दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता: अब एकसय दिन बाँकी

 

सुर्खेत: दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरुवात हुन अब एक सय दिन बाँकी छ । प्रतियोगिता नजिकिँदै जाँदा तयारीलाई पनि तीव्र पारिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले समयमै प्रतियोगिता सञ्चालन गर्नेगरी तयारी अघि बढाएको हो ।

पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । सञ्ज्यालले भने, ‘समय कम छ, गर्नुपर्ने पूर्वाधारका काम धेरै नै छन् ।’ २४ वटा खेल खेलाउनका लागि पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।

यस्तै, प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समयलाई मध्येनजर गरेर काम अघि बढाउन निर्देशन दिएका छन् । कुनैपनि हालतमा तोकिएकै मितिमा दशाैँ राष्ट्रिय प्रतियोगिता हुने उनको भनाइ छ । ‘हामीसँग समय कम छ,’ मन्त्री भण्डारीले भने, ‘अब हामीले प्रतियोगिताको तयारीमा केन्द्रित हुनु पर्छ ।’ प्रदेश सरकारले थप स्रोत जुटाउन पहल थाल्ने समेत मन्त्री भण्डारीले बताए । संघीय सरकारसँग सहकार्य गरेर आवश्यक बजेट उपलब्ध गराउन पहल थालिने उनले जनाए ।

यसैबीच दशौँ राष्ट्रिय खेलकुदका लागि गीत तयार गरिएको छ । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पणले लेखेका हुन् भने संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ ।

दशाँै राष्ट्रिय खेलकुद आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष–महिला हक्की र तेक्वान्दो खेललाई दशाँै राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने तयारी भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

 

प्रकाशित मितिः   २७ श्रावण २०८१, आईतवार ०५:०२