सुरू हुनासाथ घरभित्र बस्ने गरेका छन् ।
चट्याङबाट बर्सेनि क्षति हुने गरे पनि किन चट्याङ पर्छ र कसरी जोगिने भन्नेबारे स्थानीयलाई थाहा छैन । न त कसैले यसबारे उनीहरूलाई सम्झाएको छ । यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेकोे छ । चट्याङले बर्सेनि क्षति पु¥याउने गरेको भएपनि तीन तहकै सरकारले चट्याङसम्बन्धी कुनैपनि चासो दिएको पाइदैन । फाट्टफुट्ट प्रदेशभरीबाटै यसरी आएका क्षति विवरण एक ठाउँमा राख्ने हो भने, चट्याङ विपद् निकै भयावह छ । यसले पु¥याउने क्षति अन्य विपद्को भन्दा कम छैन । तैपनि तुलनात्मक रूपमा चट्याङको पूर्वतयारी र सुरक्षाका विधिलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन । चट्याङ्जस्तो ज्यानमारा विपद्बारे जनचेतना अभिवृद्धि गर्नेदेखि त्यसबाट प्रभावित नागरिकहरूलाई उचित राहत दिनेतर्फ पनि ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः १२ भाद्र २०८१, बुधबार ०५:०३
सम्पादकीय ।