पहिरोले राजमार्ग अवरुद्ध

सुर्खेत: अविरल वर्षासँगै पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परेका छन् । सुर्खेत, नेपालगञ्जदेखि कालीकोट, जुम्ला र मुगु आउने अनि कालीकोट, जुम्ला र मुगुदेखि सुर्खेत नेपालगञ्ज छुटेका सयौं सवारीसाधनहरू अलपत्र परेका हुन् ।

पहिरोले सवारीसाधन रोकिएपछि यात्रुहरूले सास्ती पाइरहेका छन् । अधिकांश यात्रुहरू हिँडेर पहिरो क्षेत्र पार गर्ने अवस्थामा रहेको र कैयन यात्रुहरू गन्तव्यमै पुग्न नपाइ फर्किने गरेको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार बर्सेनि कर्णाली राजमार्गमा पहिरोले सास्ती दिने गरेको छ ।

कालीकोट खण्डमा मात्रै पाँच स्थानमा पहिरो गएको थियो । जसमा माल्फाको दुई र शेरीघाटको पहिरो पन्छाइसकिएको छ । गगनेखोला र हुल्मको पहिरो पन्छाउने कार्य चलिरहेको डीएसपी केसीले जानकारी दिए । उनले भने, ‘पहिरोले बिहानैदेखि सवारी आवागमन ठप्प छ । सवारीसाधन अलपत्र छन् । यात्रुहरू जोखिममा छन् ।’ डोजर मगाएर दुई स्थानको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । डीएसपी केसीका अनुसार राति अबेरसम्म पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।

बर्सेनि सामान्य वर्षा हुनेबित्तिकै सडकमा पहिरो जाने भएकोले कर्णालीवासी आजित छन् । अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य बस्तुहरूमा कालोबाजारी हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानेबित्तिकै पहिरो पन्छाउन मेसिनको व्यवस्थापन गर्नुपर्ने स्थानीय जयबहादुर केसीले बताए । उनले भने, ‘अहिले पहिरो गएको घण्टौ बित्दा पनि मेसिन ल्याउन सकिने अवस्था छैन । अब सरकारले हरेक वर्ष कालीकोट खण्डको झण्डै आधा दर्जन स्थानमा डोजरहरू राख्नुपर्ने हुन्छ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका ६ जिल्ला रेड अलर्टमा रहेका छन् । जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, हुम्ला र जुम्ला रेड अलर्टमा रहेका हुन् । देशका धेरै स्थानमा लगातार पानी परिरहेकाले बाढी, पहिरो, डुबान र बाटो बन्द हुने समस्या देखिएको भन्दै कर्णाली प्रदेश सरकारले सकेसम्म मनसुनको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । यसका लागि १०३ मा फोन गर्न, बाढी र मौसमसम्बन्धी जानकारी लिन १४५५ र उद्धारका लागि ११४९ मा फोन गर्न सुझाव दिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटको हुल्म बजार नजिक ठूल्ठुला बोल्डर आई पूर्णरूपमा सडक अवरुद्ध भएको र गगने खोला, झाम्ला खोलासहित विभिन्न स्थानहरूमा लेदो बगेर, पहिरो झरेर सडक अवरुद्ध भएको जानकारी प्राप्त भएको जनाएको छ । उक्त स्थानहरूमा सडक सञ्चालन गर्नका लागि हृवील लोडर र एक्स्काभेटर परिचालित भइरहेका छन् ।

प्रकाशित मितिः   २३ असार २०८१, आईतवार ०५:०१