युवा, शिक्षा र देशको अवस्था
युवा भन्ने बित्तिकै १८ देखि ४० वर्षसम्मका ऊर्जाका केन्द्रलाई बुझिन्छ । देशको विकास, समृद्धि तथा प्रगतिका संवाहक नै युवा हुन् । समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजका युवा शक्ति हुन् । युवा उमेर मात्र होइन, प्रवृत्ति हो, दृष्टिकोण, जोस, जाँगर र हिम्मत पनि हो । जसलाई कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी मानिन्छ ।
युवालाई स्थानीय तहदेखिनै शासन प्रणालीमा जोड्दै, उनीहरूको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा सञ्चालन गर्न आवश्यक देखिन्छ । राज्यको मूल प्रवाहीकरणमा ल्याएर सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अंगमा सार्थक सहभागिता र संलग्नताको सुनिश्चितता गर्नु आवश्यक छ । जसले नेपाललाई आधुनिक, न्यायपूर्ण तथा समृद्ध बनाउने छ, भने गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालको बृहत्तर विकास गर्न समेत योगदान पुर्याउँछ ।
युवाको हितका लागि विभिन्न कानुनी–नीतिगत, संरचनागत तथा प्रक्रियागत रूपान्तरणका प्रयास गरी उनीहरूको चाहना, सोचाइ, लक्ष्य तथा उद्देश्यहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपाली नागरिकको चाहनाअनुसार संविधान सभामार्फत् नेपालको संविधान २०७२ जारी भयो । यस संविधानले नेपालमा संघीय शासन प्रणालीको स्थापना ग¥यो र सात सय ५३ वटा स्थानीय तह, सात वटा प्रदेश तथा संघीय सरकार स्थापित भयो । युवाको क्षेत्रमा काम गर्नको लागि संघीय तहमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट लगायतका निकाय स्थापित भएका छन् । जसले शासन प्रक्रियामा युवाको अर्थपूर्ण संलग्नता तथा सहकार्यको लागि काम गर्दछन् ।
प्रादेशिक सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय स्थापना भएका छन् । जसले युवाको सवाललाई हेर्ने गरी क्षेत्राधिकार तोकिएको छ । प्रदेशहरूमा युवाका क्षेत्रमा काम गर्ने विभागहरू छन् । स्थानीयस्तरका सम्पूर्ण सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास निर्माण तथा रूपान्तरणको जिम्मेवारी स्थानीय तहले पाएका छन् । स्थानीय तहले पाएका एकल तथा साझा अधिकारको कार्यान्वयनको लागि युवासँग समन्वय गर्न सकेमा प्रभावकारितामा वृद्धि भइ लक्षित वर्ग तथा समुदायले बढीभन्दा बढी लाभ लिन सक्ने देखिन्छ । परिवर्तित राजनीतिक, सामाजिक, सांस्कृतिक सन्दर्भमा स्थानीय तहबाटै युवामैत्री शासनको सुरुवात गर्ने महत्वपूर्ण अवसर हो ।
नेपालको संविधान जारी भएसँगै देशमा समावेशीकरणको व्यवहारिक अभ्यास सुरु भएको छ । संविधानले युवा समुदायमा सिर्जनशीलता, उद्यमशीलताको विकास गर्दै देशको आधारभूत शक्तिका रूपमा उनीहरूलाई स्थापित गर्ने र उनीहरूको क्षमतालाई देश निर्माणको अभियानमा लगाउने कुरालाई महत्व दिन आवश्यक देखिन्छ । यसको लागि आवश्यक पर्ने कानुन, नीति–नियम तथा रणनीतिहरू तर्जुमा गर्ने कार्यको सुरुवात गर्ने स्थानीय, प्रदेश र संघीय सरकारले कार्यान्वयन गर्ने जरुरी छ ।
पछिल्लो पुस्ताका युवाहरूमा निराशाको बादल मडारिनुको मुख्य कारण पनि हिजोको इतिहास हो । आजको परिवेश भनेको युवाहरूको आकर्षणको केन्द्र नै वैदेशिक रोजगार परेको छ । नेपालको जनसंख्याको करिब ४० प्रतिशत युवाहरू रहेका छन् । ती कहाँ छन् ? सबैले दिने उत्तर हो, वैदेशिक रोजगारीको लागि राहदानी लिने लाइनमा साउदी, कतार, दुबई, मलेसिया, जापान, कोरिया, अस्ट्रेलिया युरोप र अमेरिकाको सपना बोकेर दौडिरहेका छन् । उदास मन, ऊर्जावान् शरीर र अन्योल दिमाग बोकेर कोही जिन्दगीको म्याराथन दौडिरहेको छ भने त्यो बेरोजगार युवा हुनुपर्छ । नेपालमा बसेर केही काम छैन । विदेश गयो भने त अलि राम्रो ठाउँमा घर घडेरी किन्न सकिएला घरपरिवारलाई राम्रो हेरचाह गर्न सकिएला भन्ने विचार व्यक्त हुन्छ । समाज परिवर्तनका वाहक ऊर्जाका केन्द्रबिन्दु भनिएका चेतनशील डिग्री हासिल गरेका युवाहरूको अनि कसरी बन्छ देश ? राष्ट्रका खम्बालाई विदेशीको गुलामी बनाएर आज दक्षिण कोरिया जानका लागि लोकसेवा आयोगको जस्तै परीक्षा पास गरी स्वास्थ्य परीक्षण गराई मात्रै जान पाइन्छ । यसरी छानिछानी दक्ष, अनुभवी र स्वस्थ मानव युवा जनशक्तिलाई विदेशी राष्ट्रहरूले लगेपछि अनि कसरी बनोस् हाम्रो देश ? यो कुरा कहिले आउने हाम्रो राष्ट्र हाँक्ने राष्ट्रनायकहरूको मगजमा ?
कुनै पनि देशका युवा वर्ग भनेका राष्ट्रका धन हुन । राष्ट्रले आफ्नो यो धनलाई उचित प्रयोग गर्न सकेमा नै राष्ट्रको समुचित विकास हुने हो र सम्भव छ । विश्व इतिहास हेर्दा जहाँसुकै पनि उथलपुथल ल्याउने सामथ्र्य युवाहरूले नै देखाएका छन् । विश्वमा ठुलठुला परिवर्तन युवाहरूले नै गरेका छन् । नेपोलियनले २६ वर्षकै उमेरमा विश्वविजय अभियान थालिसकेका थिए । गौतम वृद्धले ३६ वर्षमै ज्ञान प्राप्त गरिसकेका थिए भने कार्ल माक्र्सले ३० वर्षको उमेरमै कम्युनिष्ट घोषणापत्र लेखि विश्वमा नयाँ राजनीतिक दर्शनको जग बसाइसकेका थिए ।
अब प्रश्न खडा हुन्छ, के युवाले खोजेको देश यहीँ हो त ? पक्कै पनि हुन सक्दैन । त्यसो भए युवाले खोजेको देश कस्तो हो ? विकसित देशहरूको उदाहरण हेर्ने हो भने पनि ठ्याक्कै सफल देश यही हो भन्न सकिँदैन । किनभने समय अनुकूल हरेक देशले विभिन्न समस्याहरूको सामान गरिरहनु परेको छ । र, त्यसको समाधान पनि भइरहेको छ । हामीले विकसित देश पनि कुनै देशलाई यस कारण भनिरहेका छौैैँ । अर्काे देशसँग तुलना गरेर उक्त देशहरूको तुलनामा विकसित भनिने देश बढी सामाजिक, सांस्कृतिक, आर्थिक र नीतिगत रूपमा सबल र सक्षम छन् । देशको प्रतिव्यक्ति आय बढी छ । नागरिकहरू सन्तुष्ट छन् ।
विकसित देशमा कानुनी, नीति–नियम र प्रणालीको राम्रो पालना भएको देखिन्छ । उनीहरूले कागजमा लेख्दैनन् मात्र कार्यान्वयन पनि गर्छन् । यो देश नीति–नियम बनाउने र नीति पढ्नेहरू कसैले कार्यान्वयन नगर्ने देश हो । हामी नीति–नियम बनाउन र पढ्नमा धेरै समय दिन्छौँ । कार्यान्वयन गर्ने समयमा झन् बढी समय दिन्छौँ । त्यसैले हाम्रो देशलाई विकासोन्मुख देश भनिन्छ । त्यसकारण परिवर्तन रातारात हुँदैन । समय लाग्छ । तर, त्यसका लागि निरन्तर गति र प्रगतिको आवश्यकता पर्दछ ।
हरेक देशको शैक्षिक अवस्थाले त्यो देशको भविष्यको सफलतालाई प्रतिविम्बित गर्ने गर्दछ । त्यसर्थ कुनै पनि देशको शैक्षिक अवस्था राम्रो भएन भने उक्त देशको विकासको कल्पना पनि गर्न सकिँदैन । सही शिक्षाले नागरिकको चेतना स्तर वृद्धिमा भूमिका खेल्छ । र, तिनै नागरिकहरूको पहलमा देश विकास हुने हो । नेपालको यो सम्भाव्य परिर्वतनकोे क्षणमा हेर्ने हो भने, शैक्षिक अवस्था अत्यन्त नाजुक अवस्थामा छटपटाइरहेको छ । स्पष्ट शिक्षा नीतिको अभावले शैक्षिक अवस्था दिनानुदिन चिन्ताको विषय बन्दै गइरहेको छ ।
अहिलेको अवस्थामा नेपालको शैक्षिक क्षेत्रहरू राजनीतिक गर्ने थलोका रूपमा प्रयोग भइरहेका छन् । शैक्षिक संस्थाहरू बेरोजगारी युवा उत्पादन गर्ने कारखाना बनेका छन् । अनि विद्यार्थीहरू शैक्षिक संस्थामा गएर ज्ञान, सीप र धारणाको विकास गर्नुको साटो बन्द हडताल र विवेकविहीन राजनीति गर्न अग्रसर देखिन्छन् । यहाँ के भइरहेको छ भने ८–१० कक्षा पढेका व्यक्ति नेता बनिरहेका छन् र उनीहरूले नै कानुन, नीति–नियम बनाइरहेका छन् । यस्ता नेताहरू भ्रष्ट सोच र कुटिनीतिक दिमागका हुन्छन् । जसको परिणामस्वरूप देश दिशाविहीन बन्न पुग्छ । राजनीतिक अस्थिरता भइरहन्छ ।
यसले गर्दा पछिल्लो चरणमा आएर विद्यार्थीहरूमा चरम निराशा बढ्ने गरेको पाइन्छ । विद्यार्थीहरू हिंसात्मक क्रियाकलापमा संलग्न रहेका थुप्रै उदाहरणहरू हामी देख्न सक्छौँ । यति मात्र होइन मुलुकमा बेरोजगारी र गरिबीले युवा विकराल अवस्था सिर्जना भएपछि विद्यार्थी वर्ग अर्थात् युवा तथा किशोर किशोरीको ठुलो हिस्सा अहिले लागूपदार्थ दुव्र्यसनी र अपराधजन्य क्रियाकलापमा पनि सामेल भएको देखिन्छन् । वार्षिक तीन लाख ५० हजारभन्दा बढी युवाहरू शिक्षा आर्जन तथा अवसरको खोजीमा मुलुकका विभिन्न सहरहरूमा पस्ने र पर्याप्त अवसर र रोजीरोटीको अभावमा ठूलो जमात आपराधिक र हिंसात्मक क्रियाकलापमा संलग्न हुनुको साथै ती समस्याहरूबाट बच्न लागूपदार्थ दुव्र्यसनमा फस्नबाध्य भएका छन् ।
लामो राजनीतिक अस्थिरता र दबदबावटका कारण सहर आश्रित यो पुस्ता चरम निराशाको परिणाम कुलत, यौन व्यवसाय र दुव्यर्सनमा संलग्न हुनु आफ्नो वैकल्पिक रोजगारीको रूपमा लिन थालेको छ । यदि विद्यमान शैक्षिक विकृति अन्त्य गर्न सकेमा नेपालका विद्यालय र विश्वविद्यालयमा उत्पादित जनशक्ति विश्वका सबै देशमा खोजीको सूचिमा पर्न सक्छ । यसको लागि सबै राजनीतिक दल, राज्य र सचेत नागरिक समाजले शिक्षा र अधिकारको सम्बन्धलाई राम्ररी बुझन जरुरी रहेको देखिन्छ । यहाँको शिक्षाको अवस्था चित्रण गर्दा नेपाली विद्यार्थीले नेपालको शिक्षा आर्जन गरेर आफ्नो भविष्य सुनिश्चित देखेनन् । तथ्यांकअनुसार अहिले दैनिक ६ सय नेपाली युवाहरू रोजगारी र वैदेशिक शिक्षाका लागि विदेश पस्ने गरेका छन् । नेपाली विद्यार्थीका लागि विदेशी राष्ट्रहरू आकर्षणका केन्द्रबिन्दु बनेका छन् ।
विद्यार्थीका आकांक्षा, अपेक्षा र सपना असीमित हुन सक्छन् र तिनको परिपूर्ति क्षणिक रूपमा असम्भव हुनसक्छ । तर एउटा नागरिकलाई देशभित्र व्यवहारिक शिक्षा आर्जन गरी सुनिश्चित र सुरक्षित भविष्यको प्रत्याभूति दिलाउने पहिलो दायित्व राज्यको हो भने त्यसको सञ्चालक राजनैतिक नेतृत्वको हो । ‘नानीदेखि लागेको बानी’ भन्ने नेपाली उखान झैँ नेपालको शैक्षिक प्रणाली यही अवस्थामा रहे भोलिका दिनमा विद्यार्थीहरूको भविष्य अन्धकारतिर जाने देखिन्छ । तसर्थ अबको परिवर्तित समयमा मुलुकलाई पनि परिवर्तन गर्दै विद्यार्थीहरूको हितमा सोच्ने हो भने स्पष्ट कार्ययोजनासहित शिक्षा नीतिलाई समय सान्दर्भिक बनाउँदै व्यवहारिक शिक्षा प्रणालीलाई अवलम्बन गर्नू आजको मुख्य आवश्यकता बनेको छ । संसारका कुनै पनि अग्रगामी राष्ट्रहरू आफै सम्पन्न र समृद्ध भएका होइनन् । शैक्षिक क्षेत्रमा गरेको सफलताको प्रतिफल ती राष्ट्रहरूले समृद्धिको शिखर चुमेका उदाहरण हाम्रा सामु प्रशस्त छन् ।
-सन्तोष भण्डारी
प्रकाशित मितिः २१ असार २०८१, बिहीबार ०५:०४
सन्तोष भण्डारी ।