यस्तो पनि हुँदोरहेछ
यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्ने एउटा भूल गरें मैले…
यादव खरेलको मानसबाट रचनाकृत भइ गायक फत्तेमान राजभण्डारीको सुमधुर आवजमा घन्कने यो कालजयी गीत नेपाली संगीत क्षेत्रमा अत्यन्त चर्चित छ । एकाएक राजनीतिमा हलचल आएपछि यही १९ गते राजीनामा बुझाउन गएका एमालेका मन्त्रीगणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा यही गीत सुनाएछन् । कसैले मनमा विश्वास भरेर कसैलाई अधिक माया गर्दागर्दै पनि ती प्रियतमा अन्यत्रै माया सारेर ठूलो धोका दिएपछि हैरान भएको गहिरो भाव गीतमा प्रष्ट झल्कन्छ । सत्ताबाट छिट्टै बेदखल हुने चिन्ता मनमा पसेपछि पानीमाथिको ओभानो देखिन र सहानुभूति बटुल्न यो गीतलाई दाहालले सहारा बनाएका हुन् भनी बुझ्न कतै कठिन छैन ।
पहिलो संविधानसभा निर्वाचनमा शीर्ष स्थान हासिल गरेको माओवादी पार्टी दाहालको अहंकारका कारण दोस्रो संविधानसभा निर्वाचनमा एकैचोटि तेस्रो स्थानमा पुगेको कुरा उनले सार्वजनिक रूपमा स्वीकारेका छन् । सेनाका प्रधानसेनापतिसँग जोरि खोजेको विषय मात्र गलत भएको होइन कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिएर बाटो छेकेको विषय पनि गलत थियो भनी सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । गल्ती स्वीकार्दा स्वीकार्दै पनि उनले आफ्नो मति सुधार्न सकेनन्, बरु धोकाको राजनीति अबलम्वन गर्न थाले । एमसीसी जस्ता विवादित काण्डहरूमा दोहोरो चरीत्र देखाएर देशलाई धोका दिए । कांग्रेस र एमालेमा पालैपालो घोडा चढेर राज गर्ने पञ्चायत कालदेखिका निकृष्ट र बदनाम एउटा नेता थिए सूर्यबहादुर थापा । ती थापालाई पनि उछिनेर राजनीतिक पार्टी र व्यवस्थालाई धोका दिए दाहालले । सबै शुभलाभ र अवसर आफ्ना छोरी, बुहारी, ज्वाईं, सम्धी, भाइ र नातागोतामा बाँडेर आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिए । धोकाको राजनीतिमा अभ्यस्त भएको कारणले गीतको केही शब्द मात्रै फेर बदल गरेमा उनको चरीत्रसँग दुरुस्त मिल्न जाने देखिन्छः
यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले
सबैलाई धोका दिने एउटा भूल गरेँ मैले…
यही असार १५ गते शनिवार पुष्पलाल श्रेष्ठको स्मृति प्रतिष्ठान कार्यक्रममा प्रधानमन्त्री दाहालले वामपन्थी एकताको प्रयास अगाडि बढिरहेको अभिव्यक्ति दिए भने सोही दिन धानदिवस कार्यक्रमका लागि धान रोप्न चितवन पुगेर पत्रकारको प्रश्नमा तत्काल वामपन्थी एकताको कुनै सम्भावना नरहेको जवाफ दिएर सबैलाई आश्चर्य चकित बनाए । उहि दिनको बिहान र साँझ यस्ता विरोधाभास अभिव्यक्ति दिन, बनावटी कुराले जनता झुक्याउन र निसंकोच रूपमा झुठो बोल्न दाहाललाई कुनै आइतवार चाहिँदैन किनकि उनी यसमा अभ्यस्त भैसके ।
राजनीतिमा उनको भन्दा अस्थिर चरीत्र अरुको सायदै होला, तर कस्तो विडम्बना आफूलाई उनी गतिशील भनेर आफै फुरुङ्ग हुन्छन् । मञ्चमा बोल्न पाए भने उनी आफ्नो सप्रशंग व्याख्या गर्दै आदर्श नैतिकता ज्ञान र सन्देश बाँडेर थाक्दैनन् । कार्यसम्पादनले भन्दा पनि उपस्थितिले चारैतिर आफ्नो पदको तुजुक देखाउन दाहाल दौडादौड गरिरहँदा, एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली पुष्पलाल श्रेष्ठको स्मृतिदिवस कार्यक्रममा समेत अनुपस्थित रहि आफ्नो निवास बालकोटमा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी आरजु देउवाको प्रतीक्षा गरिरहेका थिए ।
यता एमालेको हाउँगुजी देखाएर कांग्रेस तर्साउने र उता कांग्रेसको धाक देखाएर एमालेलाई तह लगाउने दाहालको रणनीतिबाट दुवै पार्टी आजित भइरहेका थिए । ओलीसँग पानी बाराबारमा रहेका दाहाल चुनावमा देउवाको शरण परे । उता गठबन्धनमा आफ्नो हैसियत नपुगेपछि प्रधानमन्त्री पद फुत्काउनका लागि ओलीको दैलामा आए । सिद्धान्त आदर्श नैतिकता केहीले पनि छेक्न सकेन । फेरि कांग्रेससँग स्वार्थ जोडिएपछि उतै फङ्गाले, लाज सरम पोलेर खाए । अब गिरीबन्धु टी स्टेटको फाइल पनि खोल्छु भनेर त्यतिखेर निकै बाजा बजाए । आफ्नो प्रधानमन्त्री पद लम्ब्याउनका लागि दाहालले फेरि कांग्रेसलाई धोका दिएर एमालेको आँगनमा आउदै गर्दा प्रतिक्रियावादीले थुन्न खोजे भने लात्तले हान्छु भनी प्रत्येक्ष परोक्ष कांग्रेसलाई मात्रै गाली गरेनन्, बाचुञ्जेल देशमा उथलपुथल गरिदिन्छु भन्ने आसयले जनताको मर्ममाथी पनि प्रहार गरे ।
‘हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनका कारणले र हाम्रो जादुयी नम्बरका कारणले पनि…।’ आफ्नो कुनै जनवर्गीय संगठन कार्यक्रममा कालो बिर्केटोपी लगाएर बोल्दा उनको अभिव्यक्तिले मात्र होइन हाउभाउ र भावभङ्गिले समेत अहंकार उम्लिरहेको प्रष्ट देखिन्थ्यो बुझिन्थ्यो । यही जादुवाला नम्बरका कारण पूरै कार्यकाल बसिन्छ भन्ने ढंगको दाहालको उन्मादले ओलीलाई मर्ममा नघोच्ने कुरै भएन । बेला कुबेला पोखिरहने दाहालको अहंकार उन्माद र रवैयाले जन्मजात सिद्धान्त र विचार नमिल्ने कांग्रेस र एमालेजस्ता परस्पर विरोधी पार्टीलाई एक ठाउँमा उभिने वातावरण मिलाइदियो । बालकोटमा देउवा र ओलीले तीन घण्टासम्म दही चिउरा मात्र खाएनन् अवश्य धेरै कुरा पकाए । राजनीतिमा उलटफेरको संकेत देखाए ।
राजधानी फर्किएका प्रधानमन्त्री दाहालले आफ्नो सत्ता यात्रामा संकट मडारिन थालेको देखेपछि हतारमा ओलीलाई भेट्न बालुवाटार बोलाए । देउवासँग भेटघाटको रहस्य खोतल्न पनि प्रयास गरे, अन्तमा प्रधानमन्त्री पद उनलाई हस्तान्तरण गर्न तयार रहेको खुलासा गरे । लालच देखाइ फकाएर ओलीलाई देउवाबाट टाढा पु¥याउन सफल भएको भ्रम पाले । विश्वासी आफन्तलाई प्रधानमन्त्री पदको प्रस्ताव लिएर देउवासँग पनि पठाए । ओलीलाई जस्तै देउवालाई पनि उही लालच देखाएर फकाउने रणनीति अपनाए । कुटनैतिक मर्यादा नाघेर कोही राजदूत पनि दाहालको खेताला बनेको देखेपछि देउवा ओली सहमतिको संघारमा पुगे । दाहालले दुवै जनालाई छुट्टाछुट्टै प्रधानमन्त्री पद दिने आश्वासनमा टाढाटाढै राख्न खोजेको अन्तर्य पनि बुझे । केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न भने झैं दाहाल आफ्नै कुकर्मको दलदलमा फस्न थाले । यहाँ पनि फेरि त्यही गीत सान्दर्भिक हुन्छः
यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले…
अति गरेपछि खती व्यहोर्न पर्छ भने झैं एमालेका मन्त्रीहरूले राजीनामा बुझाइ सकेपछि पनि विश्वासको मत सामना गर्छु भन्ने ढंगले सत्ताको आयु लम्ब्याउने प्रयत्न गरेपनि ३० दिनभित्र दाहालले अनिवार्य सरकार छोड्नुपर्ने छ । उल्टो दिनगन्ती सुरु भैसकेको अवस्था दाहालले यही २८ गते विश्वासको मत लिने घोषणा गरेका छन् । साधारण दैनिक प्रशासनिक कामबाहेक यो अल्पमतको सरकारले विशेष केही गर्न सक्ने अवस्था छैन । रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न मिल्दैन न सबै मन्त्रालयको काम प्रधानमन्त्री एक्लैले धान्न सम्भव हुन्छ । कुनै नेता कार्यकर्तामाथि अनियमित भ्रष्टाचारमा पक्का काम गर्नखोजे पनि यसको उपादेयता हुँदैन किनकि यसमा नियत र पूर्वाग्रह मात्रै देखिन्छ । निजामती, सेना र प्रहरी कर्मचारीले यस्तो अल्पमत सरकारको सबै जिम्मेवारी बोक्न हिच्किचाउँछन्, किनभने तुरुन्तै भोलि अर्को सरकारलाई पूर्ण जवाफ दिनुपर्ने हुन्छ । यस्तो विषम परिस्थितिमा पनि सत्ताको दिन लम्ब्याउन प्रयत्न गर्नुको पछाडि रात गए अग्राख पलाउँछ भन्ने उखान आत्मसात गर्न खोजेको हुनसक्छ । कसैको गलत सुझावले यो अवधिमा कांग्रेस र एमालेमा फाटो ल्याएर बखेडा झिक्नु सकिन्छ कि भन्ने मनमा आशा जागेको पनि हुन सक्छ ।
ऐन मौकामा पायक पर्नेगरि मन्त्रीपरिषदबाट निर्णय गराईहल्न पनि यो समयको उपयोग गरिएको हुनसक्छ । तर अब सबै षड्यन्त्रका तानाबाना प्रत्युत्पादक सिवाय केही हुँदैन र जादुवाला नम्बरले चमत्कार गर्न सक्ने पनि देखिदैन । पुष्पकमल दाहाल राजनीतिबाट किनाराकृत भएर देउवा र ओली सत्तामा आउनु भनेको जनताका लागि हर्ष र विस्मात केही होइन । देश र जनतालाई घरीघरी सताएर रुवाएका यी परम्परावादी पुराना अनुहार हुन । परीक्षण भइसकेका यस्ता अनुहारबाट मिठा आशा भरोसा केही छैन । ठूला पार्टीहरू आपसमा मिलेर सत्ता चलाउनु भनेको देशले क्षति व्यहोर्नु हो, यस्तो अवस्थामा सरकारलाई खबरदारी गर्ने प्रतिपक्ष बलियो हुन सक्दैन भन्ने ढंगका तर्क पनि मिडियामा आए । गणतन्त्र स्थापना भइसकेपछि सत्ता र प्रतिपक्ष एकनास भएका छन् । खानपिन र भातभान्सामा एकमत छन् । अर्थमन्त्रालयको सीसीटिभी काण्ड, सुन काण्ड, एनसेल काण्ड यस्ता उदाहरण तमाम छन् । क्रान्तिकारीको बिल्ला लगाएर आएको माओवादीसँग सुरुका दिनमा अब त केही हुन्छ कि भन्ने जनताको झिनो आशा थियो, संविधान निर्माणमा जनता पूरापूर झुक्याएपछि र भ्रष्टाचारमा अरुलाई पनि उछिन्दै अगाडि गएपछि आशा र विश्वास पनि मेटिएर गयो ।
निर्वाचन परिणाममा कसैको प्रष्ट बहुमत नआए पनि सबैभन्दा ठूलो पार्टी हुनुको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने हो । कथन कदाचित कांग्रेसको सरकार बन्न नसकेका घडी एमालेको नेतृत्वमा सरकार गठन हुनु पनि संवैधानिक नै मानिन्छ किनकि जनमत त्यही अनुरूप आएको छ । यहाँ केवल दाहालको महोत्वकांक्षाले जनमतको उपेक्षा गरेर असंवैधानिक ढंगको सरकार निर्माण भयो, भलै आ–आफ्नो स्वार्थका लागि कांग्रेस एमालेले पालैपालो शरण दिए होलान् । ठूला पार्टीलाई पाखा राखेर तिगडमका भरमा निर्माण भएको सरकारले देश र जनताको कुरा छोडौं आफ्नो अस्थिर सत्ता जोगाउनका लागि मात्रै समय बर्बाद गरिरहन्छ । मनोकांक्षाले रोपिएको यस्तो यो नजाती कुसंस्कार अन्त्य हुनु अनिवार्य थियो । सत्ता गुमेको आक्रोशमा विश्वासको मत सामना गर्ने भनिएको २८ गतेका दिन गणतन्त्र ल्याउने वीर पुरुष भनेर दाहालले आफुलाई निकै प्रशंसा गरि अरुमाथि सम्पूर्ण दोष थुपार्ने शैलीको लामो भाषण दिनेछन् । भाषणमा आदर्श सिद्धान्त नैतिकताको पनि व्याख्या हुन सक्नेछ ।
राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने भाष्य स्थापित गरिएको छ । विगतका घटनाक्रमले पनि त्यसलाई पुष्टि गरि रहेका छन् । भोलि आन्तरिक र बाह्य माहोल अनुकूल भयो भने आज सत्ताच्युत हुँदै गरेका दाहाल फेरि सरकारको नेतृत्व गर्न पुगेमा कसैले अनौठो मान्नु पर्दैन । यदि समय र माहोल प्रतिकूल भैरह्यो भने यो पूरा कार्यकालसम्म प्रतिपक्षको धर्म निभाउनुको विकल्प देखिदैन । अब प्रतिपक्षमा हुँदाहुँदा पनि विभिन्न न्यायीक निकायमा विचाराधीन केही मुद्दाहरूले मस्त निदाउन दिने छैनन् । सत्य निरूपण तथा मेलमिलाप आयोग टीआरसी विधेयकले टाउको दुखाउन छोड्ने छैन । १८ वर्षसम्म प्रत्यक्ष परोक्ष सत्तामा डुबुल्की मार्दा संक्रमणकालीन न्याय अलपत्र परिरहेको छ । हिजो सत्ता उन्माद र हैकमले कोही कसैलाई नटेरे पनि अब प्रतिपक्षमा बसुन् कि सडकमा जाउन् द्वन्द्वकालका घाइते अपाङ्ग, एकल महिला, टुहुरा र बेपत्ताका परिवारलगायत जनताका प्रश्नलाई दाहालले पन्छाएर बेवास्ता गरेर धर पाउने छैनन् ।
– उमालाल आचार्य
प्रकाशित मितिः २४ असार २०८१, आईतवार ०५:०४
उमालाल आचार्य ।