अन्तरजातीय विवाहः रहर र कहर

कुडा कर्णालीका

कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौं संस्करणको दोस्रो दिन अन्तरजातीय विवाहसम्बन्धी सवालमा छलफलको आयोजना गरिएको थियो। उक्त सत्रमा जाजरकोटमा मोहन विक (नवराज विकका बाबु), अन्तरजातीय विवाह गरेकी जुम्लाकी शिक्षक पुष्पा विष्ट, अधिवक्ता कुञ्जनी परियार र प्रतिनिधिसभा सदस्य सन्तोष परियारले भाग लिएका थिए। अधिकारकर्मी हिमा विष्टले छलफलको सहजीकरण गरेकी थिइन्।


पुष्पा विष्ट

 

विद्यार्थीकालदेखिनै म राजनीतिमा संलग्न भएको हुँ । त्यतिबेलैदेखि समाजमा रहेको जातीय, वर्गीय विभेदसँग परिचित थिएँ । छोरा नभएको भनेर बुबाले दोस्रो विवाह गर्नुभएको थियो । त्यसपछि हामी बुबाबाट अलग भयौँ । छोरीले हलो जोत्न हुँदैन भन्ने मान्यता थियो । तर हाम्रोमा हलो जोतिदिने कोही थिएन । आफूले पनि नजोतिदिने अरु कसैले जोतिदिए त्यसको खुट्टा काटिदिन्छु भनेर बुबाले धम्की दिनुभयो । पछि मैले हलो जोतेँ ।
सामाजिक कुसंस्कारको रूपमा हाम्रोमा छाउपडी प्रथा कायमै छ । मैले त्यसको पनि प्रतिरोध गरेँ । मैले त्यसलाई विज्ञानसम्मत छैन त्यसैले मान्दिन भनिरहेँ । हाम्रो समाजको सबैभन्दा ठूलो समस्या हो – जातीय विभेद । त्यसकै विरोध हो मैले गरेको अन्तरजातीय विवाह ।

अहिले म पेसाले शिक्षक छु । कक्षा ११ मा जातप्रथा भन्ने पढाउनु पर्छ । मलाई लाग्छ मैले जुन विभेदहरू देख्दै र भोग्दै आएको छु त्यसका प्रतिवाद गर्न यो उपयुक्त पेसा हो । मैले राम्रो भूमिका निर्वाह गर्न सकेमात्र सबैखाले विभेदका विरुद्ध लड्न सक्ने नागरिक निर्माण हुन सक्छन् भन्ने लाग्छ ।

नेपालको हालको संविधानले आमाको नामबाट नागरिकता दिने प्रावधान अंगालेको छ । यद्यपि, बच्चाको जन्मदर्ता गराउँदा वा नागरिकताको प्रमाण पत्र लिँदा बाबुको थर लेख्ने चलन छ । मलाई यो कुरामा चित्त बुझेन । बच्चा नौ महिनासम्म मेरो गर्भमा बस्छ तर मेरो अपनत्व हुँदैन भने यसमा मेरो असहमति छ । त्यसैले मैले मेरो छोरीलाई आमाबाबु दुबैको नामबाट थर (विष्ट नेपाली) दिएको छु ।

हामी जातीय व्यवस्थाबाट धेरै नै प्रभावित छौँ । मैले त बिद्रोह बोलेँ तर म यो देशको नागरिक पनि हुँ । मैले देखेको कुरा के हो भने दलित समुदायका मान्छे दोस्रो दर्जाका नागरिकजस्तै भएका छन् । रक्तशुद्धताको नाममा जातीय व्यवस्था र विवाह प्रथा चलेको छ । यसको विरोध गर्ने हिंसामा समेत परेका छन् ।


कुञ्जनी परियार

 

 

जब म कुनै नयाँ व्यक्तिसँग भेट्छु पहिलो प्रश्न हुन्छ– कुञ्जनी परियार प्यासी है तपाईं ? त्यो प्यासी के हो ? कविता लेख्नु हुन्छ ? अनि नागरिकतामा पनि यही नाम हो ? भन्नुहुन्छ ।

मेरो आधिकारिक नाम नै यही हो । तर यसको पछाडि एउटा कथा छ । म आठ कक्षामा पढ्दै थिएँ । मलाई मेरो थर परियार हो भन्ने थाहा थिएन । मेरो नाम कुञ्जनी प्यासी मात्र थियो । मलाई मेरो परिवारका सदस्यले यही नाम दिनुभएको थियो । तर स्कूलमा शिक्षकले तिमी परियार समुदायको हो थर लेख धेरै अवसर पाइन्छ भन्नुभयो ।

मेरो घर लमजुङ हो । मेरो जिजुबुवाले परियार थरको महिलासँग विवाह गरेका कारण उहाँहरूलाई बिटुला बनाएर गाउँ निकाला गरी लमजुङ पठाइएको थियो । लमजुङबाट पोखरा आइसके पछि पनि हामीले विभेद भोगिरहेकै छौँ । पोखरा ठूलो सहर भएपनि विभेद कायमै छ । जातीय व्यवस्था मान्ने धेरै छन् । जसका कारण परियारले कोठा भाडामा पाउँदैन । छोरीले यही विभेदको सामना गर्नु नपरोस् भनेरै मेरो नामबाट थर हटाएर प्यासी राखिएको थियो । यस्तो विभेद सबैतिर व्याप्त छ । पढेलेखेकाले पनि विभेदलाई निरन्तरता दिनुभएको छ । म अहिले अधिवक्ता हुँ । कानुन व्यवसायीको अनुमतिपत्र लिएको छ वर्ष भयो । मलाई जातीय विभेदका मुद्दामा सम्भव भएसम्म निःशुल्क पैरवी गर्ने इच्छा छ ।

मेरै बारेमा समाजले आवश्यकभन्दा धेरै चासो राखेको पाएको छु । यसको जातभित्र यसलाई मिल्ने खालको केटा छैन अब अन्तरजातीय विवाह त त्यस्तै हो भन्ने गरेको सुनेको छु । सामाजिक रूपमा प्रतिष्ठित धेरैजसो व्यक्तिले मलाई विवाहबारे सोध्नुहुन्छ र यस्तै आशय व्यक्त गर्नुहुन्छ । उहाँहरू सबैको प्राथमिकतामा विवाह होइन विभेद देखिन्छ । शायद अन्य जातीको महिलाले यस्तो प्रश्नको सामना गर्नुपर्दैन ।

मैले जातीय विभेदको घटना धेरैपटक देखेको भोगेको छु । मेरो मामाको पनि अन्तरजातीय विवाह भएको हो । घरमा प्रहरीले घेरिरहन्थे । त्यतिबेलाको डर होला शायद म अधिवक्ता भएर प्रहरीलाई तालिम दिन जाँदा पनि पोशाकका प्रहरी देख्दा नर्भस भएको थिएँ ।

जहाँसम्म न्याय पाउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था छ यो गम्भीर सवाल हो । २०६८ सालमा छुवाछूत मुक्त घोषणा भएपनि आजसम्म धेरैजना दलितले जातीय कारणले ज्यान गुमाउन परेको छ । विभेदका कुराहरू त धेरै छन् । जनप्रतिनिधिका रूपमा निर्वाचित दलित सदस्यसमेत जातीय विभेदको शिकार हुनुपरेको मुद्दा मैले हेरेकी छु । जात व्यवस्था थरसँगमात्र सम्बन्धित छैन बरु समाज, संस्कृति, धर्म र राजनीतिक रूपमै जकडिएको छ । राजनीतिक, आर्थिक, सामाजिक तथा कानुनी रूपमा दलितलाई विभेद गरिएको छ । मुलुकी ऐन १९१० हेर्ने हो भने दलितले लामबाउले कपडा र सुनका गहना लगाउन नपाउने भन्ने छ । दलितलाई जाडो हुन्छ भन्नेसम्म पनि हामीले सोन्न सकेनौँ । त्यहाँदेखि यहाँसम्मको यात्रालाई हेर्दा सकारात्मक हुने ठाउँ पनि छ । यद्धपी मुख्य कुरा आत्मजागरण हो । त्यो हुन सकेको छैन । राज्य संरचना त हाम्रै सोचका उपज न हुन् । हाम्रो राजनीति कति समावेशी छ ? हाम्रा अदालत कति समावेशी छन् ? हाम्रो समाज कति सहिष्णु छ ? के हामी राष्ट्रिय गानमा जस्तो सयौँ थुङ्गा फूलका एउटै माला हुन सकेका छौँ ?

अहिले हामीसँग भएको संविधान र कानुनले जातीय विभेद मान्दैन । तर त्यो संविधान र कानूनमा मात्र भएर पुग्दैन । हामीले जानेर वा नजानेरै पनि विभेदलाई प्रश्रय दिइरहेका हुन्छौँ । समर्थन गरिरहेका हुन्छौँ । हामी कति सामाजिक अभियन्ताहरू अन्तरजातीय विवाह गर्न तयार हुन्छौँ तर हाम्रो परिवार बाधक हुन्छ । दलित र गैर दलितबीचको प्रेम सम्बन्ध पनि स्वीकार हुँदैन । समस्या यहीँनेर छ । हामीमा यस्तो सोच कहाँबाट आयो ?

अम्बेडकरले आफ्नो कास्ट इन इन्डिया भन्ने पुस्तकमा लेख्नुभएको छ कि विवाह जब समान जातभित्र हुन्छ त्यसले जातीय व्यवस्थालाई थप बलियो बनाउँछ । र विभेद पनि बढाउँछ । यसलाई चिर्न सचेतना जरुरी छ । पैरवी आवश्यक छ । र त्यसका लागि हामीले आवाज उठाइरहेका छौँ ।

अचेल विवाहको प्रवृत्ति फेरिएको छ । पहिले जस्तो बुबाआमाले विहे गरिदिने चलन कम भएको छ । केटा केटीले आफै जीवनसाथी रोज्ने अभ्यास शुरु भएको छ । अर्कोतिर बालविवाह छ । त्यसमा पनि अन्तरजातीय विवाह भएमा जबरजस्ती करणीको मुद्दा दायर हुन्छ । अहिले बाल सुधार गृहमा रहेका ७० प्रतिशत बालक यस्तै आरोपमा सजाय भोगिरहेका छन् र उनीहरूमध्ये धेरै दलित छन् । यस्तै अन्तरजातीय विवाह रोक्न अपहरण वा शरीर बन्धकको मुद्दा हाल्ने प्रवृत्ति पनि विकास भएको छ । यो ठूलो चुनौती हो ।

मेरो विवाह हुनु वा नहुनु बेग्लै कुरा हो । तर हामी जुन परिस्थितिमा छौं र जसरी जात व्यवस्थालाई कायम राख्न उद्धत छौं त्यसको उन्मुलनका लागि लाग्नु मेरो परम कर्तव्य हो । हामीले यस सम्बन्धी कानूनी खाडल र त्यसको दुरूपयोग रोक्नुपर्छ । हामीले प्रेम वा विवाहका बारे धेरै दृष्टिकोणहरू बदल्नु जरुरी छ । र यसका लागि नीतिगत तहबाटै पहल गरिनुपर्छ । कानुनी संरचनामै हेरफेर हुनुपर्छ ।

अर्थमन्त्री सुरेन्द्र पण्डेले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नुभएको थियो । यद्धपी त्यसको दुरूपयोग भयो भनेर कार्यक्रम नै रोकियो । हामीले त्यसको गहन अध्ययन नै गरेनौं । मुख्य कुरा चेतनाको हो । हामीले कुनैपनि कुरालाई चेतनाकै माध्यमबाट बदल्ने हो । नेपालमा सती र जाती प्रथा सँगसँगै सुरु भएका हुन् । हामीले सती प्रथा हटायौँ । जाती प्रथा कायमै छ । यो पनि हटाउन सकिन्छ । तर यो सबैको साझा सवाल हो भन्ने बुझाई सबैमा हुनुप¥यो । समस्यालाई व्यक्तिगत रूपमा मात्रै बुझ्ने हो भने यही परिस्थित कायम रहन्छ । दलित भएर कुञ्जनीले भोग्नुपरेका सबै समस्या मेरा व्यक्तिगत होइनन् यो सामाजिक संरचनाको उपज हो । यसका लागि दलित समुदायले मात्र चाहेर हुँदैन गैर दलित समुदायको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ ।


सन्तोष परियार

 

अन्तरजातीय विवाहको विषय असाध्यै महŒवपूर्ण छ । यसलाई दुई कोणबाट हेर्नुपर्छ । पहिलो हाम्रोतिरको विवाह र पश्चिमा देशतिरको म्यारिजमा धेरै भिन्नता छ । विवाह म्यारिजको ठ्याक्कै नेपाली उल्था होइन । दुवैको अन्तरवस्तुमा निकै फरकपन छ । पश्चिममा म्यारिज पुँजीवाद र पितृसत्ताको उपज हो भने हाम्रोमा यो जातीय उपज हो ।

विज्ञान सम्मत रूपले हेर्दा मान्छेको जात मान्छे नै हो । ७० हजार वर्ष पहिला अफ्रिकाबाट हिँडेको मान्छे को कहाँ पुग्यो । कसरी जीवन यापन गर्दै आयो । यसबारे धेरै अध्ययनपनि भएका छन् । शुरुमा कुनै जात भन्ने नै थिएन । तर विस्तारै राजनीतिक शक्तिको आडमा विभिन्न जातजातीको निर्माण गरिए । आज तिनिहरूबीच ठूलो खाडल छ विभेद छ र हामी त्यसको विरुद्धमा उभिनु परेको छ । आवाज उठाउनुपरेको छ । तर दुर्भाग्य विवाहकै माध्यमबाट हामीले जात जोगाइरहेका छौँ । जात वा गोत्र हेरेर विवाह गरी हामीले जात प्रथालाई निरन्तरता दिइरहेका छौँ । यो विरोधाभासलाई हामीले प्राज्ञिक तथा सामाजिक रूपमा छलफल र बहस गरेर चिर्नुपर्छ ।

अर्को कुरा दलित भन्ने शब्दकै बारेमा पनि धेरै किसिमका कुरा छन् । भारतका बाबा साहेब भीमराव अम्वेडकरले जो दलनमा परेको छ, जो पीडामा परेको, जसलाई हेपिएको छ, जसलाई दलिएको छ त्यस अर्थमा दलित भनिएको भन्नुभएको छ । यो कुनै गाली गलौजपूर्ण वा हेपाहा शब्द होइन । नेपालको सन्दर्भमा भने पहाडी दलित र मधेशी दलितका भिन्नाभिन्नै विशेषता र समस्या छन् । दलितका समस्या समाधानका लागि सामाजिक अन्तरघुलन जरुरी छ भन्ने छ । यद्यपि, विवाह पद्धतिकै कारण सघन अन्तरघुलन हुन सकेको छैन । विवाहमात्र हैन हाम्रो समाजले अन्तरजातीय प्रेम पनि स्वीकार गर्दैन ।

जसले यी बन्देजहरू तोडेर समाजलाई फराकिलो बनाउन प्रयास गर्छ उ नवराज विक बन्नुपर्छ । अतः यो रहर तिनिहरूका लागि हो जसले समाज रूपान्तरण गर्न चाहन्छ ।

एक हिसाबले हेर्ने हो भने हाम्रो राजनीति र सत्ता नै जात व्यवस्थामा अडेको छ । जात नै राजनीतिक दर्शन बनेको छ । नेतृत्वमा एक दुई जना दलित व्यक्ति आउँदैमा राज्यको चरित्र समाजको चरित्र परिवर्तन हुन्छ भन्ने होइन । मुख्य कुरा राज्यको नीति र सामाजिक सौहार्दता हो । तर हाम्रा सामाजिक जडताका अगाडि हाम्रा आन्दोलनले पनि घुँडा टेकेका छन् । यसैले हामीलाई मान्छे बन्न दिएको छैन । र हामीले जातीय व्यवस्था भत्काउन पनि सकेका छैनौँ ।

आजपनि हामीले मान्छेको जातीय क्षमता मात्रै देख्छौँ । व्यक्तिगत क्षमता बुझ्न सकिरहेका छैनौँ । पढ्नु वा जान्नु र समाज रूपान्तरण गर्नु भिन्नभिन्न कुरा हुन् । तर म आशावादी छु कि मेरो पुस्ता र म भन्दा पछाडिको पुस्ताबाट यो सम्भव छ । अब विस्तारै थर सोध्ने परम्परा हराउँदै गएको छ । म यो जातको हुँ भनेर चिनाउन नचाहने पुस्ताको निर्माणसँगै जातीय परम्पराको विनिर्माण हुन्छ भन्ने लाग्छ ।

जातीय विभेद अन्त्य गर्नु हामी सबैको कर्तव्य हो । मैले पनि आफ्नो ठाउँबाट सक्दो गरेको छु । नवराज विकको घटनापश्चात् मैले कान्तिपुर दैनिकमा दलितको देश कुन हो भन्ने शीर्षकमा लेख लेखेँ । नवराजको न्यायका लागि आन्दोलनमा पनि सहभागी भएँ । सबैले जिम्मेवार भएर साँचो अर्थमा समानताका लागि लाग्ने हो भने हामीले चाहेको समृद्धि प्राप्त हुन सक्छ ।


मोहन वि.क.

 

अन्तरजातीय विवाहकै कारणले मेरो छोरा नवराज लगायत ६ जनाले २०७७ जेठ १० गते ज्यान गुमाउनु प¥यो । नेपालको संविधान र कानूनमा जातीय छुवाछुत गर्न पाइँदैन भनेर लेखिएको छ । तर हामीले त्यही विभेद भोग्नुपरेको छ । अबका दिनमा जातीय विभेदका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् ।

नवराजको मुद्दा अदालतमा जानुभन्दा पहिले नै धेरै आन्दोलन गर्नुपर्ने बाध्यता भयो । मुद्दा दर्ता गर्न पनि आनाकानी गरियो । जाजरकोट जिल्ला प्रशासन कार्यालयमा खगेन्द्र सर तीन दिनसम्म धर्ना बस्नुभयो । तर त्यहाँ मुद्दा दर्ता भएन । रुकुम पश्चिम पठाइयो । त्यतिबेलासम्म हाम्रो आर्थिकस्थिति कमजोर भइसकेको थियो । त्यहाँसम्म जान भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले गाडीको व्यवस्था गरिदिनुभयो । धेरै जना वकिलहरूले निःशुल्क सहयोग गर्नुभयो । सबै जिल्लाबाट हामीलाई धेरैले साथ दिनुभयो । सहयोग गर्नुभयो । म सबैलाई धन्यवाद दिन्छु ।

प्रकाशित मितिः   २६ असार २०८१, मंगलवार ०५:०४