प्राकृतिक विपद्
कर्णाली प्रदेशमा पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार विपत्तिको विद्रुप दृष्य देखाएको छ । बाढीका कारण हुने मानवीय क्षति घटे पनि पछिल्ला वर्षहरूमा पहिरोबाट हुने क्षति बढ्दै गएको छ । विपद्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पहिरोबाट हुने क्षति बढेको छ । बाढी र पहिराजन्य घटना भने बढेका छन् । त्यसमा पनि पूर्वसूचना प्रणाली तुलनात्मकरूपमा प्रभावकारी देखिएकाले र जनचेतना बढेकाले सावधानी अपनाउने क्रम बढ्दा बाढीबाट हुने क्षति घटेको छ तर पहिरोको क्षति पनि बढ्दो क्रममै देखिन्छ । तुलनात्मकरूपमा पहिरोबाट मृत्यु बढेको हो । कर्णालीका नौ जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ६८ जना, आर्थिक वर्ष २०७९/०८० मा ७२ जना, आर्थिक वर्ष २०८०/०८१ मा एक सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको छ । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ । विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।
कमजोर भू–बनोट, छरिएर रहेका बस्तीहरूका कारण कर्णाली विपद्को जोखिममा रहेको छ । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास निर्माणका काम, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनका कारण प्राकृतिक प्रकोपका घटना बढिरहेका छन् । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली । यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको संख्या वृद्धि हुने तर रोकथामका उपाय नअपनाइनु नै मुख्य कारक भएको बताइन्छ । अर्को कारण भने एकै ठाउँमा धेरै पानी (हाँडीघोप्टे पानी) पर्दा भेल पहिराले जनधनको ठूलो क्षति गराएको छ । तर क्षति न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारी भने कमजोर छ ।
प्रकाशित मितिः २ श्रावण २०८१, बुधबार ०५:०३
सम्पादकीय ।