जोखिममा भूकम्पपीडित

आइतवार राति जाजरकोटको नलगाड नगरपालिकामा पहिरो गयो । पहिरोले वडा नं. २ को माझगाउँका लालबहादुर परियारको अस्थायी टहरा पुरियो । अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । उनीहरू गत वर्ष गएको भूकम्पका कारण विस्थापित भएर अस्थायी टहरामा बस्दै आएका थिए । लालबहादुरको परिवारमा भएको यो घटनासँगै अस्थायी टहरामा बसिरहेका भूकम्पपीडितहरू त्रसित बनेका छन् । अधिकांश भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छन् । शनिवारदेखिको निरन्तर वर्षाको कारण भूकम्प प्रभावितका टहरा पहिरोको जोखिममा परेका हुन् । गत वर्षको कार्तिक १७ गतेको भूकम्पका कारण घर क्षति भएपछि यहाँका नागरिक अस्थायी आवासका लागि बनाएका टहरामा बस्दै आएका छन् । तिनै टहराहरू पहिरोको जोखिममा परेपछि मानवीय तथा अन्य क्षतिको त्रास बढेको हो ।

मनसुन सुरु भएदेखि नै विपद्को जोखिम बढेको छ । गत जेठ २८ गतेदेखि सुरु भएको यो वर्षको मनसुनमा कर्णालीमा तीन सय ७४ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५८ जना घाइते भएका छन् । एक सय ६९ परिवारका नौ सय १४ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विस्थापितपछि एक सय ५४ घरधुरीका आठ सय ३८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण पनि गरिएको छ । विपद्का कारण दुई सय ५६ पशुचौपाया मरेका छन् भने ५३ घाइते र ७५ चौपाया बेपत्ता रहेका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए ।

त्यसो त कर्णाली भूकम्पबाट पनि उत्तिकै जोखिममा छ । कर्णालीमा आर्थिक वर्ष २०८०/०८१ मा ठूलो विपद् आइपर्‍यो । धेरैले ज्यान गुमाए भने बाँचेकाहरू पनि पालमुनीको अस्थायी शिविरमा छन् । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ७२ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो । उनीहरूको पुनस्र्थापना हुन सकिरहेको छैन । जसका कारण अस्थायी शिविरमा रहेका भूकम्पपीडित यतिबेला बाढी र पहिरोसहितका विपदको जोखिममा परेका छन् ।

प्रकाशित मितिः   ५ भाद्र २०८१, बुधबार ०५:०३