शैक्षिक पूर्वाधारमा प्रगति
पछिल्लो समय कर्णाली प्रदेशमा शैक्षिक पूर्वाधार निर्माणमा प्रगति देखिएको छ । खासगरी विद्यालयको भौतिक पूर्वाधारको अवस्थामा सुधार आएको छ । ग्रामीण क्षेत्रका विद्यालयहरू पक्की भवनमा रूपान्तरण भएका छन् । कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । विद्यालयलाई पूर्वाधारसम्पन्न बनाउने उद्देश्यले सरकारले यो कार्यक्रम लागू गरेको थियो । सुरुवातमा यसको कार्यान्व्यनको गति सुस्त भएपनि यो वर्ष भने उल्लेख्य प्रगति भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि छनोट भएका अधिकांश विद्यालयहरूको भवन निर्माणको काम सम्पन्न भएको छ । भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको हो । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा भवन निर्माण थालिएको थियो । अघिल्ला आर्थिक वर्षहरूमा बजेट फ्रिज हुने गरेको थियो भने धेरैजसो विद्यालय भवन अधुरै हुने गरेका थिए । चालु आर्थिक वर्षमा समयमै काम सम्पन्न भएको हो ।
यो वर्ष दैलेखमा चार कोठे भवन निर्माणका लागि ११ वटा पालिका ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ अन्तर्गत भवन निर्माणका लागि छनोट भएका थिए । जसमध्ये दश वटा पालिकाको भवन निर्माणको काम सकिएको छ । जाजरकोटका सात र मुगुका चार वटै पालिकामा चार वटा विद्यालय भवन निर्माण भएका छन् । आठ वटा स्थानीय तह रहेको जुम्लामा यो वर्ष चार वटा पालिका मात्र छनोट भएका थिए । चार वटै पालिकामा भवन निर्माणको काम सकिएको छ । रूकुमपश्चिममा ६ पालिकामा ६ वटा चार कोठे भवन निर्माण सम्पन्न भएका छन् । कालीकोटका नौ वटै पालिकामा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । भवन निर्माणका लागि चार करोड ५० लाख बजेट कार्यान्वयन गरिएको थियो । डोल्पामा आठ स्थानीय तहमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठमध्ये दुई वटा पालिकामा काम सम्पन्न भएका छ भने अन्य स्थानीय तहमा काम अन्तिम चरणमा पुगेको छ । यो वर्ष सुर्खेतका नौ स्थानीय तहमा नौ वटा विद्यालय छनोट भएका थिए । जसमध्ये सात वटा पालिकाले मात्र भवन निर्माण सम्पन्न गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयको पूर्वाधार निर्माण तथा सुधारमा उल्लेख्य प्रगति देखिएको छ । स्थानीय पालिकामा विद्यालयका भवन धमाधम निर्माण भएका छन्, हरेक स्थानीय तहमा एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सुरु गरेको हो ।
प्रकाशित मितिः २६ असार २०८१, मंगलवार ०५:०३
सम्पादकीय ।