‘पढाइ कुना’ले विद्यार्थीको सिकाइमा सुधार

जुम्ला: जुम्लाको कनकासुन्दरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयको सिकाइस्तरमा परिवर्तन देखिन थालेको छ । विद्यालयका कक्षा कोठा छापामय बनाइएको छ भने घरमा पढाइ कुना तयार गरिएको छ । आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालले घरमा पढाइ कुना र कक्षाकोठा छापामय बनाएपछि विद्यार्थीको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको कनकासुन्दरी–८ समल गाउँकी सुना परियारले बताइन् । उनी अहिले घरमै छोरा पढाउन व्यस्त छिन् । छोरालाई घरभित्रै पढाइकुना बनाइदिएकी छिन् । जहाँ शैक्षिक सामाग्रीहरू राखिएको छ । ‘शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा बनाइएको छ । छोरा घरभित्र प्रवेश गर्ने बित्तिकै पढाइ सुरु गर्ने माहोल छ । कापी, कलम र पोशाक पढाइकुना भएकै कोठामा राख्ने व्यवस्था समेत छ’ उनले भनिन् ।

कनकासुन्दरीमा पढाइ कुना मात्रै होइन, विद्यालयका कक्षा कोठा छापामय बनाइएको छ । इसिडि कक्षा कोठामा विभिन्न चित्रदेखि पठनपाठनका अक्षर छापिएको छ । कक्षा कोठा छापामय हुनुका साथै विद्यालयमा बालमैत्रीपुर्ण शैक्षिक सामग्री उपलब्ध भएपछि सिकाइस्तरमा परिवर्तन देखिएको कोइली चरी माध्यमिक विद्यालयकी शिक्षिका बसन्ती बुढाले बताइन् । पहिले विद्यालय जान आनाकानी गर्ने नानीबाबु अहिले हाँसिखुसिका साथ पढ्न आउने गरेको उनले बताइन् । इसिडिका बालबालिकाहरूलाई अध्यापन गराउँदा बालबालिकाले पनि पट्यार नमानी सिक्ने गरेको उनको भनाइ छ । ‘कोइलीचरी यो क्षेत्रकै सबैभन्दा ठूलो विद्यालय हो तर पनि साना नानीबाबु विद्यालय आउनै नमान्ने समस्या थियो, कक्षामा भित्ते लेखनका साथै खेल सामग्रीको व्यवस्थापन भएपछि विद्यार्थी बढेका छन्’ उनले भनिन् ।

क्याड नेपालले सिंजा क्षेत्रका तीन वटा स्थानीय तहसँगको सहकार्यमा शिक्षामा सकारात्मक परिवर्तन ल्याउन काम गर्दै आएको परियोजना अधिकृत प्रेम सिंहले बताए । चालु शैक्षिक सत्रमा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा शतप्रतिशत बालबालिका विद्यालय भर्ना गर्न सफल भएको उनले बताए । घरघरका पुगेर बालबालिकाको सर्वेक्षण गर्दा चार जना बालबालिका विद्यालय बाहिर रहेको पाइएपछि उनीहरूलाई पनि विद्यालय भर्ना गरिएको उनले जनाए ।

प्रकाशित मितिः   ५ असार २०८१, मंगलवार १०:१६