सरकारको प्राथमिकता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका उनले यसअघि नेकपा (माओवादी केन्द्र) को समर्थनमा गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए । संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको नयाँ गठबन्धन बनेको छ । साउन ७ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
राजनीतिमा अर्को भवितव्य नभएमा मुख्यमन्त्री कँडेलले करिब दुई वर्ष सरकार सञ्चालन गर्नेछन् । यो अवधिमा उनी कति सफल हुन्छन् त्यो भने भविष्यमा देखिने नै छ । यद्यपि, सरकार सञ्चालन र प्रदेशको आर्थिक समृद्धिका लागि उनी प्रष्ट देखिन्छन् । जस्तो कि विश्वासको मत लिनेक्रममै उनले कर्णाली प्रदेशको विकासका लागि चार मोडलमार्फत् काम गर्ने बताएका छन् । सुरु गरेको काम सम्पन्न गर्ने र अनिवार्य गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ । त्यसैगरी विनियोजित बजेटको खर्च र सदुपयोगमा विशेष ध्यान दिने र नीति तथा कार्यक्रम अनुरूप नै सरकारले आफ्ना काम गर्ने उनको भनाइ छ । प्रदेशको समृद्धिका लागि अरूको मुख नताकेर संघीयतालाई जनताको चाहनाअनुरूपको मौलिक र समृद्ध प्रदेशका रूपमा विकसित गर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । विकास निर्माणमा देखिएका बाधा व्यवधानलाई हटाउन आवश्यक ऐन संशोधनलगायत समयानुकुल नीतिगत सुधार गर्नेसमेत मुख्यमन्त्री कँडेलले बताएका छन् । काम सम्पन्न गरिसकेपछि समयमै भुक्तानी हुने परिपाटीको सुरुवात आफूले गर्न खोजेको उनले जानकारी दिए । निर्माण सम्पन्न गरे पनि निर्माण कम्पनीले भुक्तानी नपाउने स्थितिलाई शून्य पार्ने उनको भनाइ छ ।
जनशक्ति अभाव कर्णालीको पुरानै समस्या हो । यसलका कारण विकास बजेट कार्यान्वयनमा परेको असरबाट उन्मुक्ति पाउन जनशक्ति व्यवस्थापन र क्षमता अभिवृद्धिमा सरकारले विशेष योजना बनाएर अगाडि बढ्नु जरुरी देखिन्छ । जुन मुख्यमन्त्री कँडेलले पनि राम्रैसँग बुझेका छन् । जनशक्ति अभावको समस्या हल गर्न प्रदेश लोकसेवा आयोगलाई सक्रिय बनाएर कर्मचारी भर्ना गर्नेमा उनले जोड दिनुले पनि मुख्यमन्त्री कँडेल प्रदेशका समस्या पहिचानमा प्रष्ट रहेको बुझ्न सकिन्छ । पहिचान गरिएका समस्या समाधानमा उनको सक्रियता कस्तो रहन्छ भन्ने कुराले नै कँडेलको कार्यकाल सफलता र असफलता निर्धारण गर्नेछ ।
प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार ०५:०३
सम्पादकीय ।