आन्तरिक तयारीमा कमजोर

आगामी मंसिरमा कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि आवश्यक तयारी भइरहेको छ । पूर्वाधार निर्माणका काम धमाधम चलिरहेका छन् । सुर्खेतमा प्रादेशिक रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरेर काम अघि बढाइएको छ । अन्य जिल्लाहरूमा पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार विकास भइरहेको छ । पूर्वाधार विकासलाई प्राथमिकतामा राखे पनि अन्य तयारीमा भने कर्णाली सुस्त देखिन्छ । कतिसम्म भने आन्तरिक तयारीका लागि बजेट अपुग हुने भएको छ । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा तयारीका लागि बजेट अपुग हुने भएको हो ।

चालु आर्थिक वर्षका लागि १६ करोड बजेट माग गरिएको भएपनि प्रदेश सरकारले दुई करोड ५६ लाख मात्र बजेट विनियोजन गरेको छ । उक्त बजेटले जिल्ला–जिल्लामा पूर्व तयारीका खेल खेलाउन बजेट अपुग हुने देखिन्छ । यस्तै, संघीय सरकारले दशाँै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि यो वर्ष ६० करोड बजेट विनियोजन गरेको छ । संघीय सरकारले प्रतियोगिता आयोजनाका लागि बजेट छुट्याएको हो । तर गृहप्रदेशमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी गर्न भने बजेट कम भएको हो । बजेट अपुग भएपछि प्रदेश सरकारले थप स्रोत जुटाउन पहल भने थाल्ने भएको छ । प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिताका लागि आवश्यक बजेटको पहल गर्ने बताएका छन् । केहीदिन अघि मात्रै पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारसँग सहकार्य गरेर आवश्यक बजेट उपलब्ध गराउने गरी उनले पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका गौरवको विषय हो । यसले यहाँको खेलकुद विकासमा महत्वपूर्ण सघाउ पु¥याउनेछ । खेलपूर्वाधारमा निकै कमजोर कर्णालीमा अहिले यही प्रतियोगिताका लागि पूर्वाधार तयार भइरहेका छन् । यो आफैमा उपलब्धि हो । साथसाथै अन्य सम्भावनाहरूको समेत ढोका खोल्नेछ । खेलपूर्वाधार निर्माणका लागि त यो अवसर हो तर कर्णाली प्रदेशले प्रतियोगितामा आफ्नो उपस्थिति र सहभागितालाई पनि बलियो बनाउनुपर्ने छ । आयोजक प्रदेश प्रतियोगितामा हुने विभिन्न खेलहरूमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्दछ । प्रतिस्पर्धामा कमजोर हुँदा त्यसले सकारात्मक सन्देश दिँदैन । त्यसैले पूर्वाधार निर्माणका साथसाथै खेलाडीहरूको प्रशिक्षण, क्षमता अभिवृद्धिसहितका आन्तरिक तयारीमा पनि उत्तिकै ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मितिः   २७ श्रावण २०८१, आईतवार ०५:०३