स्वास्थ्य पूर्वाधारमा ढिलाइ

१७ मंसिर २०७७ मा सरकारले देशभरी तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात गरेको थियो । कर्णाली प्रदेशमा ४२ वटा पालिका छनोट भएका थिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी आधारभूत अस्पतालको निर्माण थालिए पनि उक्त योजना कार्यान्वय हुन सकेको छैन । कर्णालीका अधिकांश ठाउँमा भवन बन्न सकेका छैनन् । निर्माण सुरु भएकाको पनि प्रगति कछुवा गतिमा छ । भवन नबन्दा स्वास्थ्यचौकीको स्तरोन्नतिसमेत हुन सकेको छैन । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । तर पूर्वाधार निर्माणमा भएको ढिलाइले सरकारको लक्ष्य पुरा हुन सकेको छैन ।

दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन निर्माणको काम कतिपय पालिकाले सुरुसमेत गरेका छैनन् । उक्त योजना अन्तर्गत जिल्लाका स्थानीय तहमा कम्तीमा पाँचदेखि १५ वेडसम्मको अस्पताल निर्माण हुनुपर्ने हो । कर्णालीका केही पालिकामा अस्पताल भवन निर्माण कार्य जारी भएपनि केहीले जग्गा प्राप्ति गरेर मात्र राखेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. २ सालकोटमा निर्माणाधिन १५ शै®याको अस्पताल निर्माण म्याद सकिँदा समेत सम्पन्न हुनसकेको छैन । अहिलेसम्म ८७ प्रतिशत मात्र काम सकिएको छ । १३ प्रतिशत काम अझै बाँकी छ । म्याद थप गरेर भवन निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ । यस्तै दैलेखको नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वाथ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि भवन निर्माण भइरहेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृति पाएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा निर्माणको काम सुरु गरिएको हो । तर प्रगति भने न्यून मात्र भएको छ । जग्गा विवादले भवन निर्माणको काममा ढिलाइ भएको छ ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले स्थानीय तहमा १५ शै®याको अस्पताल निर्माणको योजना बनाएको हो । आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाइ नागरिकको पहुँच स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुईवर्षभित्र तीन सय ९६ तहमै आधारभूत अस्पताल निर्माण गरिसक्ने लक्ष्य थियो । मुलुकले फेरि प्रधानमन्त्रीकोरूपमा उनै ओलीलाई पाएको छ । ओली नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य संस्थाहरूको स्तरोन्नति योजनालाई कति प्राथमिकता दिन्छ, त्यो भने हेर्न बाँकी नै छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूको पूर्वाधार सुधार र सेवामा विस्तार गर्नु भने अपरिहार्य जस्तै छ ।

प्रकाशित मितिः   १ श्रावण २०८१, मंगलवार ११:४२