बर्सेनि बढ्दो प्राकृतिक विपत्ति

कर्णालीमा पहिरो र चट्याङको उच्च जोखिम

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार विपत्तिको विद्रुप दृष्य देखाएको छ । बाढीका कारण हुने मानवीय क्षति घटे पनि पछिल्ला वर्षहरूमा पहिरोबाट हुने क्षति बढ्दै गएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख कृष्णबहादुर रोकाया पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । उनका अनुसार विपद्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पहिरोबाट हुने क्षति बढेको छ । ‘बाढी र पहिराजन्य घटना भने बढेका छन्,’ उनले भने, ‘मुख्यतः पूर्वसूचना प्रणाली तुलनात्मकरूपमा प्रभावकारी देखिएकाले र जनचेतना बढेकाले सावधानी अपनाउने क्रम बढ्दा बाढीबाट हुने क्षति घटेको हो, भलै कुनै कुनै वर्ष बढेको हुनसक्छ ।’ तुलनात्मकरूपमा पहिरोबाट मृत्यु बढेको रोकायाले जनाए । यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको संख्या वृद्धि हुने तर रोकथामका उपाय नअपनाइनु नै मुख्य कारक भएको बताउँछन् । अर्को कारण भने एकै ठाउँमा धेरै पानी (हाँडीघोप्टे पानी) पर्दा भेल पहिराले जनधनको ठूलो क्षति गराएको छ । कर्णालीका नौ जिल्ला पहिलोको उच्च जोखिममा रहेको उनले जनाए ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए ।

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको छ । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ ।

विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा १७ तथा आर्थिक वर्ष २०७९÷०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।

यसैगरी प्रदेशमा विगत चार वर्षमा चट्याङ लागेर २१ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि चट्याङका घटना पनि बढिरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा ६ जनाको मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा तीन जनाको मृत्यु भयो भने आर्थिक वर्ष २०८०/०८१ मा पाँच जनाको मृत्यु भएको छ । प्रदेशमा मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

त्यसो त कर्णाली भूकम्पबाट पनि उत्तिकै जोखिममा छ । कर्णालीमा आर्थिक वर्ष २०८०/०८१ मा ठूलो विपद् आइप¥यो । धेरैले ज्यान गुमाए भने बाँचेकाहरू पनि पालमुनीको अस्थायी शिविरमा छन् । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ७२ घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार जाजरकोटमा एक सय एक र रूकुममा ५३ गरी एक सय ५४ जनाको मृत्यु भएको हो । घाइते हुनेहरूमा जाजरकोटका एक सय ५८, रूकुमपश्चिमका दुई सय दुई, दैलेखका तीन जना, सल्यानका दुई जना, कालीकोटका एक जना र जुम्लाका ६ जना गरी तीन सय ७२ घाइते भएका छन् ।

फितलो पूर्वतयारी

कमजोर भू–बनोट, छरिएर रहेका बस्तीहरूका कारण कर्णाली विपद्को जोखिममा रहेको छ । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास निर्माणका काम, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनका कारण प्राकृतिक प्रकोपका घटना बढिरहेका छन् । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली । कर्णालीका पहाडी र हिमाली गरी नौ जिल्ला पहिरो र भित्री मधेशको सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने प्रदेश सरकारको अनुमान छ । कर्णालीका बस्तीहरू भौगोलिक रूपमै जोखिममा रहेको र तत्काललाई ती घरधुरी सार्न मिल्ने नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् । विशेष गरी कर्णालीको कालीकोट विपद्बाट धेरै क्षति हुने जिल्लामा पर्दछ । त्यसपछिको जोखिममा दैलेख, जाजरकोट, सल्यान, रूकुमपश्चिम, जुम्ला रहेका छन् । हुम्ला, मुगु र डोल्पा पनि पहिरोको जोखिम छन् भने सुर्खेत बाढीको जोखिममा छ ।

प्रकाशित मितिः   १ श्रावण २०८१, मंगलवार ११:४१