शैक्षिक ऋणदेखि कृषिसम्ममा लगानी
सुर्खेत: वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले उच्च शिक्षा अध्ययन गर्नेदेखि वैदेशिक रोजगारीमा जानेहरूसम्मलाई ऋण प्रवाह गर्ने गरेको छ । व्यवसाय, कृषि, पशुपालनसहित लगानीको क्षेत्र विस्तार गर्दै शैक्षिक ऋण र वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि समेत कर्जा प्रवाह गर्ने गरिएको हो ।
सहकारीका सदस्य रहेका युवाहरूका लागि वैदेशिक रोजगारी अन्तर्गतको ऋण दिने गरिएको हो । हालसम्म सात जना सदस्यहरूलाई ४८ लाख ८१ हजार रूपैयाँ ऋण दिइएको अध्यक्ष बमबहादुर बिसीले जानकारी दिए । ‘सहकारीले वैदेशिक रोजगारीमा जान चाहने सदस्यहरूका लागि ऋण लगानीको व्यवस्था गरेको छ,’ उनले भने, ‘यो सुविधाले सहकारी सदस्यहरू वैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भिœयाइरहेका छन् ।’
यस्तै सहकारीले उच्च शिक्षा अध्ययनन गर्न चाहने शेयर सदस्यका छोराछोरीका लागि पनि लगानी गर्ने गरेको छ । त्यसका लागि शैक्षिक ऋणको व्यवस्था गरिएको अध्यक्ष बिसीले बताए । हालसम्म शैक्षिक ऋण शीर्षकमा ३५ लाख २५ हजार रूपैयाँ लगानी गरिएको छ ।
त्यसैगरी कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार रूपैयाँ ऋण लगानी भएको छ । ‘तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत् शेयर सदस्यहरूलाई स्वरोजगार बनाउने लक्ष्य सहकारीको हो, यसले कृषि तथा पशुपालन व्यवसाय बढ्नुका साथै आयआर्जनमार्फत् जीवनस्तरमा पनि सुधार आएको छ’ बिसीले भने ।
चालू आर्थिक वर्षको असार १५ गतेसम्म सहकारीले व्यवसाय शीर्षकमा ५७ करोड ८३ लाख ९६ हजार रूपैयाँ लगानी गरेको छ । यसबाट प्रदेश राजधानीमा ठूला होटल तथा थोक व्यवसाय सञ्चालन भइरहेको जनाइएको छ । यही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ । लघुउद्यम शीर्षकमा दुई करोड ९८ लाख ७४ हजार तथा युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार रूपैयाँ शेयर सदस्यहरूलाई लगानी गरिएको शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । सहकारीका प्रवन्ध निर्देशक छत्र थापाले चालु आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार रूपैयाँ ऋण लगानी भएको जानकारी दिए ।
वीरेन्द्रनगरमा मुख्य कार्यालय रहेको सहकारीले हाल १३ ठाउँबाट सेवा दिइरहेको छ । स्थापना भएको २३ वर्षमा आठ वटा सहकारीलाई एकीकरण गरेर सहकारीलाई थप विस्तार समेत गरिएको छ । २०५८ सालमा २७ जना सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले २३ हजार बढी सदस्य छन् ।
सहकारीसँग हाल ४६ लाख ५० हजार रूपैयाँ नगद मौज्दात रहेको छ । बैंक मौज्दात १८ करोड ३७ लाख ४७ हजार छ । यस्तै स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार रूपैयाँ छ । संस्थाको हालसम्मको कूल सम्पत्ति एक अर्ब २२ करोड ९५ लाख ४३ हजार रहेको जनाइएको छ ।
संस्थाको २३औँ स्थापना दिवसको अवसरमा शुक्रवार पत्रकार सम्मेलन गरेर दिइएको जानकारीअनुसार सहकारीले चालू आर्थिक वर्षमा ३६ जना सुत्केरी सदस्यहरूलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च प्रदान गरेको छ । त्यसबाहेक १० जना मृतक शेयर सदस्यहरूलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटनामा मृत्यु भएका तीन जना शेयर सदस्यहरूका परिवारलाई १० लाख ६५ हजार रूपैयाँ उपलब्ध गराइएको प्रवन्ध निर्देशक थापाले जानकारी दिए ।
प्रकाशित मितिः २४ असार २०८१, आईतवार ०५:०२
साझा बिसौनी ।