हिलाम्मे सडकले यात्रुलाई सास्ती
सुर्खेत: पश्चिम सुर्खेतका नागरिकले बर्सेनिरूपमा सडक सास्ती खेपिरहनुपरेको छ । पश्चिममा सडकको सहज पहुँच छैन । भएका सडक पनि जीर्ण छन् । वर्षातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको दुःख नागरिकले वर्षाैंदेखि झेल्दै आएका छन् । वर्षातको समयमा दैनिकजसो परेको पानीले सडक हिलाम्मे हुँदा नागरिकले सास्ती खेपिरहेका छन् । राजमार्गकै सडक निर्माणमा ढिलाइ हुँदा पश्चिमका नागरिकलाई सास्ती भएको हो ।
सडक हिलाम्मे भएकाले पश्चिमका नागरिकलाई वीरेन्द्रनगर आउजाउमा समस्या मात्र भएको छैन, हिलोमा फसेका गाडी धकेल्न यात्रुहरू बाध्य छन् । सडक हिलाम्मे र चिप्लो भएकाले सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । वर्षातको भेलले अधिकांश क्षेत्र हिलाम्मे भएको र वीरेन्द्रनगर आउजाउ गर्न धेरै कठिनाइ हुने गरेको चौकुने गाउँपालिका–६ का देवबहादुर थापाले बताए । हिलाम्मे भएकाले गाडी फस्ने गरेको र ६ घण्टाको दूरीमा रहेको वीरेन्द्रनगर पुग्न झन्डै नौ घन्टा समय लाग्ने गरेको उनले जनाए । वर्षातका कारण सडकको दूरावस्था भएपनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ ।
सडक हिलाम्मे भएका कारण सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्न कठिनाइ हुने गरेको चौकुने गाउँपालिका–७ का सागर मगरले बताए । हिँडेर जान नसकिने, दुईपांग्रे सवारीसाधनमा नचल्ने, चारपांग्रेमा पनि समस्या हुने र गन्तव्यसम्म पुग्न समस्या हुने गरेको उनको भनाइ छ । ‘सडक चिप्लो भएकाले दुर्घटना हुने जोखिम उत्तिकै छ । नियमित गाडी चल्न सकेका छैनन्’ मगरले भने, ‘बस्तीमा कोही बिरामी भएमा अहिले प्रदेश अस्पतालसम्म पु¥याउन कठिनाइ हुने गरेको छ ।’ सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आएपनि समस्या ज्यूँका त्यूँ रहेको उनले बताए ।
पुल चाँडै सम्पन्न गर्न ध्यानाकर्षण
भइरहेको सडक सास्तीबारे चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण गराएका छन् । पुल निर्माणमा ढिलाइ हुँदा आवतजावत गर्न सास्ती भएको र समयमै सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको गाउँपालिकाका अध्यक्ष विकले बताए । सडक तथा पुल निर्माणमा ढिलाइ हुँदा दैनिक आवतजावतमा समस्या भएको, पुल निर्माण नहुञ्जेलसम्म अन्य स्थानबाट सडक सञ्चालन गर्नुपर्ने र सडक निर्माणको कामलाई तीव्रता दिन आग्रह गरिएको अध्यक्ष विकले बताए ।
मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका प्रमुख नरेन्द्र भट्टले पुल निर्माणका क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार नै आवश्यक कामदार र इन्जिनियरको टोली खटाएर बाटो आवतजावतमा देखिएका समस्याको समाधान गरिने उनले जनाए । उनले पुन निर्माण नहुञ्जेल बैकल्पिक मार्गका रूपमा अन्य स्थानबाट सहज आवतजावतको व्यवस्था गरिने बताए ।
यसैगरी सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले नागरिकका समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिने जनाए । उनले सडकको सहज आवतजावतका लागि देखिएका ठाउँमा तत्काल समस्याको समाधान गर्नेगरी काम अघि बढाउनुपर्ने समेत जनाएका छन् । उनले भने, ‘देखिएका समस्याबारे समाधान खोजिने छ, त्यसका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिनेछ । समस्या समाधान हुन्छ ।’
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिमका तीन वटा पालिका जोड्ने सडक स्तरोन्नति हुँदैछ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्डमा काम भइरहेको छ । यो सडक हुँदै दैनिक ठूलो संख्यामा मालबाहक, यात्रुबाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन् । त्यही सडक बिचका खाल्डाखुल्डी र किनारमा थुपारीएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढाइरहेको छ । पुल र बाटो समयमा नबन्दा नागरिकलाई समस्या भइरहेको छ ।
पुल निर्माणमा ढिलाइ
उक्त सडकखण्डमा तीन वटा मोटरेवल पुल निर्माण हुनेछन् । अहिले एउटा पुल निर्माणको काम सकिएको छ भने दुई वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । एउटै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुल निर्माणको काममा ढिलाइ हुँदा वर्षातमा नागरिकले सास्ती खेप्नुपरिरहेको छ । तीन वटा वटा पुलको ठेक्का मृत सञ्जिवनी प्रदेज भक्तपुरले लिएको छ ।
डिजाइन एण्ड विल्ड ठेक्कामार्फत् तीन वटा पुल निर्माण हुनेछन् । २०७८ फागुन २ गते तीन वटै पुलको ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८१ मंसिर ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । एउटा पुल निर्माण समयमै सम्पन्न भएको भएपनि अन्य दुई वटा पुल निर्माणको काममा ढिलाइ भइरहेको मदन भण्डारी राजमार्ग कार्यालयका इन्जिनियर रेशम ओलीले बताए । उनका अनुसार गुटु खोला, ब्यूरेनी र विद्यापुर खोलामा तीन वटा पुल निर्माण हुनेछन् । विद्यापुर खोलामा पुल निर्माण सम्पन्न भएर गाडी चलिसकेका छन् भने गुटु खोला पुल निर्माणको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस्तै, ब्यूरेनी खोलाको ६५ प्रतिशत काम सकिएको इन्जिनियर ओलीले जनाए । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भइरहेको छ ।
साझा बिसौनी ।