प्रदेश सरकारबाट १६ जना पुरस्कृत
सुर्खेत: कर्णाली प्रदेश सरकारले पत्रकार र निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ । प्रदेश सस्थापना दिवसका अवसरका मंगलवार तीन जना पत्रकार र १३ जना निजामती कर्मचारीलाई पुरस्कृत गरिएको हो ।
निजामती सेवा सर्वोत्कृष्ट पुरस्कार कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्कालाई प्रदान गरिएको छ । खड्कालाई नगद एक लाख राशीसहितको पुरस्कार दिइएको हो । निजामती सेवा उत्कृष्ट पुरस्कारतर्फ डा. रविन खड्का र शिखर चपाई पुरस्कृत भएका छन् । खड्का स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक हुन् भने चपाई भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख हुन् । उनीहरू दुवै जनालाई ७५/७५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
यसबाहेक यसवर्षको प्रदेश निजामती सेवा पुरस्कारबाट दश जना कर्मचारी पुरस्कृत भएका छन् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत खगेन्द्र खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका ललित थापा, शिक्षा विकास निर्देशनालय सुर्खेतका दिपा हमाल, प्रदेश लोकसेवा आयोगका प्रेमप्रकाश आचार्य, मुख्यमन्त्री कार्यालयका युवाराज न्यौपानेले प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, जिल्ला उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख नृपजंग शाही, जलस्रोत तथा सिँचाइ विकास कार्यालय डोल्पाका इन्जिनियर टेक हितान, कृषि विकास कार्यालय हुम्लाकी कृषि विकास अधिकृत सम्पत्ती बुढा, सिँचाइ विकास कार्यालय सल्यानका प्रमुख ज्वालाराज शाही र डिभिजन वन कार्यालय रुकुमपश्चिमका शेरबहादुर परियार पनि प्रदेश निजामती सेवा पुरस्काबाट पुरस्कृत भएका हुन् । उनीहरूलाई ५०/५० हजार नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० बाट सुर्खेतका पत्रकार यज्ञ खत्री, जाजरकोटका राजेन्द्र कार्की र कालीकोटका तुलराज पाण्डे पुरस्कृत भएका छन् । उनीहरूले पनि जनही ५० हजार नगद पुरस्कार पाएका हुन् ।
यसैबीच मंगलवार नै प्रदेश स्थापना तथा सहिद दिवस मनाइएको छ । वीरेन्द्रनगरमा प्रभातफेरीसहित एक समारोहको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङसहितको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।