अबको गुणस्तरीय शिक्षा कस्तो ?

विगतमा जस्तै यसवर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । कक्षा १० को परीक्षाफल प्रकाशित भएसँगै अहिले बजारमा गुणस्तरीय शिक्षाको बजारशास्त्र चल्तीमा छ । अनि विद्यालय शिक्षामा परिणत उच्च माध्यमिक तह पढाउने विद्यालयहरूमा नयाँ विद्यार्थी भर्नाको चटारो त छ नै, बजारमा आफूलाई अब्बल र गुणस्तरीय देखाउने होडबाजी पनि जबरजस्त छ ।

कोही–कसैले पनि विकास र समृद्धिको सपना देख्छ भने उक्त देशको नेतृत्वकर्ताको ध्यान पहिला शिक्षा क्षेत्रमा दिन जरुरी देखिन्छ । शिक्षा नै विकासको मेरुदण्ड हो र कुनै पनि देश कति विकसित छ भन्ने कुरा पहिल्याउन त्यस देशको शिक्षा प्रणाली कस्तो छ ? उक्त शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति कति सवल, सक्षम र गुणस्तरीय छ भन्ने कुरा हेर्न जरुरी हुन्छ । शिक्षा क्षेत्रलाई बेवस्ता गर्र्ने र समृद्धिको सपना देख्ने सरकारकोे औचित्य कति हदसम्म सही छ ? सहजै अनुमान लगाउन सकिन्छ ।

राज्यले शिक्षाका कमी कमजोरीको गीत गाएर मात्र हुँदैन । कस्तो शिक्षा बनाउने भन्ने कुरा राज्यको दृष्टिकोणमा हुन आवश्यक हुन्छ । शिक्षाको नीति निर्माणमा कहाँ सुधार गर्नुपर्दछ ? पाठ्यक्रम र पाठ्यपुस्तकहरूको निर्माण गर्दा शिक्षालाई कसरी जीवन उपयोगी, वैज्ञानिक तथा व्यावहारिक बनाउन सकिन्छ ? विद्यालयका शिक्षकदेखि विश्वविद्यालयका प्राध्यापकहरूको पेसागत क्षमता, कार्यान्वयनको पक्ष कस्तो छ ? किन शिक्षालयहरू कमजोर भए ? देशको युवा शक्ति नै किन कमजोर देखिन्छ ? सरकारी शिक्षालयहरूलाई माथि उकास्न राज्यको भूमिका के हुने ? शिक्षकहरूले शिक्षण सिकाइ किन प्रभावकारी बनाउन सकेनन् ? शिक्षकहरूलाई नियमन गर्ने राज्यका निकायहरू कहाँ चुके ? भन्ने विषयहरूमा राज्यले जिम्मेवार भएर काम गर्र्ने आवश्यक देखिन्छ ।

सघं, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचनामा, त्यसमाथि माध्यमिक तहसम्म स्थानीय सरकार मातहत भएको व्यवस्था हाम्रो सार्वजनिक शिक्षा सुधार गर्ने उत्तम अवसर बनेर आएको छ । अब मात्र खाँचो छ उक्त अवसरलाई समात्न सक्ने राजनितिक नेतृत्वको सोच र त्यो सोच अनुसार कार्यान्वयन गर्नु नै शिक्षा सुधारको नयाँ रूप देख्न सकिन्छ । तर हाम्रो देशको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कदै छ । यसका बारेमा प्रमाण खोज्न धेरै टाढा जानु पर्दैन । कक्षा १० को हरेक वर्षको नतिजा विश्लेषण गर्ने हो भन्ने पनि पर्याप्त आधार फेला पार्ने सकिन्छ ।

२०७१ को एसएलसी (हालको एसईई) मा सहभागी पाँच लाख ४१ हजार तीन सय ८९ परीक्षार्थीमध्ये तीन लाख ४९ हजार एक सय २२ विद्यार्थी अनुत्तीर्ण भएका थिए, जसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या दुई लाख ४८ हजार सात सय ८० थियो । कुनै एक विषयमा मात्रै पनि ३२ नम्बर नल्याएको खण्डमा त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न पाउँदैन्थ्यो । त्यस्तै, २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा देशभरबाट चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी सहभागी भएका थिए । असारको १३ गते सार्वजनिक भएको नतिजामा दुई लाख ४२ हजार तीन सय १३ जना अर्थात् ५२.१४ प्रतिशत विद्यार्थीको नतिजामा ‘एनजी’ आएको थियो । नौ वर्षपछिको झण्डै उस्तै परीक्षा प्रणालीमा सामुदायिक विद्यालयको नतिजा झन् खस्किएको छ । एसईईको यो नतिजाले राज्यको सार्वजनिक शिक्षा सुधारका क्षेत्रमा भइरहेको ठूलो धनराशी खेर गइरहेको मात्रै देखाउँदैन, समग्र नेपालमा सामुदायिक विद्यालयले दिने शिक्षा प्रणालीको गुणस्तर नै तीव्र गतिमा खस्किँदै गएको पुष्टि गर्छ ।

गुणस्तरीय शिक्षा भनेको समानता, सिर्जनशीलता, क्रियाशीलता, विनयशीलता, सकारात्मक सोच, सक्षमता, सामाजिक भावना, दया, माया र मानवताको समग्र विकास हो । राष्ट्रिय उद्देश्य प्राप्तीका लागि तयार गरिएको पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ वातावरण, भौतिक पूर्वाधार, विषयगत शिक्षकको योग्यता, शिक्षण कला, पेसाप्रतिको जवाफदेहिता, अनुगमन, शैक्षिक व्यवस्थापन, निरीक्षण, सुपरीवेक्षण, मूल्यांकन प्रणाली आदी गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तत्व हुन् ।

आधारभूत मानवीय गुण, सीप, क्षमता, ज्ञान र आचरण आर्जन गरी सभ्य, शिष्ट, चरित्रवान, सुसंस्कृत, नैतिकवान, कर्मशील, कर्तव्यनिष्ट, स्वालम्बी, गतिशील, आत्मनिर्भर, अनुशासित, समझदारी, आर्दश, नागरिक तयार गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । व्यावहारिक दुष्टिकोणमा सिकाइमार्फत् मानवीय व्यवहारमा सकारात्मक परिर्वतन ल्याउन सक्ने, व्यावहारिक समस्याहल गर्न सक्ने, कामप्रति सम्मान गर्ने, उद्यमशील समाज, राष्ट्र र अन्तराष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो ।

के परीक्षामा घोक्ने र कण्ठ पार्ने, परीक्षामा चोरी गर्ने र उच्च अंक ल्याउने शिक्षा गुणस्तरीय शिक्षा हो ? के विद्यालयको शैक्षिक गुणस्तर शिक्षकको एकल प्रयासबाट मात्र सम्भव हुन्छ त ? होइन, गुणस्तर सुधार गर्न असल नेतृत्व दक्ष शिक्षक, जिज्ञासु विद्यार्थी, महŒवकांक्षी अभिभावक, सरोकारवाला र नीतिनिर्माताहरूको साझा प्रयासबाट मात्र सम्भव देखिन्छ ।

नेपालको हकमा, सदावहार नीति निर्मातादेखि शिक्षक, अभिभावक र विद्यार्थीले रटान लगाउँदै आएको एउटै कुरा गुणस्तरीय शिक्षा हो । यसको मापनको बारेमा मापदण्ड के हो ? यसमा व्यक्ति अनुसार फरक फरक परिभाषा हुने गरेका छन् । व्यक्ति, समाज र राष्ट्रको जीवनमा गुणस्तरीय शिक्षाले सकारात्मक प्रभाव पार्ने भन्दै अनेक बहस र छलफल भइरहेका हुन्छन् । तर, गुणस्तरीय शिक्षाका बारेमा जसरी एकरूपताका साथमा राम्रौ बोल्ने गरेका छन्, यसको मानक अर्थका बारेमा भने भिन्नाभिन्नै तर्क, बिश्लेषण र व्याख्या सुन्न पाइन्छ । कतिपयले सीपसहितको शिक्षालाई गुणस्तरीय शिक्षाका रूपमा चित्रण गर्ने गरेका छन् भने कतिपयले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षालाई मान्ने गरेका छन् । घरगाउँका लागि आवश्यक समस्या समाधान गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो भनेर कतिपयले परिभाषित गरेका छन् । गुणस्तरीय शिक्षाका बारेका रटान लगाउन जति सहज छ, यसको मानक परिभाषा निर्माण गर्न त्यति सहज पक्कै पनि छैन । गुणस्तरीय शिक्षा के हो भन्ने बारेमा हामी यसका सूचकहरू निर्माण गरेर परिभाषित गर्न सक्छौँ । यसका सूचकलाई प्रभावकारी सिकाइ र समग्र विद्यार्थी विकासमा योगदान गर्ने विभिन्न कारकका आधारमा मूल्याङ्कन गर्न सकिन्छ ।

गुणस्तरीय शिक्षामा विद्यालयको भूमिका अत्यन्त महŒवपूर्ण रहेको छ । विद्यालयले विद्यार्थीहरूको समग्र विकासको आधारशीला तयार गर्छ । विद्यालयले विद्यार्थीहरूलार्र्र्ई सुरक्षित, उत्साह र सिकाइमैत्री वातावरण प्रदान गर्नुपर्छ जसले उनीहरूको बौद्धिक, सामाजिक र भावानात्मक विकासमा मद्दत गर्छ । विद्यालयमा दक्ष र प्रेरित शिक्षकहरूको व्यवस्था हुनुपर्छ । शिक्षकहरूको निरन्तर तालिम र विकासका लागि विद्यालयले विशेष ध्यान दिन आवश्यक देखिन्छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने पुस्तकालय, प्रयोगशाला, खेल मैदान र अन्य शैक्षिक साधनहरूको व्यवस्था विद्यालयले गर्नुपर्छ । विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरूलाई ध्यानमा राखेर शिक्षण विधि अपनाउने र विद्यार्थीहरूको आन्तरिक क्षमताहरू उजागर गर्न मद्दत पु¥याउनु पर्दछ । विद्यालयले समुदाय र अभिभावकहरूलाई शैक्षिक प्रक्रियामा सहभागि गराउनु पर्छ र जसले विद्यार्थीहरूकोे विकासमा थप सहयोग पु¥याउँछ । विद्यालयले विद्यार्थीहरूमा नैतिक मूल्य, अनुशासन र जिम्मेवारीको भावना विकास गराउनु पर्दछ । नयाँ शिक्षण विधि र प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउँछ र विद्यालयले जोड दिन आवश्यक देखिन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले यी सबै पक्षहरूमा ध्यान दिनुपर्छ । जसले विद्यार्थीहरूको उज्वल भविष्य निर्माणमा ठूलो भमिका खेल्छ ।

गुणस्तरीय शिक्षामा अभिभावकको भूमिका पनि विद्यालयकको भूमिका जत्तिकै महत्वपुर्ण छ । विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा संलग्न र उत्साहित रहन सिकाइको लागि सकारात्मक वातावरण निर्माण गर्न आवश्यक देखिन्छ । अभिभावकहरूले विद्यार्थीहरूलार्ई समय व्यवस्थापन गर्न सिकाउनुपर्छ । घरको काम, खेलकुद र अध्ययनका लागि समय छुट्याएर प्रभावकारी रूपमा उपयोग गर्नु महŒवपूर्ण रहन्छ । बच्चाहरूलाई नयाँ कुरा सिक्न र चुनौतीहरू सामना गर्न प्रोत्साहित गर्नु सकारात्मक समर्थन र उत्साह प्रदान गरेर उनीहरूको आत्मविश्वास बढाउन मद्यत पु¥याउँन आवश्यक छ । विद्यार्थीहरूको गृहकार्य, परियोजना र अन्य शैक्षिक गतिविधिमा संलग्न भएर उनीहरूको प्रगतिको निरन्तर निगरानी गर्नु जरुरी छ । विद्यालयसँग नियमित सम्पर्कमा रहनु र शिक्षकहरूसँग विद्यार्थीहरूको प्रगति र समस्याहरूको बारेमा छलफल गर्नु महŒवपूर्ण हुन्छ । अभिभावकहरूले घरमै पुस्तकालय, अध्ययन कक्ष जस्ता शैक्षिक स्रोतसाधन उपलब्ध गराई बच्चाहरूमा पढ्ने बानीको विकास गराउनु पर्दछ । शिक्षा प्रति सकारात्मक दृष्टिकोण राखेर बच्चाहरूमा पनि त्यस्तै दृष्टिकोणको विकास गराउनु पर्दछ । अभिभावकहरूले बच्चाहरूलाई नैतिक मूल्य, अनुशासन र जिम्मेवारीको भावना बोध गराउनु पर्दछ । यसले उनीहरूको समग्र व्यक्तित्व विकासमा मद्दत पु¥याउँछ । विद्यार्थीहरूलाई शैक्षिक समस्याहरू बुझेर तिनलाई समाधान गर्न सहयोग गर्नु पर्दछ । यदि आवश्यक भएमा अभिभावकले विद्यालय र शिक्षकहरूसँग सहकार्य गर्न आवश्यक रहन्छ ।

 

विद्यालयमा, शिक्षक र अभिभावकले सुशासन प्रवद्र्धन गर्नका लागि निम्न कार्यहरू सञ्चालन गर्न आवश्यक छ:

१. सबै विद्यालयले तोकिएको ढाँचामा नागरिक बडापत्र राख्ने र सार्वजनिक सुुनुवाई प्रभावकारी बनाउने ।
२. विद्यालयमा सामाजिक परीक्षणलाई कार्यतालिकामा आधारित र प्रभावकारी बनाउने ।
३. सबै विद्यालयहरूले गुनासो सुनुवाई कार्यविधि प्रयोग गर्ने ।
५. विद्यालयमा सम्पूर्ण कार्यहरूमा पारदर्शिता कायम गर्नका लागि प्रत्येक चार महिनामा विद्यालयले गरेका आर्थिक, भौतिक, शैक्षिक तथा व्यावस्थापकीय कार्यहरू सार्वजनिक गर्ने छ ।
६. स्थानीय सरकारले शैक्षिक सत्रभरिमा न्यूनतम् दुई सय २० दिन विद्यालय खुल्ने वातावरणको सुनिश्चितता गर्ने । सो अनुरूप विद्यालयको वार्षिक क्यालेन्डर बनाउन लगाउने र शिक्षक समय मापन कार्यविधि कार्यान्वयनका लागि प्रधानाध्यापकलाई उत्तरदायी बनाउने ।
६. विद्यालयमा छुवाछुत र भेदभावको अन्त्य गर्ने । कुरिति, अन्धविश्वास, कुसंस्कारहरूलाई निषेध गर्ने ।
७. विद्यालयको कार्यसम्पादन तथा सेवाप्रवाह प्रभावकारिता परीक्षण गरी स्तरीकरण गर्ने र सोको आधारमा दण्ड तथा पुरस्कारको व्यवस्था गर्ने ।

 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तिनै तहका सरकार, अभिभावक, शिक्षक, व्यवस्थापन, गैरसरकारी सघंसंस्थालगायत सम्पूर्ण सरोकारवालाहरूको साथ, सहयोग र सहकार्यमा सुधारका प्रयासहरूलाई अघि बढाउन आवश्यक छ । बदलिएको परिवेशमा नवीन अवधारण एवम् सिद्धान्त र व्यावहारिक अभ्यासबीच तालमेल मिलाई समयानुकुलको नीति तथा कार्यक्रममार्फत् सार्वजनिक विद्यालयको सुधार गर्नुपर्छ । केही तत्कालिन र केही दीर्घकालिन रणनीति तथा कार्यनीति समावेश गर्न आवश्यक देखिन्छ ।

शैक्षिक गुणस्तर सुधारका मापदण्डहरूलाई यसरी नियाल्न सकिन्छ:

असल नेतृत्वः शैक्षिक गुणस्तर सुधारको लागि योग्य सक्षम क्षमतावान दूरदुष्टि र इच्छाशक्ति भएका व्यक्तिलाई प्रधानध्यापकको जिम्मेवारी दिइनुपर्दछ ।

दक्ष शिक्षकः शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको रहेको हुन्छ । विद्यालयमा योग्य, सक्षम, जागरिलो, समर्पित, शिक्षणलाई जागिरको रूपमा भन्दापनि जिम्मेवारी रूपमा लिएर सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्नसक्ने, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट जनशक्तिलाई शिक्षणमा प्रवेश सुनिश्चित गरिनु पर्दछ ।

जिज्ञासु विद्यार्थीः विद्यालयमा बालबालिका सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक भय, चिन्तारहित भएर सिक्न सदैव तत्वर रहनुपर्दछ ।

व्यावहारिक सिकाइः सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील, प्रयोगात्मक, खोजमुलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित हुनुपर्दछ ।

सिकाइ वातावरणः विद्यालयको भौतिक पूर्वाधार बालबालिकाको सर्वाेच्चता कायम भएको बालमैत्री पढौँ–पढौँ लाग्ने सुसज्जित कक्षा कोठा, स्वच्छ सफा खानेपानिको व्यवस्था उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेलमैदान, सुरक्षित कम्पाउण्ड घेराबार, मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री, कम्प्यूटर, ल्यापटप, स्मार्ट बोर्ड आदि । प्रत्येक कक्षामा सिकाइ कुना, चमेना गृह, शिक्षक तथा छात्रछात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्दछन् ।

समुचित व्यवस्थापनः विद्यालयको शैक्षिक भौतिक आर्थिक पक्षहरू चुस्तदुरुस्त र पारदर्शी हुनुपर्दछ । विद्यालय सुुधार योजना निर्माण सामाजिक परीक्षण तथा अन्य योजना निर्माण तथा निर्णय प्रक्रियामा समुदायको सार्थक र निर्णायक सहभागिता गराउनुपर्दछ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्दछ । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावकको अहम् भूमिका हुन्छ ।

प्रविधिमैत्री सिकाइ सामग्रीः गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्रीहरू, शिक्षक निर्देशिका सहज र सरल रूपमा उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरू बालबालिका रुचि र चाहानाअनुकूल सान्दर्भिक, रूचिकर, समय सापेक्ष, रचनात्मक र आजको विज्ञान तथा प्रविधिमैत्री हुनुपर्दछ ।

शैक्षिक गतिविधिको समयानुसार सञ्चालन गर्न, नियमित अनुगमन तथा सुपरीवेक्षण गर्न सकेमात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । शिक्षकको एकल प्रयासमा मात्र शैक्षिक गुणस्तर सुधारमा सार्थक बन्न सक्दैन । सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर सम्भव छ । केही सामूदायिक विद्यालयहरूले पनि अंगे्रजी माध्यमको खोल ओढेर विद्यार्थीहरूको निःशुल्क पढ्न पाउने अधिकारलाई घात गरी यो या त्यो बहानामा शुल्क असुल्ने गरेको पाइन्छ ।

-सन्तोष भण्डारी

प्रकाशित मितिः   २७ श्रावण २०८१, आईतवार ०५:०३