भवन निर्माणमा ढिलाइ

वीरेन्द्रनगरमा निर्माणाधिन तीन वटा सरकारी भवनको निर्माया कार्य नसकिएपछि पुनः म्याद थपिएको छ । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य नसकिएपछि म्याद थपिएको हो । प्रदेश आयुर्वेद औषधालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको म्याद थपिएको छ । स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रको सेवा विस्तारका लागि भवन निर्माण योजना अघि सारिएको हो । तर निर्माण व्यवसायीहरूको लापरबाहीले समयमै भवन निर्माण हुन सकेका छैनन् ।

प्रदेश आयुर्वेद औषधालयको भवन निर्माणको एक वर्ष म्याद थप भएको छ । २०८० फागुन ३ गतेदेखि २०८१ फागुन २९ गतेसम्मका लागि म्याद थप गरिएको हो । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै छ । निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । भवनको हालसम्म ३० प्रतिशत मात्र भौतिक तथा २५ प्रतिशत वित्तीय प्रगति भएको छ । १५ शैड्ढयाबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि न्यून मात्र काम भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण कार्य समयमा हुन नसकेको हो । यस्तै कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण कार्य पनि अधुरै छ । उक्त भवनको पनि २०८० कार्तिक १ गतेदेखि २०८१ चैतसम्म म्याद थपिएको छ । यसअघि सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । यसैगरी वीरेन्द्रनगरमै निर्माणधिन प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको पनि म्याद थप गरिएको छ । २०८० माघ १ गतेदेखि २०८१ पुष २९ गतेसम्मका लागि म्याद थप गरिएको हो । २०७९ पुष २८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा त्यसयता पटक–पटक म्याद भएपनि काम सम्पन्न हुन सकेको छैन ।

प्रदेशका विकास निर्माणका काममा ढिलासुस्ती हुने गरेका छन् । अधिकांश योजना समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप्दा पनि अधुरै छन् । निर्माण व्यवसायीको लापरबाहीले काममा ढिलाइ हुनेगरेको छ । वीरेन्द्रनगरमा निर्माणाधिन तीन वटा सरकारी कार्यालयका भवन निर्माणको पटक–पटक म्याद थपिएतापनि काम सम्पन्न नहुनुले पनि निर्माणको क्षेत्रमा कतिसम्म लापरबाही भइरहेको छ भन्ने देखाउँछ । निर्माण कम्पनीहरूले भने कोरोना महामारीका कारण काममा बाँधा पुगेको भन्दै पटक–पटक म्याद थपिरहेका छन् । यता सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले भने तीन वटै सरकारी भवन निर्माणको काम समयमै सक्न ताकेता गरेको छ ।

प्रकाशित मितिः   १४ श्रावण २०८१, सोमबार १५:२८