सडक स्तरोन्नति गर
पश्चिम सुर्खेतका नागरिकले बर्सेनिरूपमा सडक सास्ती खेपिरहनुपरेको छ । पश्चिममा सडकको सहज पहुँच छैन । भएका सडक पनि जीर्ण छन् । वर्षातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको दुःख नागरिकले वर्षाैंदेखि झेल्दै आएका छन् । वर्षातको समयमा दैनिकजसो परेको पानीले सडक हिलाम्मे हुँदा नागरिकले सास्ती खेपिरहेका छन् । राजमार्गकै सडक निर्माणमा ढिलाइ हुँदा पश्चिमका नागरिकलाई सास्ती भएको हो । सडक हिलाम्मे भएकाले पश्चिमका नागरिकलाई वीरेन्द्रनगर आउजाउमा समस्या मात्र भएको छैन, हिलोमा फसेका गाडी धकेल्न यात्रुहरू बाध्य छन् । सडक हिलाम्मे र चिप्लो भएकाले सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । वर्षातका कारण सडकको दूरावस्था भएपनि वर्षौदेखि यो सडकको अवस्थामा सुधार आउन सकेको छैन । स्तरोन्नतिको काममा ढिलाइ भइरहेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिमका तीन वटा पालिका जोड्ने सडक स्तरोन्नति हुँदैछ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्डमा काम भइरहेको छ । यो सडक हुँदै दैनिक ठूलो संख्यामा मालबाहक, यात्रुबाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन् । त्यही सडक बिचका खाल्डाखुल्डी र किनारमा थुपारीएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढाइरहेको छ । पुल र बाटो समयमा नबन्दा नागरिकलाई समस्या भइरहेको छ । उक्त सडकखण्डमा तीन वटा मोटरेवल पुल निर्माण हुनेछन् । अहिले एउटा पुल निर्माणको काम सकिएको छ भने दुई वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । एउटै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुल निर्माणको काममा ढिलाइ हुँदा वर्षातमा नागरिकले सास्ती खेप्नुपरिरहेको छ । तीन वटा वटा पुलको ठेक्का मृत सञ्जिवनी प्रदेज भक्तपुरले लिएको छ । डिजाइन एण्ड विल्ड ठेक्कामार्फत् तीन वटा पुल निर्माण हुनेछन् । २०७८ फागुन २ गते तीन वटै पुलको ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८१ मंसिर ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । एउटा पुल निर्माण समयमै सम्पन्न भएको भएपनि अन्य दुई वटा पुल निर्माणको काममा ढिलाइ भइरहेको छ ।
गुटु खोला, ब्यूरेनी र विद्यापुर खोलामा तीन वटा पुल निर्माण हुनेछन् । विद्यापुर खोलामा पुल निर्माण सम्पन्न भएर गाडी चलिसकेका छन् भने गुटु खोला पुल निर्माणको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस्तै, ब्यूरेनी खोलाको ६५ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भइरहेको छ । सडकदेखि पुलसम्मको निर्माणको काममा भएको लापरबाहीले नागरिकलाई सास्ती भएको छ । समयमै स्तरोन्नतिको काम सम्पन्न गर्नेतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ ।
प्रकाशित मितिः २१ असार २०८१, बिहीबार ०५:०३
सम्पादकीय ।