कृषकलाई सरकारी प्रोत्साहन

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १३ रामघाटस्थित हरेकका घरघरमा आँपको बगैँचा छन् । यो समय नै आँपको हो । बोटहरूमा लटरम्म फलेका आँपले रामघाट क्षेत्र नै गुलजार भएको छ । बिघौँ–बिघा जमिनमा आँपकै बगैँचा छन् । जसले राम्रो आम्दानी पनि दिएको छ । भेरीगंगाका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन् । कृषक सबैको घर आँप बिक्रीबाटै चल्छ । यहाँको आँप पोखरा, बुटवल, रूकुम, सल्यान, जाजरकोट वीरेन्द्रनगरसहित विभिन्न सहरका साथै भारतलगायतका अन्य छिमेकी मूलुकमा निर्यात हुँदै आएको छ । यतिबेला एक जना कृषकले आँप बेचेर लाखौं कमाउने गरेका छन् ।

रामघाटको आँप खेती कर्णाली प्रदेशभा फलफूल खेतिको सम्भावना उजागर गर्ने एक दृष्टान्त हो । कर्णालीमा अन्य कृषि उत्पादनसँगै फलफूल खेतीको पनि प्रशस्त सम्भावना छ । आँपदेखि ओखरसम्म, कागतीदेखि सुन्तला र स्याउसम्म । यस्ता अनेक फलफूलका लागि अनुकूल हावापानी छ । तर यसको पर्याप्त सदुपयोग हुन सकेको छैन । प्रदेशले लाभ लिन सकेको छैन । परम्परागतरूपमा हुने खेतिलाई व्यावसायिकरण गर्न सकेको खण्डमा कृषकका साथसाथै समग्र प्रदेशले पर्याप्त आर्थिक लाभ लिन सक्दछ । जसले कर्णालीलाई फलफूलमा आत्मनिर्भर बनाउनुका साथै निर्यातमार्फत आन्तरिक आम्दानी बढाउने विकल्पसमेत प्रदान गर्दछ । यसका लागि सरकारले कृषकहरूलाई व्यावसायिक फलफूल खेतितर्फ प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिन्छ । पछिल्लो समय कर्णाली प्रदेश सरकारले पनि फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । फलफूल उत्पादन बढाउन अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ । जसअनुसार कृषकहरूलाई बिरुवा वितरणमा अनुदान दिने गरिएको छ ।

प्रदेश कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षमा समेत कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको हो । निर्देशनालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराइएको हो । समूह, सहकारी र व्यावसायिक रूपमा खेती गर्ने कृषकलाई बिरुवा वितरण गरिएको छ । यसका लागि कृषकले कुन जातको कति संख्यामा बिरुवा लैजाने हो अग्रिम नाम लेखाएर रकम जम्मा गर्नुपर्छ । यो वर्ष अनुदानका लागि ५७ कृषक छनोटमा परेका छन् । निर्देशनालले यसअघि आवेदन खुल्ला गरेको थियो । उनीहरू त्यसैबाट छनोटमा परेका हुन् । उक्त कार्यक्रमका लागि निर्देशनालयले चालु आर्थिक वर्षमा आठ लाख बजेट छुट्टाएको छ । यसरी सरकारी प्रोत्साहनले कृषकहरू व्यावसायिक खेतितर्फ आकर्षित हुन सक्दछन् ।

प्रकाशित मितिः   २४ असार २०८१, आईतवार ०५:०३